धनगढी । टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २० हजार माथि पुगेको छ । यद्यपि संयुक्त राष्ट्र संघले भूकम्पले पूर्याएको वास्तविक क्षतिको अझै यकिन हुन नसकेको जनाएको छ ।
उद्धारकर्ताहरुले अझै पनि जीवित व्यक्ति भेटिने आशमा भग्नावशेषमा खोजी कार्य जारी राखेका छन् । तर, भूकम्प गएको १०० घण्टाभन्दा बढी समय भइसक्दा भग्नावशेषमा पुरिएका मानिसहरुलाई जीवित भेट्ने सम्भावना क्षिण हुँदै गएको टर्की र सिरियाका अधिकारीहरुले जनाएका छन् ।
टर्कीका अधिकारीका अनुसार टर्कीमा मात्र मुत्यु हुनेको सङ्ख्या झण्डै १७ हजार १३४ भन्दा बढी पुगेको छ । यस्तै, सिरियामा ३ हजार १६२ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।
अत्यधिक चिसोका कारण खोजीमा बाधा पुगेको छ । विज्ञहरूले जीवन बचाउने सबैभन्दा सम्भाव्य अवधिका रूपमा लिएको ७२ घण्टाको समय बितिसकेको छ ।
बाब अल–हवा सीमा नाकाका एक अधिकारीले एएफपीलाई बताएअनुसार विद्रोहीको कब्जामा रहेको उत्तरपश्चिमी सिरियामा बिहीबार सहायता पुगेको छ ।
एक दशक लामो गृहयुद्धमा र हवाई आक्रमणका कारण अधिकांश सुविधासम्पन्न अस्पतालहरू ध्वस्त बनेका थिए, अर्थतन्त्र ध्वस्त बनेको थियो र बिजुली, इन्धन र पानीको अभाव हुँदै आएको थियो ।
टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४:१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १:२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।