धनगढी । आज देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ । चारवटा प्रदेशसहित पहाडी भू-भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पहाडी भू-भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र देशका बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा सामान्य बदली हुने जनाएको छ । गण्डकी, वाग्मती र कोसी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र देशका बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।