दोस्रो बिहे !

Maulik Khabar 1+ समाचार ( )
खडक पामीआले मगर
१७ माघ २०७८, सोमबार
'…पत्रपत्रिकामा व्यापक हल्ला भयो । रेडियो, एफ्. एम्.का लागि गहकिलो विषय बन्यो । सानो उमेरमा कमाएको उसको प्रतिष्ठा खाक भयो, अड्कल काटे विज्ञहरूले । नपुगेको के थियो र ? आइमाईको बुद्धि घिच्रोमा हुन्छ भनेको यही हो, एक थरीको भनाइ । श्रीमानको प्रतिक्रिया- 'म यस विषयमा बोल्न चाहन्नँ, आइमाईको चरित्र बुझिनसक्नु हुँदो रहेछ । जानुभन्दा एक मिनेट अघिसम्म मलाई भान भएन, उस्तै व्यवहार गर्थी, उस्तै स्याहारसम्भार। कुकुरलाई घिउ पच्दैन भनेको यही हो ।

' पत्रकार, रेडियोकर्मी उसको डेरामा पुगे । कहाँको त्यो वैभवशाली घर बङ्गला ? कहाँको दुई कोठे डेरा । पहिला उनको घरमा जाँदा गेटमा पालेको रखवाली, पालेसँगको अन्तर्वार्ता पूरा भएपछि मात्र पाइन्थ्यो भित्र पस्न । अहिले सरासरी पुगिन्छ कोठामा । धेरै ढिपी गरेपछि खुल्न तयार भइन्, हाम्रो सामु ।
प्रश्न- श्रीमान्ले कुटपिट गर्थे ?
- कहिल्यै कुटेनन् । झूट बोले पाप लाग्छ ।
प्रश्न- खान, लाउन कुनै कमी थियो कि ?
- त्यो हुने कुरै भएन, नोकरचाकरलाई पनि त्यो समस्या छैन भने म त श्रीमती ।
- अनि किन त ? प्रश्नको सङ्केत दोस्रो बिहेतर्फ ।
केही क्षणपछिको जबाफ- सोच्छन्, हो म बहुलाएँ, या त सोच्छन् म चरित्रहीन भएँ ।
- प्रेमविवाह हो क्यारे ?
- होइन, बिहेपछि भने मैले प्रेम गर्न खोजेँ ।
- यहाँको जस्तो जीवन पाए भनेर टाउको पिट्ने कति छन् । बङ्गला, गाडी, नोकरचाकर, धनदौलत के कमी थियो र फेरि ?
- बङ्गला, गाडी, तब के नै चाहिन्छ एक जीवन काट्न होइन ? केहीबेर सोचमा डुबिन् उनी ।
- संसारको सबैभन्दा अभागी आइमाई छु भन्ने लाथ्यो मलाई ।
- श्रीमान्बाट कुट्ने-पिट्ने थिएन, धनदौलत, ऐस-आराम सबै थियो अनि फेरि ? कसरी अभागी ?
- त्यति हो जिन्दगी ? त्यसभन्दा बाहेक पनि त केही छैन, अलि भित्र पस्नुस् न जीवनभित्र ।
एकमुष्ट जबाफको खोजी भयो हामीबाट ।
- यहाँहरूको जोडी पनि असाध्य मिल्याथ्यो ! र यहाँ जति सुन्दर हुनुहुन्छ उहाँ पनि त्यति नै राम्रो होईन र ?
- मलाई ज्यादै सुन्दरी ठान्नुहुन्छ यहाँहरूले ? तर उहाँको आँखाले कहिल्यै नियालेन मलाई ।
- चट्ट परेर बसेकी हुन्थेँ उहाँ बाहिरबाट आउनुहुन्थ्यो । हाम्रा आँखा चार हुन पाएनन् । तलदेखि माथि कहिले हेरेको थाहा भएन । उहाँको आँखा भएर हेरिन पाइनँ । तारिफका शब्द सुन्न कान लालायित भएर पनि थाके । आँखाले अन्तै केही खोजेजस्तो । अनि त राम्री हुने जाँगर कहाँ रहन्छ आइमाईमा ?
थपिँदै गयो घटना-विवरण
- उहाँलाई मन पर्ने खाना बनाउन, कहिले आˆनै हातले बनाएर पर्खिबस्थेँ- स्वाद मानेर कहिल्यै खानुभएन अनि भान्छामा पस्ने जाँगर कहाँ ? आऊ सँगै खाऊँ कहिल्यै भन्नुभएन । अनि भोक कहाँ ?
- सँगै बसेर टेलिभिजन कहिल्यै हेरिएन । म पुगेपछि उहाँको सुत्ने बेला ।
म ओछ्यानमा पुग्दा भित्तातिर फर्केर निदाइसक्नुभएको हुन्थ्यो । साहस बटुलेर केही पटक उठाएँ पनि । “डिस्टर्ब नगर न प्लिज” भन्नुभयो, मतिर कोल्टे र्फकनुभएन । थाहा हुन्थेन निन्द्रामा बोलेको हो कि बिपनामा ।
- साथीहरू भेला हुँदा अनौठो अनुभव सुनाउँथे, नीला डाम देखाउँथे । म लाटीझैँ सुनिरहन्थेँ- यस्तो पनि हुन्छ र ?
- बिहान पूजासकेर ओछ्यानमा चिया लिएर जान्थेँ र साथीहरूको कुरा सम्झँदै । मन कल्पिन्थ्यो केके हो केके ? म चिया लिएर उभिनै रहेकी हुन्थेँ उहाँ बाथरुमभित्र छिर्नुहुन्थ्यो । चियासँगै म चिसिन्थेँ । यही प्रक्रिया चलिरहृयो । पछि चिया लान छाडिदिएँ ।
- बिहानको खाना प्रायः उहाँको बाहिर नै हुन्थ्यो । घरमा खाने अवसर पाउँदा म बोलिरहन्थेँ एकोहोरो । उहाँ टाउको मात्र हल्लाउनुहुन्थ्यो कुनैकुनै बेला । म पनि कम बोल्न लागेँ ।
- उहाँको अफिस जाने तयारी चल्दा कोठामै अलमल गरेर बस्थेँ । सरक्क निस्कनुहुन्थ्यो । थाहा भएन अँगालोमा बाँधिनु के हो ? लाग्थ्यो सँगीहरूले झूटो बोलेका हुनुपर्छ – आˆनो श्रीमान्को बारेमा ।
- आफू अफिस पुगेपछि मौका मिलाएर फोन गर्थें । उहाँले सोध्नुहुन्थ्यो “के काम छ ?” मैले भन्थेँ- “खासै छैन ।” उहाँले भन्नुहुन्थ्यो “किन गरेको त्यसो भए ?” मोबाइलमा कुनै बेला क्यान्सिल गरिदिनुहुन्थ्यो, मन नराम्ररी चिमोटिन्थ्यो । सँगै खाजा खान गइएन । श्रीमान्-श्रीमती होटलमा सँगै लन्च-डिनर लिन्छन् भन्दा अचम्म लाग्थ्यो- यस्तो पनि हुन्छ र ?
- सँगै रहँदा जन्मदिनहरू आए । म्यारिज एनिभरसरीहरू आए । शुभकामनाका दुई शब्द कहिल्यै पाइनँ, उपहार त सपनाको कुरा । मध्यरात बितिसक्दा पनि मनले कुरिरहन्थ्यो । बिहेको दोस्रो वर्षमा भनेँ- “मलाई यस्तो मन पर्छ । नजिक बाँधेजस्तो लाग्छ । एक पत्ता टिकी, एक दर्जन चुरा नै किन नहोस् यस्तो बेलाको उपहार अति प्यारो हुन्छ ।” उहाँले सुनि मात्र रहनुभयो । मैले सोचेको थिएँ – मलाई राम्रो लाग्ने कुरा गर्न उहाँलाई मन पर्ला । त्यसपछिका जन्मदिनहरू पनि जसरी आए त्यसै गरी गए । कुनै परिवर्तन भएन । म भने कुर्न छाडिनँ । सायद, श्रीमती कुरा बनाउँछन् मेरो श्रीमान्ले दियो भनेर- मन बुझाउँथे यसरी ।
- बिहे भएपछि दुई जना घुम्न जान्छन् भन्ने सुनेकी थेँ, घुम्न किन जान्छन् मलाई थाहा भएन । यस्तो पनि हुन्छ र ?
- यसैबीच म गर्भवती भइछु । मैले उहाँलाई सुनाएँ । उहाँको मुखमा न खुसी थियो न दुःख नै । भावविहीन । मैले केही पढ्नै सकिनँ । हर्ष छ कि विस्मात ।
- पछि चार महिनाको गर्भ गयो । गमलामा रोपेको बिरुवा सुकेर जाँदा त मन चुँडिन्छ भने मेरो कोखको सन्तान । म रित्तिएको आभास भयो । रोएर तकिया साँच्चै भिज्दो रहेछ । आधारात बित्दा समेत बैठकमै बसेर क्रिकेट हेरिरहनुभयो । टेलिभिजन हाम्रो कोठैमा पनि थियो, मैले कोठामा बस्न अनुरोध गरेकी थिएँ । भन्नुभयो – ग्रुप भएर हेर्न मजा आउँछ । बैठकमा चिच्च्याउनुहुन्थ्यो उहाँहरू ‘छक्का, क्याच Û’ म रगत र आँसुले लतपतिरहेँ । उहाँ क्रिकेटको हारजित सकिएपछि बैठकमै निदाउनुभएछ ।
- मन पर्ने लुगा, मन पर्ने खानासम्म थाहा भएन उहाँलाई । कहिल्यै एक जोर लुगा किनेर दिनुभएन – सँगै बजार कहिल्यै गइएन ।
- बाहिर सँगै निस्किनै हालियो भने अगाडि सँगैको सिटमा कोही परिवारको सदस्य या अरू नै हुन्थे, कहिल्यै सँगै बसिएन ।
फोनको घण्टी बज्यो- एक्लै सर्माइन्, भुतुक्क आफैँसँग । फेरि कुरा अगाडि बढाइन् ।
- एक दिन साहस बटुलेर पोखेँ आˆना गुनासाहरू । झन्डै वादविवाद नै भयो । “तिमी मसँग खुसी छैनौ भने आˆनो बाटो रोज” ठीक यही वाक्य बोल्नुभएको थियो उहाँले । त्यस रात धेरै रातिसम्म म रोइरहेँ । उहाँको अगाडि पहिलो पटक रोएकी थिएँ । उहाँ भित्तातिर नै फर्किरहनुभयो, कोल्टे नफेरीकन भन्नुभयो, “मेरो दिमाग चाट्ने काम नगर ।”
- हो, उहाँले कमाइको पैसा मेरो हातमा राखिदिएर भन्ने गर्नुहुन्थ्यो- ‘बैङ्कमा पठाइदिनू ।’
- जिन्दगीको त्यत्रो यात्रामा मन्दिरसमेत सँगै गइएन । श्रीमान्-श्रीमती बोलाइएका बिहे पार्टीमा समेत सँगै भइएन । उहाँ जानुहुन्थ्यो अफिसबाटै । चू. लेखेको कार्ड टेबलमा हाँसिरहन्थ्यो ।
- दोस्रो पटक म गर्भवती भएकी थिएँ । आफैँ डाक्टरकहाँ जान्थेँ जचाउन । कुनै दिन सोध्नुभएन कस्तो छ- मेरो र बच्चाको हालत । मलाई ज्वरो आउँदा, निधारमा छाम्नुभएन कहिल्यै । त्यस दिन बिदाको दिन थियो । घरै बस्न अनुरोध गरेँ । ज्यादै गाह्रो भाथ्यो शरीरमा, मन्दमन्द पेट दुखिरहेथ्यो । साथीको बच्चाको भात खुवाइमा नगै नहुने बताएर उहाँ निस्कनुभयो । त्यही दिन उहाँ नर्फकंदै असहृय पेट दुखेर मेरो गर्भ गयो दोस्रो पटक । दुखाइ, आमा बन्न नसक्नुको पीडाले छटपटाएँ । उहाँले मसँगै बसेर सान्त्वनासम्म पनि दिनुभएन । मेरो टाउको सुमसुमाउनुभएन, हात समाउनुभएन । आँसु बगिरहृयो । मन फुकाएर रुने साथी पाइनँ, त्यस बेला ।
कुरा गर्दै रहँदा फोनको पुनः घण्टी बज्यो- उनको मुखमा जून फुल्थ्यो । फोनमा कुराकानीपछि -
- मन विरक्तिँदै गयो । बाँच्नुभन्दा मर्नुमा नै जीवनको सार्थकता देखेँ । त्यो जीवनभन्दा आरामदायी रोजेँ । तन्नाको पासो बनाएर झुन्डिएँ पनि । दुर्भाग्य तन्ना च्यातिएर म बचेँ । यो घटनालाई लिएर उहाँ ममाथि बजि्रनुभयो । “के गर्न खोजेकी मेरो बेइज्जत ? म समाजमा मुख देखाउन लायकको रहने थिइनँ ।” ज्यादै रिसाउनुभयो । हाम्रो दूरी बढेको अनुभव भयो त्यस बेला ।
- दूरी बढ्दै गयो । दूरी बढ्दै गयो सरासर ।
- एक दिन मैले भनेँ- “हाम्रो दूरी बढ्दै छ । कृपया यसलाई रोक्नुस् ।” उहाँले भन्नुभयो, “मलाई धम्की दिएकी ?” मैले भनेँ, “मलाई सहयोग गर्नुस् दूरी बढिरहेको छ । यसलाई चाहेर पनि छोट्टाउन नसकिएला कुनै दिन ।”
- दिन उस्तै रहे । कुनै परिवर्तन आउन सकेन ।
- म चुरोट पिउन लागेँ लुकीछिपी ।
- लोग्नेको छातीमा निदाउनुमा स्वर्ग छ भन्थे, मलाई थाहा थिएन त्यो स्वर्ग कस्तो हुन्छ ?
कुरा चल्दै रहँदा तीन पटक फोन आयो । मुस्कुराउँदै भनिन्- ‘मलाई अलि टाउको दुखेकोले कस्तो छ भनेर सोध्नुभएको उहाँले ।’ अलि लाजमानी शिर निहुराइन् यति बेला ।
हो मैले सँघार नाघेकी छु । उहाँले कुट्ने-पिट्ने कहिल्यै गर्नुभएन, खान-लाउन प्रशस्त थियो । त्यसको अर्थ रहेन ।
हामीलाई बिदा गर्ने सुरमा भनिन्-
“भोलि आउनुभएको भए हामी कुरा गर्न सक्ने थिएनौँ । भोलि मेरो जन्मदिन पारेर हामी एक साताको लागि घुम्न जाँदै छौँ । भरे नै हामी हिँड्छौँ यहाँबाट ।”
घाँटीको दाहिनेतिर कालो कोठीनिर सानो नीलडाम हाँसिरहेको थियो ।
  साभरः (नीहारिकाको कथासंग्रह हवनबाट)

प्रतिक्रिया

सम्बन्धित समाचार