पैसाले कुरुप बनाएको हाम्रो समाज

माैलिक संवाददाता 733+ समाचार ( )
२५ श्रावण २०७९

धेरैलाई पैसा सबैथोक हो । थोरैलाई केही होइन । पैसा भन्नाले रुपैयाँ, डलर, युरो आदि मात्र होइनन् । धन, सम्पत्ति, हीरा, मोती, जग्गा, जमिनजस्ता वस्तु पनि हुन् । किनभने यिनीहरु पैसामा सजिलै परिवर्तन गर्न सकिन्छन् ।

जुन व्यक्ति यी चिजबाट सम्पन्न भएका हुन्छन्, उनीहरुलाई धनी भनेर चिनिएका हुन्छन् । अहिलेको समाजमा यिनै व्यक्तिहरूको इज्जत, प्रतिष्ठा भएको पाइन्छ । यस अर्थमा धन, सम्पत्तिलाई अति नै उच्च मान्यता दिइएको पाइन्छ ।

अर्कोतर्फ धन, सम्पत्ति केही पनि होइन भन्ने विचार पनि छ । धन भनेको क्षणिक आनन्दका लागि मात्र हुन सक्दछ । यो सधँै रहिरहन सक्दैन । किनभने, चलायमान वस्तुको एकै ठाउँमा स्थिरता हुन सक्दैन । यसको विशेषता भन्नु नै चलायमान हो । छिटो र तुरुन्त चलायमान हुनसक्ने भएकाले नै आज कसैको हातमा भएको सम्पत्ति भोलि उसको हातमा नहुन सक्दछ । अरुकै हातमा जान सक्दछ ।

त्यसैले महलका मान्छे सडकमा पुग्न सक्दछन् र सडकका मान्छे महलमा । कसैको हातमा करोडौंको सम्पत्ति छ र यदि उसका सन्तान बदमास भइदिए भने त्यो सम्पत्ति २–४ महिनामा नै सखाप हुन सक्दछ । आज छ भोलि हुँदैन । भौतिक सम्पत्ति भन्नु नै चलायमान हुनु हो र नासबान पनि ।

पैसा केही होइन भन्ने विचारले मानिसमा भएका अन्तर्निहित गुणहरूलाई महत्व दिएको हुन्छ । मानिस विवेकशील प्राणी भएको हुँदा उसले जन्म र मृत्युको अर्थ बुझ्न सक्दछ । जन्मदा नै मृत्यु लिएर आउने हुँदा किन पैसा जम्मा गर्ने ? त्यो पैसा पनि मृत्युसँगै लान नमिल्ने भएकाले व्यर्थमा पैसा पैसा भनी चिच्याइरहनुको कुनै औचित्य नहुने कुरा उसले बुझेको हुन्छ ।

यस्ता व्यक्तिहरू परिश्रम गरेर मेहेनतबाट सम्पति आयआर्जन गरेका हुन्छन् । बदमासी गर्ने विचारै हुँदैन । ज्ञान, विवेक र बुद्धिमा आफूलाई ढाल्ने काम गरेका हुन्छन् । सम्पत्ति आर्जन गर्नै पर्दछ भन्ने उनीहरुमा विचारै हुँदैन । आफ्नो परिश्रममा विश्वास गरेका हुन्छन् । अरुको सम्पत्तिमा पटक्कै मन लगाउँदैनन् । आफ्ना हात चलाएर र खुट्टा अघि बढाएर बाँच्न जानेका हुन्छन् ।

अहिले पैसा नै सबै थोक हो भन्नेहरु बढ्दै गएका छन् । जसरी भए पनि उनीहरुलाई पैसा नै चाहिएको छ । अनैतिक र अपराधी काम गरेर भए पनि । भ्रष्टाचार चोरी, डकैती, छलकपट, फट्याँइ जे–जस्तो गरेर भए पनि धनी नै बन्नु छ । त्यसै कारणले गर्दा अहिलेको हाम्रो समाज बेइमानी, अनैतिक र अपराधीकरण बन्दैछ ।

पैसाको खोलो नबगाउने हो भने निर्वाचन जित्न सकिँदैन । निर्वाचनमा खर्च भएको रकम जसरी भए पनि असुल्नै पर्छ । नत्र भने घाटाको व्यापार हुन्छ । राजनीति सेवाको भावनाभन्दा व्यापारमुखी बन्न गएको छ । राजनीति कस्तो हुँदै गएको छ भन्ने कुरा घामजस्तै छर्लङ्ग देखिएकै छ । अपवादमा बाहेक सबैमा कुनै न कुनै खोट भएकै छन् । त्यसैले नेता, कार्यकर्ता धनी हुने प्रतिस्पर्धा बढ्दै गएको छ ।

निश्चयनै मानिसलाई पैसा चाहिन्छ । धन, सम्पत्ति, गरगहना आदि अमूल्य वस्तु पनि चाहिएकै हुन्छन् । यी वस्तुको संग्रह गर्न सकिएन भने समाजले पत्याउँदैन । व्यक्ति जति नै बुद्धि विवेकले भरिपूर्ण भए पनि सम्पत्तिको अभावमा ऊ निमुखो हुनु पर्दछ । उसको बोली बिक्दैन । उसले राम्रा कुरा भने पनि कसैलाई विश्वास हुँदैन ।

कुनै व्यक्ति धन, सम्पत्तिले सम्पन्न छ भने उसले भनेका कुरा सबैले मानेका हुन्छन् र विश्वास गरेका हुन्छन् । कोही झुत्रेझाम्रे छ भने उसले जति पढेलेखेको, जाने–बुझेको र ज्ञानी भए पनि उसको ज्ञानको कुनै अर्थ हुँदैन । समाजमा आफ्नो अस्तित्व कायम गर्न पनि मानिस धनी हुनैपर्ने अवस्था देखिएको छ ।

पसिना बेचेर, परिश्रम गरेर मानिस धनी हुन चाहेको हुँदैन । यसरी आयआर्जन गरेर धनी हुन धेरै समय लाग्ने हुँदा यस्ता कामप्रति उसको ध्यान गएको हुँदोरहेनछ । त्यसैले छिटो–छिटो सम्पन्न हुने उपायहरु खोज्दो पनि रहेछ । यस्ता उपायहरुमा चोरी, डकैती, छलकपट, अनियमित कार्य, भ्रष्टाचारजस्ता कार्यहरु गर्दोरहेछ ।

किनकि, यस्ता कार्यहरुले तुरुन्त प्रतिफल दिनसक्दा रहेछन् । अर्थात् छिट्टै धनी भएर समाजमा गनिने हुँदा रहेछन् । यस्ता व्यक्तिहरुको कारणबाट समाजका अन्य पात्रहरु पनि उत्प्रेरित हुँदारहेछन् र त्यसैतर्फ लाग्दा पनि रहेछन् । त्यसले गर्दा अहिले हाम्रो समाज पनि त्यतैतिर ढल्कँदै गएको देखिन्छ र धन, सम्पत्ति नै सबैको लागि केन्द्रविन्दु हुन गएको छ ।

पैसा अथवा धनसम्पत्ति यस्तो वस्तु रहेछ सानो बच्चाले पनि पैसा नै खोजेको हुन्छ । पैसा भएन भने केही चिज खान पाइँदैन भन्ने भावना विकसित भएको हुन्छ । कुनै बच्चाले १–२ रुपैयाँ पायो भने चकलेट किन्न पर्छ भनेर खुब जतनकासाथ राखेको हुन्छ । पैसा पाउनासाथ चकलेट किन्न दगुरीहाल्छ । यदि, जान पाएन भने झगडा गरिहाल्छ । त्यतिले नपुगे रोइदिन्छ । यसरी एउटा सानो बच्चाले पनि पैसाको महत्व बुझेको हुन्छ ।

मानिस जति ठूलो हुँदै जान्छ उसका चाहना पनि बढ्दै गएका हुन्छन् । चाहना बढ्नु भनेको उसका आवश्यकता बढ्दै जानु हो । मानव जीवनमा आवश्यकता असीमित हुनु कुनै ठूलो कुरा हुँदै होइन ।

पहिले–पहिलेका मानिसमा ज्ञान तथा सीपको कमीको कारणले गर्दा आवश्यकता ज्यादै कम थिए । आफ्नो आवश्यकता आफैँ परिपूर्ति गर्थे र जीवन जहिले पनि सरल रेखामा चलेको हुन्थ्यो । तर, अहिले अवस्था त्यस्तो छैन । जीवन धेरै जटिल बन्दै गएको छ ।

जीवनलाई सरल रेखामा लैजान कसैले पनि चाहेको हुँदैन । जे–जसरी भए पनि अकूत सम्पत्ति कमाएर समाजमा ऐसआराम र ठाँटकासाथ बस्न चाहेकै हुन्छ । यसरी जीवनशैलीमा परिवर्तन ल्याउन सामान्य परिश्रम गरेर सम्भव नहुने हुँदा धन कमाउन नराम्रा कार्यप्रति लागेको हुन्छ । यस किसिमको प्रवृत्तिलाई निरुत्साहित गर्न बेलैमा अभिभावकहरूले आफ्ना नानीहरूलाई असल मार्गतिर लगाउनु पर्दछ ।

धनी हुन चाहने प्रवृत्ति सानो बच्चादेखि नै पलाएर आउँदोरहेछ । कुनै बच्चाको उसका खेलौना प्रशस्त हुँदाहुँदै पनि उसलाई अरुको खेलौना मन परेको हुन्छ । सुरुमा मागेको हुन्छ । माग्दा नपाएमा खोस्ने प्रयास गरेको हुन्छ । यतिले मात्र नभए ऊ रोइदिन्छ । यसरी जे–जसरी भए पनि अरुको खेलौना हात पारेकै हुन्छ । हो, अहिले हाम्रो समाजमा यस्तै प्रवृत्तिको विकास भएको छ । जसरी भए पनि सबैलाई धनी हुनैपरेको छ ।

कति पैसा भए पुग्छ त धनी हुन मानिसलाई ? यो प्रश्नको जवाफ दिन पनि त्यति सजिलो छैन । सधैँ अनुत्तरित । विभिन्न अध्ययनहरूले विभिन्न देशहरूमा बस्ने मानिसलाई फरक–फरक पैसाको आवश्यकता पर्छ भन्ने देखाएका छन् । अमेरिकामा बस्नेका लागि त्यहाँको जीवनस्तर, महँगी र सामान्य जीवनयापन गर्न जति पैसा आवश्यक पर्दछ अफ्रिकामा बस्ने मानिसका लागि त्यति आवश्यक पर्दैन ।

त्यस्तै अन्य मुलुकमा बस्नेको लागि पनि धेरै–थोरै फरक हुने गर्दछ । गाउँमा बस्ने र सहरमा बस्नेको लागि पनि पैसाको मात्रा फरक हुन्छ । गाउँमा बस्नेका लागि थोरै भए पनि पुग्छ । तर, सहरमा बस्नेका लागि जीउनसम्म पनि धेरै नै चाहिन्छ । त्यसकारण मानिसलाई जीवन निर्वाह गर्न कति पैसा आवश्यक पर्छ भन्ने सम्बन्धमा यति नै आवश्यक हुन्छ भन्न सकिँदोरहेनछ । ठाउँअनुसार फरक हुने गर्दछ ।

धनी हुन चाहने प्रवृत्ति सहरबजारमा मात्र होइन, गाउँघरतिर पनि बढिरहेको छ । त्यहाँ पनि अनैतिक गतिविधि बढ्दै गएका छन् । मानिसले मानिसलाई गर्ने व्यवहार परिवर्तन हुँदै गएको छ । सम्पत्ति आर्जन गर्न जुनसुकै काम गर्न पनि तयार हुन्छन् ।

आफू सम्पन्न हुनको लागि अरुलाई जतिसुकै दुःख पनि दिएका हुन्छन् । जालझेल, छलकपट गरेर पनि पैसा कमाउ नै पर्दछ उनीहरुलाई । जग्गाको साँधकिल्ला मिचेर, कुलोपैनी मासेर, अरुको सम्पत्ति हडपेर, दाजुभाइलाई ढाँटछल गरेर पनि पैसा कमाउन परेकै छ ।

हत्या, हिंसा, अपहरणजस्ता अमानवीय कार्य गरेर पनि मानिस धनी भएकै छन् । बिचौलिया, दलाली, स्मग्लरजस्ता काम पनि मानिसले गरेकै छन् । यी सबै काम पैसा सबै थोक हो भनेर नै गरेका देखिन्छन् ।

बुझ्नुपर्ने कुरा के रहेछ भने जे–जसरी जतिसुकै पैसा कमाए पनि मानिस कहिले पनि धनी हुन सक्दोरहेनछ । यति कमाएपछि मानिस धनी हुन्छ भन्ने कुनै सीमा निर्धारण भए पो धनी भन्न सकिन्थ्यो ।

कहिले पनि शिखरमा पुग्न नसकिने, कहिले पनि धनी हुन नसक्ने भएपछि किन मानिसले धनी बन्ने तृष्णा लिइरहने ? अहँ, यस्तो धनी हुने तृष्णा र असम्भव कुरामा लाग्दै नलाग्नु नै बेस हुनेछ ।

मैले केटाकेटीमा धनी हुने चाहना किङ मिदास भन्ने कथामा पढेको थिएँ । त्यस कथामा राजा भएर पनि उनीलाई धन सम्पत्तिले पुगेनछ । उनलाई धनी बन्ने तृष्णा बढ्दै गएछ । अनि उनले तपस्या गरेर जे छोए पनि पैसा भइदियोस् भन्ने बर मागेछन् र भगवान्ले पनि तथास्तु भनेछन् । त्यसपछि राजा ज्यादै खुसी भएछन् । किनकि, उनले जे छोयो त्यही सुन भएको थियो । पछि उनको खानेकुरा पनि सबै सुन भएको हुँदा केही कुरा खानै पाएनन् ।

अब खान केही नपाइने भयो भनेर निरास भएछन् र मरिने भइयो भनेर चिन्ता पनि लागेछ उनीलाई । यसरी सम्पत्ति हुँदैमा सबै ठीक भन्न पनि सकिँदोरहेनछ । त्यही सम्पत्तिले मानिसलाई क्षति गर्दोरहेछ ।

जसरी राजा मिदासलाई क्षति पुर्यायो । त्यसैले बाँच्नका लागि पैसा केही हो, तर अकूत सम्पत्ति कमाएर के गर्नु ? मृत्युपश्चातसँगै लान सकिँदोरहेनछ । यसकारण पैसा केही हो केही होइन ।

प्रतिक्रिया