महेन्द्रनगर । कञ्चनपुरका स्थानीय तह आफ्नै पाठ्यक्रम बनाइ कार्यान्वयन गर्ने तयारीमा जुटेका छन् । पालिकाले स्थानीय कला, संस्कृति र पर्यटनलाई समेटेर आफ्नै पाठ्यपुस्तक प्रकाशनमा ल्याउने तयारीमा लागेका हुन् । बालबालिकालाई आफ्नो क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक तथा धार्मिक सम्पदाबारे परिचित गराउने विषय समावेश गरेर कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम यसै शैक्षिकसत्रदेखि लागू गरिएको हो ।
बेलौरी नगरपालिकाका शिक्षा शाखाप्रमुख अमितप्रसाद भट्टले नगरपालिकाले स्थानीय पाठ्क्रपुस्त प्रकाशनको अन्तिम तयारी भइरहेको बताए । उनले भने, “विद्यालयहरुमा यसै शैक्षिकसत्रदेखि लागू हुने गरी पाठ्यपुस्तक प्रकाशन गरिन लागेको हो । एक साता भित्रै विद्यालयमा स्थानीय विषयवस्तु समेटिएको पाठ्यपुस्तक पुग्छ ।” उनले गत वैशाखमा विद्यालयहरुलाई पाठ्यक्रम उपलब्ध गराए पनि पाठ्यपुस्तक प्रकाशन हुन समय लागेको बताए ।
सङ्घीय सरकारबाट स्वीकृत पाठ्यक्रम अनुसार नगरपालिकाले पाठ्यक्रम बनाई पाठ्यपुस्तक प्रकाशन गर्न लागेका हुन् । यहाँको बेदकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख मञ्जु थापाले कक्षा १ र २ को पाठ्यक्रम विद्यालयमा पठनपाठन सुरु भएपनि कक्षा ३ देखि ८ सम्मको पाठ्यक्रम निर्माणको अन्तिम चरणमा रहेको बताइन् । उनले भनिन्, “पाठ्यक्रम निर्माण गरेर प्रकाशनमा ल्याउने अन्तिम चरणमा पुगेका छौँ, छिट्टै विद्यालयमा स्थानीय पाठ्यक्रम सहितको पाठ्यपुस्तक पुग्छ । विद्यार्थीहरुले पालिकाभित्रको ऐतिहासिक तथा धार्मिक सम्पदा लगायतका विषयवस्तु थाहा पाउने छन् ।” उनले पाठ्यक्रममा नगर क्षेत्रको ऐतिहासिक तथा धार्मिक सम्पदा र यहाँको संस्कृति पर्वहरुका बारेमा पुस्तकमा समेटिएको बताइन् ।
स्थानीय पाठ्यक्रममले पर्यटन विकास र संस्कृति संरक्षणमा टेवा पुग्ने पुनर्वास नगरपालिकाका शिक्षा शाखा प्रमुख शिवराज भट्टले बताए । उनले भने, “नगरपालिकाले १ देखि ८ कक्षा सम्मको पाठ्यपुस्तकमा यस क्षेत्रका पर्यटकीय स्थलहरु, धार्मिक सम्पदाहरु र परम्परागत पर्वहरुको विषय समावेश गरेको छ । यहाँका मौलिक पर्वका बारेमा समेत विषयवस्तु राखिएको छ ।”
नेपालको संविधानको भाग ३ मा मौलिक हकसम्बन्धी व्यवस्था छ । सोअन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकका हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यपुस्तकका रूपमा आफैँले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ ।
प्रगतिशील लेखक सङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमेश पन्त मितबन्धुले स्थानीय सरकारले आफ्नै पाठ्यपुस्तक प्रकाशनमा ल्याउनु प्रशंसनीय भएको बताए । उनले भने, “स्थानीय पाठ्यपुस्तकमा समेटिएका स्थानीय स्तरका भाषा, संस्कृति, कला र सम्पदाबारे विद्यार्थीहरु परिचित हुन्छन । यसले विद्यार्थीहरुमा आफ्नो समाजप्रति जिम्मेवारी बोध हुन्छ ।” उनले यस्ता पाठ्यपुस्तकले विद्यार्थीमा अपनत्वको विकास हुने बताए ।