धनगढी । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मतपरणाम अन्तिम चरणमा पुग्दै गर्दा समानुपातिकतर्फको परिणाम पनि आइरहेको छ ।
अहिलेसम्मको परिणामअनुसार २३ लाख ३३ हजार ८४२ मतसहित नेकपा एमाले पहिलो स्थानमा रहेको छ । नेपाली कांग्रेसले समानुपातिकतर्फ २२ लाख ३६ हजार ६४७ मतसहित दोस्रो स्थानमा रहँदा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । निर्वाचन आयोगले दिएको पछिल्लो मतपरिणाअनुसार माओवादीले ९ लाख ७८ हजार २९१ मत प्राप्त गरेको छ ।
समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्रपार्टी ९ लाख ३० हजार ४५ मतसहित चौथो स्थानमा रहँदा राप्रपा पाँचौ, जसपा छैटौँ र नेकपा एकीकृत समाजवादी सातौँ स्थानमा छ । राप्रपाले ४ लाख ८८ हजार ८२६ र जसपाले २ लाख ९२ हजार ४२३ मत पाउँदा एकीकृत समाजवादीले २ लाख २८ हजार ४७८ मत पाएको छ ।
निर्वाचन आयोगका अनुसार ८४ लाख ८२ हजार ३३३ मत गनिसकिएको छ । यसक्रममा सिके राउत नेतृत्वको जनमत पार्टीले आइतबार मध्यान्हसम्म समानुपातिकतर्फ २ लाख २७ हजार ९१६ मत पाएको छ ।