पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा मन्त्री कुँवर

माैलिक संवाददाता 733+ समाचार ( )
३ अशोज २०७९

अछाम। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री कुँवरको टोलीले तुर्माखाँद गाउँपालिका –५ नाडा, कमलबजार नगरपालिका –६ वीरपथ र वडा ८ डुँगालाका मृतक र घाइतेका आफन्त घटनास्थलमै पुगेर निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा मन्त्री कुँवरले मृतकका परिवारलाई प्रतिव्यक्ति १० हजार रुपैयाँसमेत गरेका हुन् । 

यस्तै, जिल्ला विपद् व्यवस्थापन समितिले मृतकका आफन्तलाई प्रतिपरिवार एक लाख रुपैयाँ राहतस्वरुप वितरण गरिएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए । मन्त्री कुँवरले पहिरोबाट पीडित क्षेत्रका बासिन्दाका लागि आवश्यक त्रिपाल, कम्बल समेत वितरण गरेका छन । पीडित पक्षसँगको भेटका क्रममा मन्त्री कुँवरले सरकारले खाद्यान्न लगायत अन्य सहयोग गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री कुँवरसँगै सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना राज्यमन्त्री बलबहादुर सोडारीले पनि पहिरोमा पुरिएर मृत्यु भएका स्थानको निरीक्षण गरे । गत शुक्रबार राति घरमाथिबाट आएको पहिरोमा परेर अछामका तीन स्थानीय तहका चार स्थानमा घर भत्किँदा २२ जनाको मृत्यु भएको थियो । 

तुर्माखाँद गाउँपालिका –५ नाडामा दुई घरका नौ जना, कमलबजार नगरपालिका –६ वीरपथमा सात जना र वडा नम्बर ८ डुँगालामा पाँच जनाको घरभित्रै पुरिएर मृत्यु भएको थियो । 

त्यस्तै, पहिरोले नौ जनाको ज्यान लिएको तुर्माखाँद गाउँपालिका –५ नाडाको काँडाकोटका २० घरपरिवार विस्थापित भएका छन् । पहिरो आएर घर पुरिने डरले आधा घण्टा दूरीमा रहेको कालिकेश्वरी माविमा २० घरका सदस्यहरूलाई सारिएको स्थानीय नरेशकुमार शाहीले जानकारी दिए ।

पहिरोको जोखिममा रहेको परिवारलाई सारिएर खाद्यान्न लगायतका सामग्रीको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय, अछामका प्रशासकीय अधिकृत मिनराज आचार्यले बताए । पीडित क्षेत्रमा स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी लगायत संस्थाले समेत सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया