देउताकै डरले छाउगोठ !

माैलिक संवाददाता 2140+ समाचार ( )
२९ अशोज २०७९, शनिबार

बझाङ । खप्तडछान्ना गाउँपालिका–५ की रमिला आग्री पहिलोपटक महिनावारी हुँदादेखि नै छाउगोठमा बस्न थालेकी थिइन् । अहिले उनको मनमा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने गहिरो छाप बसेको छ ।

सुरु–सुरुमा महिनावारी हुँदा घरभित्रै बस्ने चाहाना देखाएकी रमिला अहिले भने घरभित्र बस्नु हुँदैन भनेर आफूभन्दा पछिका पिँढीलाई सम्झाइरहन्छिन्, किनकि उनले परिवारबाटै त्यस्तै शिक्षा पाइन् । अहिले उनी महिनावारी हुँदा ६ दिनसम्मै बाध्य भएर छाउगोठमै बस्छिन् । तर देउताको डरले घरभित्र बस्ने कुरा भने उनको मस्तिष्कमै आउँदैन । गाउँघरमा छाउगोठ भत्काउने अभियान चले पनि रमिला त्यसको विपक्षमा हुनु उनको बाध्यता नै छ ।

खप्तडछान्ना गाउँपालिका–४ की हरिना रोकायाले पनि देउता रिसाउने भन्दै महिनावारीको बेला अहिलेसम्म घरमा बस्न पाएका छैनन् । घरमा बस्दा अनिष्ट हुने भन्दै परिवारकै सल्लाहमा उनी छाउगोठमा बस्न बाध्य हुन्छन् । ‘घरको दैलो पनि छुन दिँदैनन् । सबैभन्दा समस्या महिनावारी भएकै बेलामा हुन्छ, तर परिवारले नै त्यो स्वभाविक प्रक्रिया भन्दै छाउगोठमै बस्न बाध्य पार्छन्’, उनले भनिन् ।

रोकायाका अनुसार माइतीघरभन्दा बढी पोइलीघरमा छाउपडी मानिन्छ । उनको माइतीघर वडा नम्बर ७ मा छोरीलाई महिनावारी हुँदा घरको दैलो छुनेदेखि गाईवस्तु दुहुनेसम्म गरिन्छ। पोइलीघरमा भने आँगनदेखि तरकारीका लहरा छुनसमेत बञ्चित गरिएको उनले बताइन् । ‘बिहेको सुरुमा त सिस्नाको झाडी नजिकैको गोठमा बस्थ्यौँ । एक दिन सुतेकै बेलामा राति भत्कियो । त्यो दिनको घटना सम्झिँदा त आङै सिरिङ्ग हुन्छ’, उनले भनिन् ।

राति छाउगोठ भत्किने बेलामा तीन–चार दिने साउने झरी रहेछ । रोकाया सम्झिन्छिन्, ‘छाउगोठभित्र पानी पनि जमेको थियो । झरी रोकिने अवस्थै थिएन । गोठको छतको काठ कुहिएर पूरै झर्नै लागेजस्तो थियो । प्लाष्टिक ओढेर सुत्न खोजेकी थिएँ । माथिबाट झ्याप्प भत्कियो । खरको छानो हुँदा बाँचियो ।’

रोकायाका अनुसार अहिले छाउपडीले पहिलेको जस्तो दुःख भने भोग्नु पर्दैन । ‘छाउगोठ भए पनि सुरक्षित हुन्छन् । राति एक्लै सुत्न पनि केही डर हुँदैन । पहिलेको अवस्था त कुरै छाडौँ’, उनले भनिन् । छाउगोठ मुक्त नभए पनि अलि व्यवस्थित भएको उनले बताइन् ।

बुङ्गल नगरपालिका–६ की सीता बोहराले ३९ वर्षमा पाइला टेकिन् । उनी १३ वर्षको उमेरदेखि नै महिनावारी हुन थालिन् । माइती र पोइलीघर नजिकै भएको हुँदा उनलाई सुरुको बेला महिनावारी भएकै समयजस्तो अहिले पनि भइरहन्छ । घर, वस्तुभाउ, भाँडाकुँडा तथा पुरुष मान्छेलाई अहिले पनि छुन पाइँदैन ।

बस्ने, खाने, हिँड्नेदेखि पानी पँधेरा पनि छाउपडीका लागि अलग भएको उनले बताइन् । ‘सबैभन्दा कष्टकर समय नै महिनावारीको बेलामा हुन्छ । तर हाम्रो गाउँ ठाउँमा देउताले भनेको नमाने उल्टै आफैँमाथि दुर्घटना हुने भन्छन् र डर लाग्छ । घर नजिकै पनि जान मन लाग्दैन’, उनले भनिन् ।

उनले एकपटक सङ्घसंस्थाले भत्काएका छाउगोठ समाजले पुनःनिर्माण गरेको बताइन् । ‘पहिलेका गोठभन्दा अहिले केही त राम्रा र अलि व्यवस्थित भएका छन् । तर, मनमा भने देउताको डर कहिल्यै हराउँदैन’, उनले भनिन् । बुङ्गलमा विवाहित÷अविवाहित नभनी सबैले गोठमै बस्नुपर्ने उनले बताइन् । ‘हाम्रो यता जोसुकै महिला भए पनि महिनावारी हुँदा छ दिनसम्म गोठमै बस्नुपर्छ । घरमा मेरो दुई जना छोरी पनि त्यसै गोठमा बस्छिन्’, उनले भनिन्।

रमिला, हरिना र सीतामात्रै होइनन्, बझाङमा हजारौँ महिला अहिले पनि महिनावारीका बेलामा छाउगोठमै बस्छन् । स्थानीय सरकारका जनप्रतिनिधि, प्रहरी र सरोकारवालाको अगुवाइमा छाउगोठ भत्काए पनि फेरि छाउगोठ बनाएर बस्न थालेका छन् । ‘छाउगोठको रूपमात्रै फेरिएको छ’, महिला अधिकारकर्मी तथा अल्पकालीन महिला सेवा केन्द्रकी इन्चार्ज गीता शाहीले भनिन्, ‘संस्कार र सोच जहाँको त्यहीँ छ। मानसिक रूपमा चेत खुल्दैन भने गोठजन्य संरचना भत्काएर केही हुँदैन ।’

उनले मुलुक सङ्घीयतामा जानुअघि पनि जिल्ला विकास समितिको नेतृत्वमा छाउपडीमुक्त अभियान चलाएको र बीचमै रोकिएको बताइन् । सुरुमा छाउगोठ पनि भत्काइए । विभिन्न सङ्घसंस्थाले चेतनामूलक कार्यक्रम गरे । जिविसले पनि धेरै गाविसमा काम गर्‍यो । पछि सबै निकाय सुस्ताए ।

स्थानीयवासीले छाउगोठ पुनःनिर्माण गरे । उनका अनुसार छाउगोठ भत्काउने अभियानका बेलामा केही महिलाले त त्रिपाल टाँगेर रात बिताएका थिए । उनले महिनावारी हुँदा घरभित्रै छुट्टै कोठामा बस्दै आएका महिला भने अन्धविश्वास तोडेर अघि बढेको बताइन् ।

जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर बोहरा पहिलेको तुलनामा धेरै परिवर्तन भएको बताउँछन् । ‘सुदूरपश्चिममा सबैभन्दा बढी छाउपडी मान्ने जिल्ला बझाङ पनि हो । तर पछिल्लो समयमा भने चेतनाको विकासले धेरै परिवर्तन भइसकेको छ । छाउपडी मान्नेहरू धेरै नै व्यवस्थित भइसकेका छन्’, उनले भने । बोहोराका अनुसार बझाङमा सबैभन्दा बढी जयपृथ्वीका केही वडा, सुर्मा, छविस, मष्टा, खप्तडछान्ना र थलारामा बढी मान्ने गर्छन् । छाउगोठ भत्काउन तथा चेतना फैलाउने फेरि अर्को अभियान सुरू गर्ने उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार