राष्ट्रियता र सुशासन कुनै पनि देशका लागि अत्यन्तै संवेदनशील र महत्वपूर्ण विषय हुन् । तर, यिनै पवित्र मूल्यलाई नारा बनाएर सत्तामा पुग्ने भ¥याङको रूपमा प्रयोग गर्ने प्रवृत्ति नेपाली राजनीतिमा नयाँ होइन । पद, प्रतिष्ठा र शक्तिको लोभमा राष्ट्रियता र सुशासनको आवरण ओढ्नेहरूप्रति नेपाली जनता समयमै सजग हुनु आजको आवश्यकता बनेको छ ।
“हामी प्रायः घरको ढोका बलियो नबनाई चोरलाई दोष दिने बानीमा सीमित छौं । देशको चिन्ता गर्नेहरू थोरै छन्, हल्लाको पछि लाग्नेहरूको संख्या धेरै छ । सत्य–तथ्य के हो, कारण के हो, सही र गलत के हो भनेर सोच्ने, विश्लेषण गर्ने र आफ्नै धारणा बनाउने संस्कार कमजोर बन्दै गएको छ, जुन अत्यन्तै खतरनाक संकेत हो ।”
Advertisement
विश्व राजनीतिमा महाशक्ति राष्ट्रहरूबीच चलिरहेको शक्ति संघर्षको प्रभाव साना र कमजोर मुलुकहरूमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पर्नु स्वाभाविक हो । यस्ता परिस्थितिमा देशभित्र लोकप्रियता कमाउने, भावनात्मक नारा उछाल्ने र आफूलाई ‘राष्ट्ररक्षक’ को रूपमा प्रस्तुत गर्ने पात्रहरू अघि सारिन्छन् । चीलले कुखुरा लग्यो भनेर हल्ला गर्दै आफू चल्ला च्यापेर भाग्ने छट्टु स्यालको कथाजस्तै, राष्ट्रियता र सुशासनको नारा लगाएर सत्तामा पुग्ने र पुगेपछि आफ्नै स्वार्थ समूहका लागि काम गर्ने प्रवृत्ति बारम्बार दोहोरिँदै आएको छ ।
“देशमा भ्रष्टाचार बढ्यो, वैदेशिक हस्तक्षेप भयो, सुशासन कायम भएन, इमानदारी र पारदर्शिता चाहियो” जस्ता आकर्षक नारा लगाएर जनतालाई भ्रमित पार्ने, सत्ता हात पार्ने र अन्ततः आफ्नै स्वार्थ पूरा गर्ने नेतृत्वप्रति आँखा चिम्लेर विश्वास गर्नु जनताकै कमजोरी पनि हो । समयमै मानिसलाई चिन्न नसक्नु ठूलो भूल सावित हुन सक्छ ।
Advertisement
मनोरञ्जनको क्षेत्रमा सेलिब्रेटीको भूमिका हुन सक्छ, तर राजनीति गम्भीर जिम्मेवारीको क्षेत्र हो । यहाँ लोकप्रियता मात्र पर्याप्त हुँदैन; दृष्टि, निष्ठा र राष्ट्रिय हितप्रतिको प्रतिबद्धता आवश्यक हुन्छ । युक्रेनका राष्ट्रपति जेलेन्स्की वा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानजस्ता उदाहरणले देखाउँछन्— अत्यधिक लोकप्रिय बनाइएका पात्रहरू बाह्य शक्ति केन्द्रको प्रभावमा परेर देशलाई जटिल अवस्थामा पु¥याउन सक्छन् । आज नेपालमा यस्तो अवस्था नआउला भन्न सकिँदैन ।
इतिहास पल्टाएर हेर्दा पनि बाह्य शक्तिको सहयोग, रणनीति र हस्तक्षेप बिना सत्ता परिवर्तन भएका उदाहरण विरलै भेटिन्छन् । जंगबहादुर राणाको कोत पर्व केवल आन्तरिक शक्ति संघर्ष मात्र थिएन; त्यसमा इस्ट इन्डिया कम्पनीको समर्थन र योजना पनि जोडिएको थियो । हत्याहिंसाको माध्यमबाट सत्ता कब्जा गरिएको त्यस घटनाले नेपाललाई लामो समयसम्म अस्थिरताको भुमरीमा फसायो । भिमसेन थापाजस्ता देशभक्त व्यक्तिहरू या त सत्तामा पुग्नै पाएनन्, या पुगेपछि काम गर्न दिइएन । यी सबै सामान्य संयोग थिएनन्, बरु योजनाबद्ध राजनीतिक चालहरू थिए ।
Advertisement
नेपाली राजनीतिमा कहिले लेन्डुप दोर्जे, कहिले हिटलर, कहिले जंगबहादुर, त कहिले लुसिफरसम्मको चर्चा हुनु संयोग मात्र होइन । समय–समयमा यस्ता प्रवृत्ति दोहोरिइरहेका छन् । तर हामी प्रायः “घरको ढोका बलियो नबनाई चोरलाई दोष दिने” बानीमा सीमित छौं । देशको चिन्ता गर्नेहरू थोरै छन्, हल्लाको पछि लाग्नेहरूको संख्या धेरै छ । सत्य–तथ्य के हो, कारण के हो, सही र गलत के हो भनेर सोच्ने, विश्लेषण गर्ने र आफ्नै धारणा बनाउने संस्कार कमजोर बन्दै गएको छ, जुन अत्यन्तै खतरनाक संकेत हो ।
यद्यपि अझै सबै बिग्रिएको छैन । जनताको तागतभन्दा ठूलो शक्ति कुनै छैन । राष्ट्रिय एकताको खाँचो छ, सुझबुझसहित देशभक्तिको भावना अभिवृद्धि गर्न आवश्यक छ । सही के हो, गलत के हो; ठीक को हो, बेठीक को हो—समयमै बुझ्न, चिन्न र त्यसअनुसार व्यवहार गर्न सक्यौं भने मात्र राष्ट्रियता र सुशासनको नाममा हाबी हुँदै गएको लोकप्रियतावादबाट देशलाई जोगाउन सकिन्छ । नत्र भने यस्ता आवरणभित्र लुकेका स्वार्थी प्रवृत्तिहरू हाम्रो जस्तो देशका लागि दीर्घकालीन रूपमा अत्यन्तै खतरापूर्ण साबित हुन सक्छन् ।
No popular posts found.















प्रतिक्रिया