बाढी पीडितको बिचल्ली : सडक, विद्यालय र जंगलमा बास

शेरबहादुर ऐर 16+ समाचार ( )
६ अशोज २०७९, बिहीबार

धनगढी । भजनी नगरपालिका वडा नम्बर ८ की पार्वती विक सोनाफाटास्थित हुलाकी सडकमा त्रिपालमा बसेकी छिन् । भदौ ३१ गतेरातिदेखि असोज १ गतेसम्म परेको अविरल वर्षाले घरभित्र पानी पसेपछि उनी सडकमा त्रिपाल लगाएर बसेकी हुन् । 

यो वर्षमात्रै नभएर हरेक वर्षायाममा उनको सोही सडकमा बास हुन्छ। सडकको किनारामा बनाइएका पालभित्रै बसेकी पार्वतीले भनिन्, ‘हरेक वर्ष घरभित्र पानी पस्छ । अनि यही सडकमा बास हुन्छ ।’ 

घरभित्र रहेको अन्नपात र खेतको धान पनि सबै बाढीले पुरेको उनको भनाइ छ । उनले भनिन्, ‘अचानक आएको बाढीले गहुँ, धान, सबै सम्पत्ति सत्यनास भइहाल्यो । अब वर्षभरी केले गुजारा चलाउने होला ।’


हुलाकी सडकमै त्रिपालमा छोराछोरीसहित बसेकी छन् मिना चौधरी । उनको घर बाढीले क्षतविक्षत् बनाएको छ । काठका खाट, लत्ताकपडा, भाँडाकुडासम्म बचेका छन् । ‘खानपिनको निकै समस्या छ,’ उनले भनिन्, ‘तीन दिनसम्म चाउचाउ चिउरा खाएर बसेकी छु । सरकारका प्रतिनिधिहरु कोही पनि आएनन्।’

भजनी नगरपालिकाले मंगलबार बिहानदेखि बाढीपीडितलाई खान समस्या भएको भन्दै नजिकै सामूहिक भान्सा घर सञ्चालन गरेको छ । उनले भनिन्, ‘सामूहिक भान्सा घर सञ्चालन भएपछि तीन दिनपश्चात पेटभरी खाना खान पाइयो ।’ 

भजनी नगरपालिका वडा नम्बर ८ जनकपुरका मानसिंह चौधरी मंगलबार सडकको बासबाट घर फर्केका छन् । पानीको सतह घटेपछि घर पुगेका उनी घरमा पुगेको क्षतिले चिन्तित थिए । 

‘भकारी (डेहरी) धान, गहुँ, तोरी, सबै बाढीले डुबायो,’ उनले भने, ‘खेतको धानमा पनि क्षति पुग्यो । सरकारले अब खानलाई रासनको व्यवस्था गर्नुपर्छ ।’