धनगढी । तराईका आदिवासी थारू समुदायका महिलाले खर जितिया (शुद्ध जितिया) सुरु गरेका छन् ।सन्तानको दीर्घायु, सुखसमृद्घि र मनोकामना पूर्ण गराउन तराईका आदिवासी थारु महिलालगायत अन्य समुदायले जितिया सुरुवात गरेका हुन् ।
योसँगै तराईका गाउँघर र काठमाडौंमा बसोबास गर्दै आएका थारु महिलाले यस वर्ष चार ठाउँमा धुमधाम जितिया मनाउने तयारी गरेका छन् । यसअघि २०७६ सालमा खर जितिया परेको थियो ।
खर जितियामा नयाँ विवाहिता महिलाले जितियाको सुरुआतसमेत गरेको थारु संस्कृतिविद् भुलाई चौधरीले बताए । उनले भने, ‘थारू समुदायको महान् पर्व हो, जितिया ।महिला आफ्नो सन्तानको दीर्घायु, सुखसमृद्घि र मनोकामना पूर्ण गराउन जितियाको व्रत लिन्छन् । थारू समुदायमा जब मान्छे मर्नबाट संजोगवश जोगिन्छ तब भनिन्छ, तिम्री आमाले जितिया व्रत लिएकी हुनाले तिमी बाँच्यौ । नव विवाहिताहरुको जितियाको प्रारम्भ पनि खर जितियादेखि नै गर्न पाउँछन् ।’
मुख्यतः पुर्वमा झापादेखि पश्चिमी नवलपरासीका जिल्लामा धुमधामका साथ जितिया पर्व मनाउने गरिएको उनको भनाइ छ । चितवन र नवलपरासीका थारु महिला झम्टा पार्ने (नाँचरगान) गर्ने चलन छ ।
काठमाडौँ उपत्यकामा बसोबास गर्ने थारु महिलाले २०६२ सालदेखि परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया पर्वलाई राष्ट्रिय महोत्सवको रुपमा मनाउने गरेका छन् ।
यसवर्ष पनि थारु महिला समाजले भृकुटीमण्डपस्थित पर्यटन बार्डमा, थारू महिला सभा काठमाडौँ उपत्यका समितिले राष्ट्रिय नाँचघर जमलमा र थारु कला तथा विकास मञ्चले ललितपुरको कुपण्डोलमा एकै दिन जितिया पर्वलाई महोत्सव मनाउन लागेका हुन् ।
जितिया पर्वबारे थारु महिला सभाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो ।
यस्तै थारु महिला समाजकी अध्यक्ष गीता चौधरीले भनिन्, ‘हामी थारु महिलाहरुले विगत १५ वर्षदेखि काठमाडौंमा प्रत्येक वर्ष जितिया पर्वलाई राष्ट्रिय महोत्सवको मनाउँदै आइरहेका छौं । यस वर्ष पनि पर्यटन बोर्डको हलमा मनाउँदैछौ ।’
उनका अनुसार थारु महिलाले आफ्ना सन्तान तथा परिवारको दीर्घायूको कामना गर्ने गर्दै यो कठिन व्रत बस्ने गर्छन् ।
जितियाको पहिलो दिन लहाइ अर्थात नुहाए खाने दिन (शनिबार) ब्रतालु महिलाले स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना (खैर) र माटो चढाउने गर्छन् ।
पर्वको दोस्रो दिन अर्थात अष्टमीका दिन (आइतबार) ब्रतालु महिला निराहार उपवास बस्नेछन् । उपवासका दिन महिला गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन रहेको छ।
जितियाको अन्तिम तथा पारन (समापन)को दिन वर्तालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र स्थानमा दही तथा सखरको प्रसाद बनाई चढाउने गर्छन् र जितिया पर्वको समापन गर्ने गर्छन् ।