डोटीमा काँग्रेसको भूमिकाप्रति आलेको असन्तुष्टि

माैलिक संवाददाता 733+ समाचार ( )
३ अशोज २०७९

धनगढी । नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसको भूमिकाप्रति असन्तुष्टि जनाएको छन् । नेता आलेको निर्वाचन क्षेत्र डोटीमा कांग्रेसले गठबन्धन गर्न नखोजेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।

पार्टीको समाजवादी मगर संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री आलेले मेरो जिल्लामा पनि कांग्रेसले ठाउँ-ठाउँमा भेला गर्ने, हामीलाई गठबन्धन चाहिँदैन भन्ने कुरा गरिरहेकाले गठबन्धन भए सबै जिल्लामा हुने नभए कुनैपनि जिल्लामा नहुने बताए ।

विद्रोहबाट भर्खरै आएको पार्टी भएकाले आफूहरूलाई हेप्न खोजेको उनको भनाइ छ । ‘९ वटा स्थानीय तह भएको डोटीमा ६५ वडा छन् । त्यसमध्ये  १० वडामा मात्र हाम्रा उम्मेदवारी भयो । त्यसमा ५५ वडामा हामीले त्यतिकै छाडेका थियौं । त्यही १० वडाको भोट गनेर कांग्रेसले समाजवादीको ३ हजार भोट छ भन्ने कुरा मान्य हुँदैन’, उनले भने ।

उनले स्थानीय चुनावको आधारमा गठबन्धन गर्ने कुरा स्वीकार्य नहुने चेतावनी दिए । ‘चुनावअघि काठमाडौंमा बालेनको मत कति थियो ? उहाँ निर्वाचित हुनुभयो । स्थानीय निर्वाचनलाई आधारमा मानेर विद्रोह गरिरहने हो भने कुनैपनि जिल्लामा गठबन्धन हुनेवाला छैन । त्यसमा हाम्रो ध्यानाकर्षण भएको छ । मैले पार्टी बैठकमा पनि भनिसकेको छु’, उनले भने ।

प्रतिक्रिया