-झलक दवाडी

धनगढी,२२ जेठ । सारथी अस्पताल धनगढीमा स्थापना कालदेखि कार्यरत स्वास्थ्यकर्मि (एचए) बीना बुढाले अस्पतालमा सेवा दिन लागेको दुई वर्ष छ महिना पूरा भएको छ ।शरीरमा पीपीई, हातमा पञ्जा, अनुहारमा फेससिल्ड, मुखमा दुईवटा मास्कसहित मन्द मुस्कानसँगै बीना कोरोना बिरामीको हेरचाहमा दिनरात नभनी खटिन्छिन् ।

नेपालमा कोरोना भित्रिएसँगै उनी पनि सर्तक रहँदै आएकी छन् । धनगढीमा पनि कोरोनाको बिरामी बढेपछि उनलाई थप ड्युटीमा खटिनु पर्यो  । दोस्रो कोरोनाको समयमा सेवा दिँदा उनी पनि आफै संक्रमित भएकी थिइन्।धनगढीमा कोरोना संक्रमितको सम्पर्कमा रहनाले नै बीनाको रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई त्यो समय धेरै डर लागेको थियो । त्यो समय संक्रमितको संख्या बढ्दो क्रममा भए पनि उनी घरकै आइसोलेशनमा बसेर निको भएकी थिइन् ।

त्यसपछि धनगढीमा कोरोनाको बिरामी संख्या झनै बढ्न थाल्यो । अहिले उनी तलदेखि माथिसम्म पूरै पीपीईले ढाकिएको र मुखमा दुईवटा मास्क, हातमा पञ्जा लगाउने गर्छिन् । उनले स्वास्थ्य मापदण्ड अपनाउन कुनै कसर बाँकी राखेकी छैनन् ।

कोभिडबाट बच्न खोप लगाउने समयमा उनि बिरामी भएकाले खोप लगाउन नपाएपनि उनलाई पहिले जस्तो अहिले कोरोनादेखि डर लाग्दैन ।

‘तर दोस्रो लहर शुरु भएपछि बिरामी भएर आउनेहरु निकै जटिल अवस्थामा आउने गरेको पाएकी छु । उहाँहरु निकै गाह्रो भएपछि अस्पताल आउनुभएको जस्तो अनुभव गरेकी छु । बिरामी मात्र होइन बिरामीका परिवारजन पनि निकै डराएको मनस्थितिमा अस्पताल लिएर आउनुहुन्छ ।

हामी त्यस्ता बिरामीको सेवामा, जीवन रक्षाका लागि आफ्ने बुद्धि, ज्ञान, सीप र उपकरणले भ्याएसम्म भोक, प्यास र निद्रा नभनी लागिरहन्छौं । त्यसमाथि बिरामीका आफन्तले हामीलाई ‘तपाईंहरु नै भगवान हो, जे सक्नुहुन्छ तपाईंहरुबाटै सम्भव छ’ भनेर निकै आशा र भरोसाको भारी बोकाउनुहुन्छ ।’ उनले भनिन् ।गर्मीको समयमा पीपीईसाथै फेससिल्ड लगाएर काम गर्न उनीहरुलाई  साह्रै समस्या हुन्छ ।

निर्मला विष्ट पनि सारथी अस्पताल धनगढीमा नै बिरामीहरुको उपचारमा लागिपरेकी छन् । महेन्द्रनगरमा घर रहेकी निर्मला पनि दिनमा १२ घण्टा नै सेवामा खटिन्छन् । निर्मलालाई पनि कोरोना पोजिटिभ भएको थियो ।

‘कोरोनाको बिरामीहरूको उपचार गर्दागर्दै मृत्यु हुँदा आफन्तहरुलाई त तनाव हुने नै भयो, हामी पनि कम तनावमा हुँदैनौं ।

निको बनाएर कति चाँडो घर पठाउँ भनेर सेवा गरेको बिरामी कहिल्यै घर नफर्कने गरी निदाइदिंदा निकै नमिठो लाग्छ, मन पोल्छ, आफन्तलाई के भनिदिनुजस्तो हुन्छ । हामीलाई पनि निक्कै गाह्रो हुन्छ ।केहीबेर अघि सम्म  बोलिरहेको, केही सोधिरहेको, केही भनिरहेको बिरामी पनि केही छिनमै मौन भइदिंदा निकै मन कुँडिन्छ । अन्तरहृदयदेखि नै रुन मन लागेर आउँछ । पेशा नै यस्तो, रोएर नहुने !

कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहरमा धेरै बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेहरुको अवस्था सम्झेर सिरियस भएर आउने नयाँ बिरामी देख्दा पनि निकै डर र चुनौती महसूस हुन्छ–कतै बचाउन नसकिने हो कि ? भनेर ।’ भावुक हुदै निर्मलाले भनिन् ।

‘ छोराछोरीको माया घरपरिवारलाई अलि बढी नै हुने रहेछ , घर आइज ज्यान भन्दा ठुलो पैसा होइन भनेर घरकाले बोलाउदा हो म त्यही ज्यान जोगाउने काममा छु भनेर टार्ने गर्थे ।अरुबेला ‘जव’ पाइएन भन्दै भौतारिने तर यस्तो महामारीको बेला डरले घरमै बस्न मेरो नैतिकताले दिएन । घर-परिवारलाई सम्झाउदै काम गरियो , अझ  महिनावारीको समयमा ड्युटी गर्न झन् कति समस्या हुन्थ्यो।बिरामीको आखाको आसुले हाम्रो शरीरको पिडा भुलाईदिन्थ्यो ।’ रसाएको आखा थाहा नपाउने गरि पुछ्दै उनले व्याथा पोखिन्  ‘।

यो महामारीको समयमा घरपरिवारसँगै सबैको साथ सहयोग आवश्यक रहने उनले बताइन् ।कोरोना विश्वमा नै फैलिरहेको अवस्था छ यो बेला हामीलाई झन् धेरै समस्या रहेको छ । तर केही बिरामीलाई अन्यथा हुदा हामीलाई दोष दिनु र हातपात गर्न खोज्नु गलत हो । हामीले हाम्रो तर्फबाट सक्दो साथ सहयोग गरिरहेका छौं ।’

कुराकानीकै क्रममा बीनाले थपिन्, ‘ बिरामीहरुलाई गाह्रो हुँदा धेरै स्याहार गर्न मन लाग्छ । हाम्रो लागि अस्पतालमा एक बिरामी गयो भन्ने होला तर उहाँहरुको परिवारलाई त सबै भन्दा धेरै पीडा खप्नुपर्छ नि त्यसैले पनि धेरै सहयोग गर्न मन लाग्छ ।आफ्नै घरको परिवार जस्तो लाग्छ ।सिरियस भएर बेडमा लडिरहेको बिरामीलाई हेरेर मुसुक्क हास्न हामि बाध्य छौ, हामीलाई थाह छ भित्र जति पिडा भए पनि बिरामीलाई हेरेर दिएको हासोले मिरामिको आधा रोग सन्चो हुन्छ    ।’

‘पीपीई भनेकै के हो भन्नेसम्म जानकारी थिएन । पछि पीपीई लगाएर लामो समय कसरी काम गर्ने होला ? खाना नखाई, ट्वाइलेट नगई कसरी बिरामीको उपचारमा खटिने होला ? भन्ने चिन्ता थियो । तर अहिले त्यही कुरा सजिलै गर्न सकिने बानी परिसकेको छ ।सिक्ने कुरा गरिरहदा म एसएलसी दिएर नर्सिङ्ग ईन्ट्रान्स दिन जादाको कुरा र अहिले काम गरिरहेको अवस्था हेर्दा कति खुसि हुन्छु मसंग कुनै शब्द नै छैन त्यो भाव पोख्नलाई।घरका कसैलाई बिश्वास थिएन, मैले नर्सिंग पढ्न सक्छु भनेर ।पानि परिरहेको थियो, ईन्ट्रान्स दिन जान तयार भए बाहिर निस्किय साईकलको हावा थिएन ।हावा नभएको साइकल लिएर जानु थियो ईन्ट्रान्स दिन र गए पनि ।४० जनाको कोटामा १८ नम्मरमा नाम निकाले आँखावाट खुसीको आँसु बग्यो किनकि मैले घर-परिवारको बिश्वास जितेको थिए।नाम निकालेर मात्र नहुने भर्ना गर्नको लागि पैसा थिएन ।भर्ना गरिसक्नुपर्ने अन्तिम दिन थियो, वावा र म कलेज गयौं केहि दिनको भाका माग्यौं तर ….. ।छर-छिमेक आफन्त सबैको सहयोग माग्यौं ।म नर्सिंङ्ग पढ्न पाए ।  मलाई नर्स बनाउनुमा सबैको हात छ ।’ आँसु पुछ्दै निर्मलाले केहीबेरको बिश्रामपछि फेरी थपिन् , ‘ कोरोना बिरामीको लागि हामी जुटिरहेको र नर्सको लागि पनि अस्पताले प्रोत्साहन दिएकोले अलि काम गर्न सहज भएको छ ।’

१२ घण्टा काम गर्ने नर्सहरुको लागि अस्पतालमा नै खाना नास्ताको व्यवस्था गरेकोले उनीहरुलाई सहज भएको छ ।धनगढीको गर्मीमा पीपीईसहित थप सेतो पहिरनले उनीहरुलाई उकुसमुकुस बनाएको छ । गर्मी, पसिना, भोक र प्यासको कुनै परवाह नगरी निरन्तर बिरामीको सेवामा खटिरहनु उनीहरुको दैनिकी बन्ने गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय