शम्भु श्रेष्ठ

नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा नेकपा एमाले अहिले जति कमजोर कहिले थिएन । एमालेकै बलमा २०४६ सालको संयुक्त जनआन्दोलन सफल भयो ।

जसको नेतृत्व वाममोर्चाकी अध्यक्ष सहाना प्रधानले गर्नुभएको थियो । २०६२र६३ सालको जनआन्दोलन पनि एमालेको सहभागितामा सम्पन्न भयो । जसको नेतृत्व एमाले महासचिव माधवकुमार नेपालले गर्नुभएको थियो । पुष्पलालले २००६ सालमा पार्टी स्थापना गरेपछि २००७ सालको क्रान्तिदेखि २०६२र६३ सालको जनआन्दोलनले देशको राजनीतिमा जे जति परिवर्तन ल्यायो, त्यसको हकदार एमाले नै थियो ।

फलस्वरुप २०५२ सालमा नेपालकै इतिहासमा पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी बन्नुभयो । त्यसपछि माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली पनि एमालेकै बलमा प्रधानमन्त्री बन्नुभयो । नेकपा एमाले भनेको देशभक्त प्रगतिशील जनताको पार्टी हो भन्ने पहिचान बन्यो ।

एमाले नै अनुशासित, संगठित र इमान्दार कार्यकर्ताहरुको पार्टी भनेर जनताले पत्यायो । अहिले पनि गाउँ गाउँमा एमालेका इमान्दार, जुझारु कार्यकर्ताहरु छन् । जसको जगमा एमालेले दुईतिहाइ मत ल्याउन सफल भयो र ओली दोस्रोपटक नेपालकै राजनीतिक इतिहासमा बलियो प्रधानमन्त्री बन्नुभयो ।

तर, त्यो जग आज भत्किएको छ । जग भत्किएकै कारण प्रधानमन्त्रीको कुर्चीबाट एमाले अध्यक्ष ओली सडकमा पुग्नुभएको छ । नेपाली जनताको ७० वर्षदेखिको योगदान र बलिदानबाट स्थापित कम्युनिष्ट पार्टी एक सेकेण्डमै भताभुंग भएको छ । दुईतिहाइ माथि जनताले गरेको आशा र भरोसा निराशामा परिणत भएको छ । तर पनि एमाले अध्यक्ष ओली भन्दैछन्– ‘अलिकति पार्टी चोइटियो, माधवकुमार नेपालले सानो चोइटो लिएर जानुभयो । उहाँको साथमा थोरै मान्छे छन् । यसले पार्टी कमजोर भयो कि भनेर चिन्ता लिनुपर्दैन । मेचीदेखि महाकालीसम्म एमाले बलियो छ ।’

माओवादीसँगको एकता भंग भएर एमालेलाई केही फरक परेको थिएन । तर, एमाले नै टुक्रिएपछि कम्युनिष्ट आन्दोलनको जग कमजोर भएको छ । त्यो चिन्ता नभएको भए माधव नेपालले यो उमेरमा आएर नयाँ पार्टी खोल्ने थिएनन् । त्यो चिन्ता भएको भए ओलीले पुस ५ गते आफ्नै पार्टीको दुईतिहाइ मतसहितको सार्वभौम संसद् भंग गर्ने थिएनन् ।

दुईतिहाइको सत्ताबाट एकतिहाइको प्रतिपक्षमा पुग्दासमेत एमाले अध्यक्ष ओलीमा कम्युनिष्ट पार्टीको भविष्यप्रति कुनै चिन्ता छैन । ओलीका यी अभिव्यक्तिहरु सुन्दा पार्टी फुटेकोमा उहाँ जति खुशी हुनुहुन्छ, सायदै अरु खुशी भएका होलान् । सत्ताबाट सडकमा पुगिसक्दा पनि उहाँले मेची–महाकालीसम्मै एमाले झनै बलियो देख्नुभएको छ । पार्टी कति बलियो छ भन्ने कुरा त जनताले फैसला गर्ने कुरा हो ।

जहाँसम्म कम्युनिष्ट आन्दोलनप्रति चिन्ता लिने कुरा छ, त्यसलाई विश्लेषण गर्ने हो भने अब एमाले पार्टीको भविष्य समाप्त हुँदै जानेछ । एमाले अध्यक्ष ओलीको दम्भ र अहंकार पनि आउँदो प्रतिनिधिसभाको चुनावसम्म मात्र हो । त्यसपछि उहाँको पनि हैसियत समाप्त हुनेछ ।

यो चिन्ताको विषय होइन, चिन्ताको विषय त उहाँको भविष्यसँगसँगै सिंगो एमालेको भविष्य समाप्तिको हो । जसलाई जोगाउन माधवकुमार नेपालका दश भाइ भत्किएको घरमा ओत लाग्न पुग्नुभएको छ, तिनको भविष्य पनि ओलीकै कारण समाप्त हुँदैछ ।

एमालेमा जन्मिएर, हुर्किएर यहाँसम्म आइपुगेका दश भाइ वास्तवमै एमालेका दोस्रो पुस्ताका लोभलाग्दा जुझारु नेता थिए । एमाले नफुटेको भए यी दश भाइको भविष्य पार्टी नेतृत्वमा स्थापित हुने थियो । किनभने, एमालेमा ओली, माधवपछिको भूमिकामा यी दश स्थापित हुने थिए । दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुने थियो ।

अब उता ओली अध्यक्ष यता नेपाल अध्यक्ष भएपछि दश भाइको हालत ‘वल्ला घरको नरे पल्ला घरमा सरे’भनेजस्तै भएको छ । एमालेको दोस्रो पुस्ता भनिएका दश भाइको राजनीतिक भविष्य समाप्त हुनु भनेको कम्युनिष्ट आन्दोलनका लागि पनि ठूलो क्षति हो । माओवादीसँगको एकता भंग भएर एमालेलाई केही फरक परेको थिएन ।

तर, एमाले नै टुक्रिएपछि कम्युनिष्ट आन्दोलनको जग कमजोर भएको छ । त्यो चिन्ता नभएको भए माधव नेपालले यो उमेरमा आएर नयाँ पार्टी खोल्ने थिएनन् । त्यो चिन्ता भएको भए ओलीले पुस ५ गते आफ्नै पार्टीको दुईतिहाइ मतसहितको सार्वभौम संसद् भंग गर्ने थिएनन् । केपी र माधवबीचको भिन्नता यसैभित्र खोज्नुपर्छ । अनि मात्र को ठिक, को बेठिक भन्ने निष्कर्ष निकाल्न सकिन्छ । साभार दृष्टि न्यूजबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय