कैलाली बाढी : सडकमा बसेका गर्भवती र सुत्केरीको बिचल्ली

रासस 3+ समाचार ( )
३ अशोज २०७९

टीकापुर  कैलालीमा बाढीपछि सयौं परिवार थातथलोबाट विस्थापित भएका छन् । ती परिवार सडक, उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । 

यसरी आश्रय लिएर बसिरहेकामध्ये गर्भवती तथा सुत्केरीलाई समस्या भइरहेको छ । जिल्लाको भजनीस्थित हुलाकी सडकमा दुई वर्षमुनिका बालबालिका पनि छन् । सडकमा बसेका उनीहरु राम्ररी सुत्नसमेत पाएका छैनन्। बालबालिका र आमाहरुलाई थप समस्या भएको छ ।

भजनीकी मनिषा धमालाको बच्चा अहिले सात महिनाको छ । उनको घर बाढीले डुबेपछि बच्चा बोकेर ज्यान जोगाउन हुलाकी सडकमा आइन् । बाढीले घर डुब्न थालेपछि एकसरो लुगामा बच्चा बोकेर भागेकी उनलाई सडकमा बच्चा स्याहार्न समस्या भएको छ ।

‘आफ्नो दूधसँगै घरमा पटक–पटक जाउलो, लिटो र थप खानेकुरा खुवाउँथे, यहाँ त आफैं भोकै छु’, उनले भनिन्, ‘पेटभरि पानी खान पनि पाइएको छैन । गर्मी तथा वातावरण नमिलेर बच्चाले रोएर सताएको छ ।’


दीपा सुनार र उनको एक वर्षको बच्चाको पनि दुई दिनदेखि सडकमै बास छ । ‘घरमा थप खानेकुरा खान्थ्यो, यहाँ त केही पाएको छैन, बच्चा रातभर रोएको छ’, उनले भनिन्, ‘यहाँ सडकमा आमाले त खान पाएका छैनौँ, बच्चाको बारेमा कसले सोच्छ । बच्चालाई तयारी लिटो कसैले सहयोग गरेको भए पनि हुन्थ्यो ।’

अञ्जली विक बाढी घरमा पसेपछि भिज्दै सडकसम्म आइन् । भिज्दै आएकाले होला उनको नौ महिनाको बच्चा बिरामी भइसकेको छ। उनको बच्चालाई रुघाखोकी सुरु भएको छ। ‘घाँटीसम्म पुग्ने पानी भएपछि भाग्यौं, बच्चा भिजेर निथ्रुक्कै भएको थियो’, उनले भनिन्, ‘लौ न सरकार भएको महसुस गराइदिनुपर्‍यो । हामी त बर्बाद भयौं ।’

भजनीको सोनाहाफाटा खल्लाटोलकी सानु पाण्डेको दुई वर्षको बच्चा छ । घरमा छिन–छिनमा खानेकुरा खाने सानुको बच्चाले शनिबार बिहानदेखि चाउचाउ र चिउरामात्रै खान पाएको छ । ‘हामी त दुःखसुख सहन सक्छौं, बच्चाले सहन सकेको छैन, घर जाउ भन्छ, घर बाढीमा डुबेको छ’, उनले भनिन्, ‘लुगा पनि सबै भिजेका छन्, अझै पानी रोकिएको छैन । घरमा के–के बग्यो थाहा छैन ।’

भजनी नगरपालिकाका स्वास्थ्य संयोजक कैलाश चौधरी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या नहोस् भनी स्वास्थ्यकर्मी सडकमै खटिसकेका जानकारी दिए । ‘हामी बाढीमा भिजेकामा ज्वरो, रुघाखोकी र पखालाजस्ता समस्या भए भन्ने खबरपछि हुलाकी सडकमै सेवा दिइरहेका छौं, स्वास्थ्य चेकजाँच र औषधि वितरण भइरहेको छ’, उनले भने, ‘यहाँ आएपछि गर्भवती, सुत्केरी र साना बच्चा पनि रहेछन्, उहाँहरुका लागि केही गर्न सकिएको छैन । अब हामी पोषणमासमेत ध्यान दिन्छौं ।’

हरेक विपद् तथा महामारीका समयमा अन्य मानिसभन्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक बढी समस्यामा पर्छन् । यस्तो बेलामा उनीहरुका समस्यामा बढी संवेदनशील हुन आवश्यक हुन्छ। महिला अधिकारकर्मी निर्मला कडायत विपद्का समयमा राहत तथा सहयोगका कार्यक्रम ल्याउँदा महिला तथा बालबालिकाका विशेष समस्याबारे जानकार हुन आवश्यक हुने बताउँछिन् ।

प्रतिक्रिया