धनगढी, ८ साउन । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गुरही पर्व भव्यताका साथ मनाइने भएको छ । थारु समुदायले मनाउने गुरही पर्व साउन २९ गते धनगढीमा भव्यताका साथ मनाउने भएका हुन् ।

थारु समुदायको चाडको शुरुवातको रुपमा लिइने गुरही पर्व साउन २९ गते धनगढीको गुरही चौकमा सामूहिक रुपमा मनाइने सखी सञ्जाल कैलालीले जनाएको छ ।

थारु समुदायले आफ्नो हक, अधिकार तथा पहिचानको रुपमा मनाउँदै आएको गुरही पर्वलाई यस वर्ष पनि सो पर्वको संरक्षण सम्बर्द्धनसहित मनाउन लागिएको सखी सञ्जालले जानकारी दिएको छ ।

धनगढीलगायत आसपासका क्षेत्रमा ‘गुरही’ पर्व सामाजिक दुरी कायम गरी मनाइने बताइएको छ । कोभिड–१९ को संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरेर, भीडभाड नगरी आ–आफ्नो गाउँघर, टोल समुदायमा ‘आफू बचौँं र अरुलाई पनि बचाउँ, सुरक्षित र स्वस्थ रहौँ’ भन्ने भावसहित सुरक्षित गुरही पर्व मनाउन लागिएको थारु समुदायका अगुवा जीतबहादुर चौधरीले बताए ।

थारु समुदायको चाडको शुरुवातको रुपमा लिइने गुरही पर्व यस वर्ष जनचेतना फैल्याउने गरी मनाइने उनले बताए । उनले भने— नागपञ्चमीकै दिन यो पर्व मनाइने भएकोले देशैभरका थारु समुदायले धुमधामका साथ मनाउने गर्दछन् ।

थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पूजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास रहि आएको छ ।

नागबाबालाई घरको द्वारमा टाँसेर पूजा गर्नुको आशय दुःख, कष्ट र रोगव्याधीलाई नागबाबाले घरमा प्रवेशबाट रोकून् भन्ने हो । उनले भने— यसलाई नागपञ्चमीको रुपमा पनि मनाइन्छ । थारु समाजमा ‘गुरही, गुर्या’ भनेर मनाइने यस पर्वलाई नेपाली समाजले नागपञ्चमी भनेर मनाउँछ ।

नागपञ्चमीमा विशेषगरी नेपालीहरु नागबाबाको पूजा–आजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुन्छ । थारु समाजमा पनि ठाउँअनुसार ‘गुरही’ पर्व फरक फरक ढंगले मनाइन्छ । यस पर्वमा गाउँका युवती गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही (गाइने कीराको प्रतीक) असराउने (सेलाउने) चलन रहि आएको छ । यो पर्वलाई बालबालिकासँग सम्बन्धित पर्वका रूपमा पनि लिने गरिएको छ ।

गुरही सेलाउँदा साना बालबालिकामा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने जनविश्वास रहेको थारु अगुवाहरु बताउँछन । यसका साथै थारू अगुवाका अनुसार सामाजिक सद्भाव, आपसी मित्रता बढाउनाका लागि गाउँमा भएको दुःख, संकटलगायत अन्य विपत्ति भाग्ने गरेको जनविश्वास रहि आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय