चुरेमा रहेको राणाकालीन राजघर भूतबङ्गलामा परिणत

हिक्मत बम 16+ समाचार ( )
१२ वैशाख २०८०, मङ्गलबार

चुरे । खड्कशम्सेर जबराले निर्माण गरेको एतिहासिक राजघर (गर्भादरबार) स्थानीय सरकारको हेलाले जीर्ण बन्दै गएको छ । विसं १९८४ मा निर्माण भएको ऐतिहासिक संरचनाको संरक्षणमा सरकारको ध्यान नजाँदा भूतबङ्गला (भूतप्रेत बस्ने भनी विश्वास गरिएको, डरलाग्दो र तर्साउने घर)मा परिणत हुँदै गएको हो ।

कैलालीको चुरेमा रहेको राणाकालीन राजघर संरक्षण नहुँदा ओझेलमा पर्दै गएको छ । जिल्लाको चुरे गाउँपालिका-४ मा रहेको ऐतिहासिक राणाकालीन गर्भादरबार (राजघर)को संरक्षण नहुँदा ओभलेलमा पर्नुका साथै जीर्ण बन्दै गएको हो ।

एतिहासक महत्वको राजघर (गर्भादरबार) स्थानीय सरकारको संरक्षणमा रहन सके आन्तरिक पर्यटकको रोजाइँ बन्ने चुरे गाउँपालिका ४ का स्थानीय तथा पूर्ववडा अध्यक्ष कृष्णबहादुर मल्लले बताए । उनका अनुसार स्थानीयको पहलमा टिनको छानो लगाएर दरबारको मर्मतसम्भार गरिएको भएपनि छानो हावाले उडाइसकेको छ । भने वर्षातको समयमा पानी चुहिएर पर्खाल भत्किँदै गएको छ । 

दरबारको संरक्षण गर्न सके चुरे क्षेत्र पर्यटकको रोजाइँ बन्ने छ । उनले आफ्नो पाँच वर्षे कार्यकालमा राजघरको संरक्षणका लागि पहल गरिएको बताए । पूर्ववडा अध्यक्ष मल्लले अहिलेको स्थानीय सरकारले एतिहासिक महत्वको राजघरलाई पहिलो प्राथमिकता दिएर संरक्षण गनुपर्ने बताउँछन् । राणाकालीन दरबारको संरक्षण गर्न सके चुरेको छुट्टै पहिचान हुने उनको भनाई छ ।

दरबार दिनप्रतिदिन भत्किने क्रममा छ । कतिपय भाग भत्किएर दरबारको शोभा बिग्रिँदै गएको छ । सरोकारवाला निकायले वास्ता नगर्दा ऐतिहासिक महत्व र पर्यटकीय सम्भावना बोकेको राजघर भूतबङ्गलामा परिणत हुँदै गएको स्थानीय टीकाराम ढुंगानाले बताए । वर्षौँदेखि दरबार प्रयोगविहीन बनेपछि भत्किँदै गएको उनी बताउँछन् ।

कलाकृति जडित भित्ता २०५५ सालदेखि भत्किन सुरू भएको स्थानीय बताउँछन् । स्थानीय बुढापाकाका अनुसार वि.स.२०३२ सालसम्म मात्रै गर्भा दरबारमा चहलपहल भयो । खड्कशम्शेरका छोरा बहादुर शम्सेरपछि दरबार बहादुरशम्सेरका साहिँला छोरा तेजप्रकाशशम्शेर जबराको भागमा प¥यो । राणाशासनको अन्त्यपछि पनि शासकहरू बसेको उक्त दरबारमा २०३३ सालपछि भने कोही पनि नबसेको स्थानीय बताउँछन् ।

चुरे क्षेत्रमा पर्ने गर्भादरबार हावापानी, मौसम र भौगोलिकरूपमा अत्यन्त उपयुक्त भएकाले पनि पर्यटकीय दृष्टिकोण र सुरक्षाका हिसाबले राम्रो मानिन्छ । त्यसैले पनि राणा शासकहरूले गर्भालाई रोजेको हुनसक्ने बुझाइ छ । मासको गारो (घर, मन्दिर आदि चिन्न दाल खाने मास पिसेर बनाइएको हिलो)बाट निर्माण गरिएको राजघरमा ८३ झ्याल र ५३ ढोका छन् । दश रोपनी क्षेत्रफलमा फैलिएको यो दरबार तीन खण्ड र तीनतले छ । सुरक्षाका दृष्टिकोणले दरबारभित्र भुइँतले सुरुङसमेत बनाइएको छ । त्यो अहिले पुरिँदै गएको छ । राणा शासक खैरालाको दरबारबाट डोटी बर्छैनको च्युरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैनी, तेलेको जल्फु काफलीमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेको स्थानीय बूढापाका बताउँछन् ।

दरबार संरक्षण गर्न पालिकाको बजेट पर्याप्त नहुने भएकाले सङ्घ र प्रदेश सरकारसंग माग गरिएको चुरे गाउँपालिकाका अध्यक्ष चक्र बोगटीले बताए । उनले गर्भादरबारको संरक्षणलाई पहिलो प्राथमिकतामा राखेको बताए । उनले दरबारलाई पर्यटकको गन्तव्य बनाउनका लागि सडक सञ्जालसँग जोडिएको बताए । 

दरबार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गर्दै आएको छ । तर त्यसको कार्यान्वयन हुनसकेको छैन । पुरातत्व विभागले भने बमोजिम दरबारको पुनःनिर्माण गर्नुपर्ने भएकाले बजेट कार्यान्वयन हुन नसकेको अध्यक्ष बोगटीले बताए ।

जिल्ला सदरमुकाम धनगढीबाट ४५ किलोमिटर उत्तर चुरे क्षेत्रमा पर्ने दरबारको संरक्षण र प्रवद्र्धनमा सरकारले ध्यान दिनसके चुरे पर्यटकीय क्षेत्रको रूपमा विकास हुने देखिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै