तरकारीले उचित मूल्य नपाएपछि किसान चिन्तित

माैलिक संवाददाता 2140+ समाचार ( )
२९ फाल्गुन २०७९, सोमबार

सुर्खेत । सुर्खेत वीरेन्द्रनगर १३ मा रहेको इन्द्रपुर गाउँका किसानले उत्पादन गरेको तरकारीले उचित मूल्य नपाएको भन्दै लागत मूल्य नउठ्ने चिन्ता गरेका छन्।

बजारमा भारतीय तरकारी सस्तो हुँदा आफूहरुले उचित मूल्य पाउन नसकेको उनीहरुको गुनासो छ। सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न नसकेको किसानले गुनासो गरेका हुन्। सुर्खेत वीरेन्द्रनगरमा मात्रै दैनिक १२ लाखभन्दा धेरैको तरकारी भित्रिने गरेको तथ्याङ्क छ। स्वदेशको उत्पादनले भने मूल्य पाउन नसकेको हो।

वीरेन्द्रनगर बजारदेखि करिब सात किलोमिटरको दुरीमा रहेको यो गाउँमा गत वर्ष कृषि उत्पादनले राम्रो मूल्य पाउँदा करिब एक करोडको कारोबार गरेको थियो। यो पटक भने कृषकको उत्पादनले उचित मूल्य पाउन नसकेको कृषक नरबहादुर शाहीले बताए। उनले तरकारीको उत्पादन लागत उठ्न नसक्ने चिन्ता रहेको बताए।

“हामी तरकारी खेती व्यवसाय गर्न थालेको लामो समय भइसक्यो”, उनले भने, “गत वर्ष तरकारीको मूल्य राम्रो हुँदा उत्साहित थियौँ, तर यो वर्ष भने सस्तो दरमा बिक्री गर्न बाध्य हुँदा लगानी नउठ्ला जस्तो छ।”

कृषकले बारीमा फूलगोभी, बन्दालगायत तरकारी उत्पादन राम्रो भएको भन्दै विगतका वर्षमा बारीबाटै ३० रुपैयाँ मूल्यमा बिक्री हुने तरकारी यो वर्ष १३ रुपैयाँमा बेच्न बाध्य भएको अर्का किसान दिलसरा मन्दिरको भनाइ छ।

“हाम्रो तरकारी अहिले सस्तो भाउमा बिक्री गरिरहेका छौँ”, शाहीले भन्नुभयो, “सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुको साटो वास्था नै गर्दैन ।” उनले आफूहरुको प्रमुख आम्दानीको स्रोत कृषि भए पनि मूल्य नपाउँदा घरको आर्थिक अवस्था धान्न नसक्ने अवस्थामा पुगेको दुखेसो गरे।

यो गाउँका कृषक १२ वर्षदेखि व्यवसायी तरकारी खेती गर्दै आएका छन्। भारतीय तरकारीले सहजै मूल्य पाउने तर स्वदेशी कृषकको तरकारीले मूल्य बारीमै खेर जाने अवस्था रहेको र खेती गर्न छोड्नुपर्ने अवस्थामा पुगेको कृषकको भनाइ छ।

दुई सय घरधुरी रहेको इन्द्रपुर गाउँका ५० कृषकले व्यावसायिक रुपमा खेती गर्दै आएका छन्। करिब ५० बिघा खेतीयोग्य जमिनमध्ये १७ बिघा जमिनमा कृषकले छुट्टाछुट्टै रुपमा तरकारी खेती गरिरहेका छन् । प्रदेश सरकारले पनि व्यावसायिक रुपमा खेती गर्ने किसानको लागि सिँचाइ कुलो निर्माणदेखि विभिन्न अनुदान दिने गरेको छ।

प्रदेशको कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले कृषकको तरकारी नै बिक्री नभएको भन्ने नभई बजार मूल्य नपाएको सत्य भएको बताए।

उनले भने, “उहाँहरुको तरकारी बिक्री नभएको होइन, हामीले बजारसम्म उत्पादित कृषि वस्तु ल्याउनुलाई रिक्सा पनि उपलब्ध गराएका छौँ। तर तरकारीले उचित मूल्य नपाएको भने सत्य हो, यसमा सरकारले सोचेर योजना बनाउनुपर्छ।”

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार