बर्दगोरियामा जनप्रतिनिधिको एक वर्ष

माैलिक संवाददाता 2140+ समाचार ( )
८ जेठ २०८०, सोमबार

बौंनियाँ । बर्दगोरिया गाउँपालिकाले दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले एक वर्षमा गरेको विकासको कामको जानकारी गराएको छ । २०७९ वैशाख ३० को स्थानीय निर्वाचनबाट  कर्ण बहादुर कुँवर गाउँपालिका अध्यक्षको जिम्मेवारीमा छन् ।

उनको नेतृत्वमा वडा नम्बर १ देखि ६ सम्मका सम्पूर्ण कच्चिबाटाहरु ग्राभेल सहितको  बाटो मर्मत गरिएको स्वकीय सचिव देवेन्द्र शाहीले बताए ।

विगत ५र७ वर्षदेखि बन्द अवस्थामा रहेको बौनियाँ खानेपानीलाई संचालन गरेको उनले बताए । हालसम्म कम्तिमा पाँचसय घरधुरीमा खानेपानीको धारा जडान सम्पन्न, वितरण कार्य जारी भएको छ । उनको अनुसार वर्षौँदेखि व्यवस्थापन हुन नसकेको बौनिया बजारको नाला सफाई, उज्यालो पालिका अभियान अन्तर्गत दानुवाफाटामा विद्युत् लाइन जडान, पूर्वपश्चिम महेन्द्र राजमार्गमा १०० वटा पोल बत्ती जडान र ६ वटा हाई–मार्स लाइट जडान गरिएको छ ।

भूमिहीन दलित, भूमि सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दैआएका पालिकाका नागरिकहरुलाई लालपुर्जा उपलब्ध गराउने अभियान सञ्चालन गरिएको उनले बताए । जसअन्तर्गत जग्गा नापजाँच को काम सुरु अबको केही दिनमै वडा नं ३ मा रहेका केहि भूमिहीन सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गर्ने तयारी गरिएको छ ।

पछिल्लो एक वर्षमा नदी कटानबाट प्रभावित क्षेत्रहरुमा धार परिवर्तन र तटबन्धनको कार्य जारी, ज्येष्ठ नागरिक र एकल महिलाले पाउने सामाजिक सुरक्षा भत्तालाई आफ्नै वडाको वडा कार्यालय र टोलहरु बाट उपलब्ध गराउने गरी व्यवस्थापन सम्पन्न भएका छन् । यस्तै पालिका अन्तर्गतका दृष्टिविहीन र अपांगहरुलाई पालिका अध्यक्ष कुँवरले आफूले पाउने तलब भत्ताको रकमबाट नगदसहित चिसो महिना मा बल्याङ्केट वितरण गरेको उनले बताए ।

यस्तै, वडा नम्बर ३ र ५ मा बर्थिङ सेन्टर सञ्चालनमा ल्याउन भौतिक संरचना पूर्णरुपमा तयार भइसकेको स्वकीय सचिव साहीले जानकारी दिए । पालिकामा कार्यरत करारमा रहेका कर्मचारीहरुले पाउनुपर्ने महंगी भत्ता स्वरुप जनही रु २००० का दरले वृद्धि गरिएको छ । 

शिक्षा क्षेत्रअन्तर्गत गाउँपालिकामा सामुदायिक क्याम्पस स्थापनाको कार्य अन्तिम चरणमा पुगेको छ ।  पालिकामा रहेका १७ वटा सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि १० सम्म पठनपाठन पूर्ण रुपमा निःशुल्कको व्यवस्था मिलाइएको छ । पालिका अन्तर्गतका संस्थागत विद्यालयहरुलाई कम्तिमा पाँच वर्षसम्म पाठ्यक्रममा बदल्न स्थानीय सरकारको निर्देशनका साथै शिक्षा निमावली, शिक्षा एन र पालिकाको पाठ्यक्रम जारी भएको छ ।

देशमै नमुनाको रुपमा १५ शैया बर्दगोरिया अस्पताल को समुद्घाटन अध्यक्षको पहिलो वर्षमै गरिएको उनले बताए । पालिकाको लगानीमै वार्ड नं ३ र ४ जोड्ने झोलुङ्गे पुल सञ्चालनमा र वडा नम्बर ६ देखि घोडाघोडी नगरपालिका वडा नम्बर २ जोड्ने झोलुङ्गेपुलको निर्माणकार्य जारी रहेको उनले जानकारी दिए । 

पालिका भित्रका सम्पूर्ण बाटाहरुलाई पानीपिच गराउने उद्देश्यका साथ गाउँपालिकाले आफ्नै स्रोत बाट साधन खरिद गरी अन्तर पालिका जोड्ने बाटाहरुमा पानीपिचको काम सञ्चालन गरेको छ । उता, मोहन्याल गाउँपालिकासंग रहेको सीमा विवाद मा दुईपक्षिय अनुगमन र छलफल भएको छ । बर्दगोरियाले नेपाल खानेपानी,विश्व बैंक र गाउँपालिकाको ७५ लगानीमा पाँच वर्षभित्र कार्य सम्पन्न हुने गरी ७० करोडको खानेपानी, ढल निकास र सरसफाई आयोजनामा सम्झौता गरिएको उनले जानकारी दिए । 

बर्दगोरियाको वडा नम्बर २,३,४ र ६ मा कालोपत्रे सहितको रिङरोड र बाटो निर्माण कार्य जारी रहेको छ । बौनिया देखि जोशीपुर हुँदै भजनी जाने कालोपत्रे बाटोको मर्मतका लागि टेन्डर संझौता सम्पन्न भएको असार मसान्त सम्ममा काम सम्पन्न हुनेमा ढुक्क रहेको उनले बताए । गाउँपालिकाले कृषि पेशालाई व्यवसायिक बनाउनका निमित्त निशूल्क माछा भुरा र ५० प्रतिशत अनुदानमा बिउबिजन वितरण गरेको छ । 

स्वास्थ्य स्वस्थ बनाउनका निमित्त योगशिविर लाई सहयोग गर्नुका साथै धर्म संस्कृति र संस्कारको जगेर्ना गर्न मठ मन्दिर र भवन निर्माण तथा अनुदानका रूपमा पालिकाले  आवश्यक आर्थिक सहयोग विनियोजन गरेको उनले जानकारी दिए ।

पालिकालाई पहिचान गराउनका निमित्त सुदूरपश्चिमका ५४ वटा गाउँपालिका र छिमेकी नगरपालिकाहरुलाई आमन्त्रित गरी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको प्रमुख आतिथ्यमा गाउँपालिका सम्मेलन सम्पन्न समेत भएको छ । युवाहरुलाई खेलकुतसँग आबद्ध गर्दै विभिन्न विधामा खेलकुद सञ्चालन र खेलकुद सामग्री वितरण भएको उनले बताए । साथै, असार मसान्तभित्र पालिका आफ्नै नयाँ भवनमा सार्ने उद्देश्यका साथ सम्बन्धित कम्पनीलाई दबाबका दिँदै आएको छ । पालिका प्रशासकीय भवन निर्माणको काम अन्तिम चरणमा पुगिसकेको उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै