भारत भ्रमण सफल र फलदायी भयो : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारत भ्रमण सफल र फलदायी भएको बताएका छन् ।

बिहीवार भारतको पाँच दिने औपचारिक भ्रमण सकेर फर्किएलगत्तै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री राणाले भारतमा रहँदा प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको बताए ।

Advertisement

प्रधानमन्त्री मोदीसँगको भेटवार्ता उपलब्धिमुलक रहेको उनको दावी थियो । उनले पाँच दिने भारत भ्रमणले नेपाल र भारतबीचको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेख्य भूमिका निभाउने विश्वास व्यक्त गरे ।

उनले भ्रमणले दुई मुलुकबीचको मैत्रीपूर्ण सहयोगात्मक बहुआयामिक र घनिष्ठ सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याएको दावी गरे ।

Advertisement

उनले भ्रमणले आगामी दिनमा उच्च तहमा सम्पर्क बिस्तार गर्न तथा दुईपक्ष संयन्त्रहरु र आपसी हितका लागि सहयोग सहकार्य प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए ।

उनले भ्रमणका क्रममा भारत सरकारले नेपाललाई उच्च सम्मान गर्ने गरेको आभाष भएको बताए । उनले भारतका प्रधानमन्त्री मोदीसँगको वार्तामा पारवहन, ऊर्जा, प्रविधि, लगानी, हवाई मार्ग, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्य आयोजना, खेलकुद र सीमा पूर्वाधारका विषयमा कार्यान्वयन गर्दै लैजाने समझदारी भएको बताए ।

Advertisement