सन्दर्भः विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस:
बर्सेनि बढ्दैछ सुदूरपश्चिममा विपद्जन्य क्षति

शेरबहादुर ऐर 15+ समाचार ( )
२७ अशोज २०७९, बिहीबार

धनगढी । सुदूरपश्चिम प्रदेशमा बर्सेनि विपद्बाट भौतिक तथा मानवीय क्षति हुने क्रम बढेको छ । प्रदेशको तराई क्षेत्रमा बाढी तथा डुबान र पहाडी क्षेत्रमा पहिरो तथा प्रदेशका नौवटै जिल्लामा चट्याङ, हावाहुरी, आगलागीलगायतका विपद् र वन्यजन्तु आक्रमणबाट पनि अन्नबाली तथा मानवीय क्षति हुँदै आएको छ ।

प्रदेशका सात पहाडी जिल्लामा बाढी तथा पहिरो र तराईमा बाढी तथा डुवानसँगै चट्याङ, आगलागी, वन्यजन्तु आक्रमणलगायतका घटनाबाट मानविय तथा भौतिक संरचनामा क्षति हुने गरेको छ ।

असोज २० गते रातिदेखि पाँच दिनसम्म लगातार परेको वर्षाका कारण कैलालीको भजनी नगरपालिका र टीकापुर नगरपालिकाका विभिन्न बस्तीहरु विस्थापित भई सडक, वन र विद्यालयमा आश्रय लिएर बसेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिकाका विभिन्न वडाका तीन सय ७५ घरधुरी र टीकापुर नगरपालिकाका वडा नम्बर ८ अरुणाफाटा गाउँका १० घरपरिवारहरु विस्थापित भएका छन् ।

भजनी नगरपालिका वडा नम्बर २ पल्टुपुरका ४०, वडा नम्बर ३ दुसीका ७०, नयाँ बस्ती वर्दवाका १५, वडा नम्बर ८ का दुई सय ५० गरि तीन सय ७५ घरपरिवार विस्थापित भई सुरक्षित स्थानमा सारिएको छ । 

हरेक वर्षातमा भजनी नगरपालिकाका विभिन्न बस्तीहरुमा डुबान तथा बाढीको समस्या झेल्दै आए पनि दिगो व्यवस्थापनबारे अहिलेसम्म ठोस कार्यक्रम अघि बढाउन नसकेको स्थानीयहरु बताउँछन् ।

भजनी नगरपालिका वडा नम्बर ८ का कम्मानसिंह विक घरपरिवारसहित हुलाकी सडकमा बसोबास गरिरहेका छन् । उनले भने, ‘हरेक वषार्तमा घरभित्र पानी पस्दै आएको छ । हामीलाई कि त उचोँ ठाउँमा बस्ने व्यवस्था गर्नुपर्‍यो । होइन भने यो समस्या समाधानका लागि दिगो व्यवस्थापनका कार्यक्रम अघि बढाउनु पर्‍यो ।’

नेपाल रेडक्रस सोसाइटी कैलालीका अध्यक्ष उत्तम जोशी तराईमा डुबान तथा बाढी र पहाडमा पहिरोका घटनाहरु बढिरहेको बताउँछन् । वातावरणीय प्रभाव मूल्यांकनबिनै बनाइएका भौतिक संरचनाका कारण पनि विपद्जन्य क्षति बढ्दै गएको उनको भनाइ छ । 

उनले भने, ‘पहाडमा सडक निर्माणका नाममा मनलाग्दी सडक खन्ने, कमजोर भूबनोटमा ठूला मेसिन लगाउने र अनियन्त्रित नदीजन्य पदार्थ उत्खननका कारण पनि बाढी तथा पहिरोका घटना बढिरहेका छन् ।’

नौवटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा वैशाखदेखि असोज २५ गतेसम्म विपदजन्य घटनामा ५५ जनाको मृत्यु भएको छ । सोही अवधिमा १० जना बेपत्ता भएका छन् भने एक सय १० जना घाइते भएका छन् । विपदका दुई सय ४६ वटा घटनाबाट पाँच करोड ६९ लाख १५ हजार सात सय बराबरको क्षति भएको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रको तथ्यांकमा उल्लेख छ ।

६ महिनामा प्रदेशमा सबैभन्दा बढी मानवीय क्षति अछाममा भएको छ भने कैलालीमा धेरै परिवार प्रभावित बनेका छन् । अछाममा २८ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । 

राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार कैलालीमा सात जनाको मृत्यु भएको छ भने चार करोड ८४ लाख १० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ । 

प्रदेशमा सबैभन्दा पहिरोबाट मानविय क्षति हुने गरेको छ । सात जिल्लाका विभिन्न घटनामा २८ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । पहिरोका कारण सात लाख ८४ हजार बराबरको क्षति भएको छ । 

प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा १ सय १३ विपद्जन्य घटनामा परी ५० जनाको मृत्यु, २३ जना बेपत्ता र ५३ जना घाइते भएका थिए । सो आर्थिक वर्षमा सबैभन्दा बढी मानविय क्षति डोटीमा भएको थियो । डोटीमा पहिरोमा परी १८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै