२०७९ साल साउन २३ गते सोमबार
×

पर्यावरण जोगाउने अभियानमा युवाहरु

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कैलालीको अत्तरिया चोकदेखि मोहनपुर एयरपोर्ट ६ लेन सडकको मध्यमागमा विभिन्न प्रजातिका विरुवा रोप्ने कामको सुरुवात भएको छ । प्लानेट ग्रीन नेपाल र एभरेष्ट एकेडेमी अत्तरियाको अगुवाईमा सडकको मध्यभागमा ग्रिनक्लिन अत्तरियाको अवधारण अन्तर्गत वृक्षारोपणको काम भइरहेको हो । विभिन्न प्रजातिका झण्डै ९ सय विरुवा रोपेर संरक्षण गर्ने योजना छ ।

निजी–साझेदारीको आधारमा राज्यले यस्ता कार्यक्रमलाई अगाडि बनाउनुपर्ने भएपनि आफैले सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण गरेर ३ वर्षसम्म संरक्षण गर्ने दायित्व लिएर काम सुरु गरिएको एभरेष्ट एकेडेमीका प्राचार्य स्माइल चौधरीले बताए । ‘मोहनापुल अत्तरिया सडक योजना कार्यलयसँग अनुमति लिएर हरियाली गोदावरी बनाउने योजनाअनुसार रोपिएका विरुवाहरुको पूर्ण संरक्षण हुनेगरी ट्रीगार्डसहित पानीको समेत व्यवस्था गर्न एक जना सहयोगी राख्ने तयारी भइरहेको छ’ उनले भने । 

क्रोटन, घण्टेश्वरी, गुलाफ, सिरोज, धुपी, एक्जारो, कामीनी लगायतका बिरुवा रोपेर पर्यावरण जोगाउने कामको सुरुवात भएको प्लानेट ग्रीन नेपालका अध्यक्ष पुष्करशर्मा जोशीले बताए । ‘वार्षिक लाखौँको संख्यामा वृक्षा रोपण हुँदै आएपनि रोपिएका विरुवाको संरक्षण हुने गरेको छैन । अब गोदावरी नगरपालिकाको संरक्षणमा वृक्षारोपण गरेर पर्यावरण जोगाउने कामको सुरुवात भएको छ’ उनले भने ।


धनगढी चौराहादेखि मोहनापुलसम्म धनगढी उपमहानगरले वृक्षारोपण गरेर ‘हरित धनगढी’ बनाउने अभियानको सुरुवात भएको छ । उपमहानगरले सफा र हरित नगरको परिकल्पना गर्दै वार्षिक एक हजारको संख्यामा वृक्षारोपण गरेर रोपिएका विरुवाको संरक्षण गर्ने दायित्व समेत लिने गरी ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ महाअभियान नै सञ्चालन गरेको हो । धनगढीलाई हरित सफा नगरको नीति उपमहानगरले लिएको नगरप्रमुख गोपाल हमालले बताए ।

‘हाम्रो धनगढी हामी बनाउँछौँ’ महाअभियान अन्तर्गत धनगढीमा वृक्षारोपण र सरसफाईमा उपमहानगरवासीको उल्लेख्य सहभागिता जुट्दै गएको छ’ उनले भने, ‘धनगढी चौराहादेखि मोहना एरपोर्टसम्म धनगढी उपमहानगरकै समन्वयमा भाटभटेनी सुपर स्टोरले विभिन्न प्रजातिका सुगन्धित विरुवा रोपेर हुर्काउने काम भइरहेको छ ।’ 

प्रतिक्रिया