आयुर्वेद : एक विश्लेषण

माैलिक संवाददाता 2140+ समाचार ( )
५ पौष २०७९, मङ्गलबार

मोहन प्रसाद सापकोटा

कश्यप संहिता प्राचीन आयुर्वेद ग्रन्थ हो । हुन त यो प्राचीन ग्रन्थ पूर्ण छैन तर जेजति पाइएको छ त्यो अनुपम छ । कश्यप ऋषिको चिकित्सा ज्ञानका बारेमा केही कुरा गर्नुअघि उनको महत्ता केलाउनुपर्ने हुन्छ । जेजति जीव पृथ्वीमा छन् ती सबै कश्यपका सन्तान हुन् । उनीसँग कुनै पनि रोगको अचूक औषधि थियो । तक्षक नाग (आगो उकल्ने अति शक्तिशाली र अती विषालु सर्प विशेष) ले डढाएर कालो ठुटो बनाएको रुख र मान्छेलाई पुनः जस्ताको तस्तै बनाउन सक्थे उनी भनी पुराणहरू भन्दछन् । राजा परीक्षितसँग सम्बन्धित कथामा यी प्रसंग धेरै पुराणहरूमा उल्लेख भएका पाइन्छन् । पैसाको अभाव भई तक्षक नागले राजालाई मार्दैछ रे भन्ने कुरा सुनी उनलाई जोगाउन र पैसा कमाउन हिँडेका कश्यप तक्षकबाटै पैसा लिई बाटैबाट फर्केका थिए । उनको यो गल्तीले गर्दा राजाको मृत्युपछि उनलाई समाजले तिरस्कार गरेको थियो । जब उनले यो कुरा थाहा पाए तब प्रायश्चित र आत्मालोचना गर्दै उनले वैद्य–ज्ञानमा अझ निखारता लेराएका थिए ।

आफूले भोगेको यही अनुभवका आधारमा कश्यप संहिताका चिकित्सकमा हुनुपर्ने गुण बताउँदै उनले लेखे ‘चिकित्सकमा अर्थ र धर्म दुबैप्रति समान लगाव हुनु अनिवार्य हुन्छ ।’ उता यही प्रसंगमा स्कन्द पुराण भन्दछ, ‘जो समर्थ भएर पनि रिसले, कामान्ध भएर, डराएर वा लोभले विष, रोग आदिले पीडित व्यक्तिको रक्षा गर्दैन त्यो ब्रह्मघाती हो । अरू पापको प्रायश्चित हुन्छ तर यस्तो पापको हुँदैन । यस्ता चिकित्सक वा वैद्यलाई समाजले बहिष्कार गर्नु वा गर्दछन् ।’

उनी आफ्नो संहितामा लेख्दछन्, योग्य गुरुबाट शिक्षा प्राप्त गरेको (सुतीर्थ), न्यायपूर्वक वा पवित्रतापूर्वक (छलछाम नगरी वा नचोरी) बौद्धिक वा ऋषिहरूबाटज्ञान प्राप्त गरेको, विज्ञानवान्, अनेकपटक चिकित्साकर्म गरेको देखेको, सफल वा सिद्धयोगका बारेमा जानकार, चलाख, नम्र एवं भलाद्मी, पवित्र, उत्ताउलो भेषभूषा नभएको, सबै प्राणीप्रति दया गर्ने, हात बसेको वा अनुभवी, धर्म र धन दुबैका लागि रोगीलाई उपचार गर्ने, सत्यनिष्ठ, दयालु, दानी, सरल, देवता–ब्राह्मण–गुरु तथा महात्माको सेवा र पूजा गर्न मन गर्ने, अनवरत र टिक्ने खालको निरोगितामा प्रवीण, गुरु र वृद्धजनको सेवा गर्ने, न्यायशील, डर–लोभ–मोह–रिस–असत्य–चुकलीखोर नभएको, मद्यपानको आदत नभएको, सुन्दर अनुहार भएको तथा कुनै पनि खालका गलत आदत ९दुव्र्यसन० नभएको–यस्तो वैद्य वा चिकित्सक श्रेष्ठ र यशस्वी हुन्छ ।


शरीर एवं आहारविहार

आफू बसेको भूगोलमा प्राकृतिक किसिमले जे जस्ता खान हुने कुरा उत्पन्न हुन्छन् त्यस्ता खाने कुरालाई प्राकृतिक सात्म्य खानेकुरा भनिन्छ । आफू बसेको भूगोलअनुसार शरीरले गर्ने बाहिरी क्रियाकलापलाई सात्म्य–विहार भनिन्छ । भूगोल तथा बिहान, दिउँसो, बेलुका आदि समय अनि ऋतुअनुसार गरिने प्राकृतिक खानपिन र शारीरिक क्रियाकलाप सामान्यतः शरीरले सहने गर्दछ । शरीरले सहने खालका खानपिन र विहारलाई सात्म्य भनिन्छ । शरीरले सहने भन्नुको अर्थ आँखा, नाक आदि इन्द्रीय आफूलाई र अन्य इन्द्रीयलाई असर नहुने गरी खुसी हुने अवस्था हो । जस्तैः खाना खानासाथ आनन्दसँग सुत्न मन लाग्ला तर यसलाई शरीरले सहने जस्तो देखिए पनि सात्म्य भनिन्न किनकि यसले धेरै थरी रोगहरू जन्माउने गर्दछ । सात्म्यले शरीरलाई के असर गर्दछ त? मानिसको आरोग्यता, प्रगति, सन्तुष्टि, इन्द्रीयमा हुने भित्री प्रसन्नता, स्वरमा आउने उत्कृष्टता, शरीरको वर्णमा हुने उत्तमता, वीर्य एवं रजमा हुने श्रेष्ठता, दिमागको ग्रहण गर्ने क्षमता र सहवासकाल आदि समयमा हुने अलौकिक आनन्द आदि भाव उसले भोग गर्ने सात्म्य आहारविहारमा भर पर्दछ ।

यसैले उपलब्ध हुन्छ भन्दैमा पेट भर्नका लागि मात्र काम लाग्ने बेमौसमी कुरा, भूगोललाई नसुहाउने कुरा, समयलाई नसुहाउने कुरा, ऋतुलाई नसुहाउने कुरा खानपिन गर्र्ने बानी नबसाल्नुहोस् । आफूविरुद्ध नजाँदासम्म आफ्ना सन्तानलाई पाल्ने जिम्मा पृथ्वीले लिएकी हुन्छिन् । यसैले उपभोग गर्दा उनले समयअनुसार दिने उपहारलाई उपेक्षा नगर्नुहोस् । मानिसमा जेजस्ता अप्राकृतिक परिवर्तन देखिन्छन् त्यसको प्रमुख कारण भनेकै उसले गर्ने आहारविहारमा हुने परिवर्तन हो । इन्द्रीयको दास बनेर शरीरलाई सात्म्य नहुने कुरा जतिसुकै मिठो भए पनि खाने आदत नबसाउनुहोस् । तपाईंले खाने आहार र गर्ने विहार अनुसारकै वीर्य र रज बन्दछ अनि त्यही वीर्य र रजको सम्मश्रणबाट सन्तान जन्मन्छन् । यसैले सन्तानको कुनै दुर्गुण देखिँदा तिनलाई गाली गर्नुअघि आफूले गर्ने गरेका आहारविहारका बारेमा सोच्ने गर्नुहोस् । कागती गेडा रोपेर उम्रिएको बोटमा सुन्तला कहिल्यै फल्दैन ।

मलमूत्र त्याग र वास्तु

विज्ञानले गरेका हरेक प्रगति (?) सबै हाम्रा शास्त्रमा छन् भनेर प्रमाण नपाउँदासम्म गफ दिन सुहाउँदैन । सधैँ एकैठाउँमा वा शौचालयमा दिसापिसाब गर्ने व्यवस्था भएको शास्त्रीय प्रमाण अहिलेसम्म मैले पाएको छैन । सकेसम्म अरूलाई असर नगर्ने गरी टाउकामा कुनै न कुनै कपडाले बेरेर वासस्थानभन्दा टाढा गई खुल्ला स्थानमा मलमूत्र त्याग गर्नू, गन्ध र असर नहराउँदासम्म माटोपानी दलेर हात, गोडा र गुप्तांगहरू धुनू आदिजस्ता विभिन्न कुराहरू भने उल्लेख भएका छन् । शास्त्रका यी र यस्तै कुरालाई आधार बनाएर वास्तुशास्त्रको जन्म भएको हुन्छ । समयसापेक्ष बनाइएका आधुनिक वास्तुशास्त्रमा पनि सम्भव भएसम्म यिनै शास्त्रीय कुरालाई परिमार्जन गरी समेट्नुपर्ने हुन्छ । शौचालयकै परिकल्पना देखिएको छैन भने घरभित्र शौचालय बनाउँदा वास्तुशास्त्रले के भन्दछ त रु भनेर खोतल्नु मेरो विचारमा सही होइन । तर, यस्ता कुरामा विश्वास उत्पन्न गराउने र विश्वास गर्ने मानिसहरूको समूह पनि कम छैन ।सबै स्मृति र पुराणहरूमा दिसापिसाब गर्दा दिनमा उत्तरतिर र रातमा दक्षिणतिर फर्केर गर्नु भनिएको छ । म वशिष्ठस्मृतिबाट एक श्लोक उतार्न चाहन्छु,

उभे मूत्रपुरीषे तु दिवा कुर्यादुदङ्मुखः ।

रात्रौ कुर्याद्दक्षिणस्य एवं ह्यायुर्न हीयते ।।

अर्थात, दिनमा उत्तर र रातमा दक्षिण फर्की मलमूत्र त्याग गर्नु किनकि यसले आयु घट्दैन ।

शास्त्रका यिनै वचनलाई आधार बनाएर आधुनिक ठेकदार, वास्तुशास्त्री र इन्जिनियरले समेत घरभवन आदिभित्र शौचालय बनाउन सल्लाह दिने गरेको पाइन्छ । मेरो अनुभवले पनि यही भन्दछ ।

शास्त्रको मर्म भने फरक छ । मानिसले गर्ने दिसापिसाब जमिनमा मिली मल बनोस् र त्यसले मानव लगायतका कुनै पनि जीव र पानी, हावा आदि जस्ता कुनै पनि अन्य बाहिरी प्रकृति प्रदूषित नहोस् भन्ने अभिप्रायः शास्त्रको देखिन्छ । किनकि प्रायः सबैतिर हरेकपटक दिसापिसाब गरिसकेपछि त्यो स्थानलाई पुर्नू, त्यत्तिकै खुला छाडेर नहिँड्नू भनिएको छ । त्यसबेला उपयुक्त मानिएका र सम्भव भएका कुरा अहिले पनि उपयुक्त र सम्भव हुन्छन् भन्ने छैन । ती सही थिए वा थिएनन् समयले बताउला तर अहिले मानवले जेजसरी आफ्नो मलमार्फत नदी आदि प्रदूषित बनाइरहेको छ त्यो भने सोह्रै आना गलत छ । विज्ञानले गर्ने कुनै प्रगतिले प्रकृतिको अवहेलना भएको हुनु हुँदैन, आफैँलाई हानि गर्दछ ।

के तपाईं वास्तुशास्त्रमा विश्वास गर्नुहुन्छ ? विश्वास गर्नुहुन्छ भने, तपाईंको घरभित्र रहेको शौचालयमा कम्बोट वा प्यानको मुख कता फर्काइएको छ । के माथि बताइएको न्यूनतम शास्त्रीय मापदण्ड पूरा हुनेगरी शौचालयको निर्माण भएको छ त रु

गर्मीमा गर्मी नै र जाडोमा शीतल नै

केही विकसित देशतिर कुनै बेला घुम्दा जाडोमा पनि आइसक्रिम खाइरहेको देख्थेँ । हामीलाई खुवाइने स्थानमा वा होटलतिर पनि आइसक्रिम आदि विभिन्न चिसा कुरा प्रशस्त राखिएको पाउँदथेँ । यिनलाई पो पच्छ र खान्छन्, आफूलाई त अहिले नै घाँटी समाउँछ भन्ठान्दथेँ र ताता कुरातिर बल गर्दथेँ ।

अहिले आएर आयुर्वेदबाट केही सिकिरहेछु । अहिले मैले पढिरहेका कुरा तिनले धेरै पहिले नै पढिसकेका छन् र आआफ्ना भाषामा ढालेका छन् । त्यसैले सबैले आयुर्वेदकै नाम लिएर केही पढ्न तिनलाई जरुरी छैन । आयुर्वेदले गर्मीमा गर्मी नै गर्ने र जाडोमा शीतल नै गर्ने कुरा खान जोड दिएको पाइन्छ । अप्राकृतिक पेय पदार्थ त उत्पादक कम्पनी र त्यो ब्यापारसँग जोडिएकाले बाहेक अरू कसैले पनि पिउन सल्लाह दिँदैनन् । आदत बसेको छ हामी खान्छौँ । न स्वास्थलाई लाभ गर्ने पेय पदार्थ बनाउने साधन घरमा हुन्छ न त त्यस्ता सामान ढुक्क भएर किन्न नै पाइन्छ । यसैले अरूलाई पैसा कमाउन सहयोग गर्ने खालका पेय पदार्थ नै हामी बढी पिउँदछौँ र आएका पाउनालाई पिउन लगाउँदछौँ ।

जाडो महिनामा मानिसको शरीरमा कफ र कफका विकार गढेका हुन्छन् । त्यसलाई निकाल्न वा निको पार्न गर्मी महिनामा कफ प्रतिरोधी खानामा जोड दिनुहोस् । कफ बढाउने दही, मिठाइ आदि जस्ता खाना सकेसम्म कम खानुहोस् ।

कोरोना पनि अप्रत्यक्षरूपले कफसँगै सम्बन्धित रोग रहेछ । मैले अनुवाद गरिरहेका आयुवेदसँग सम्बन्धित १६/१७ वटा पुस्तकमा यस रोगका विषयमा कतै केही उल्लेख भएको पाइएको छैन । कसैले उल्लेख भएको छ भन्दछ भने वा यो वैद्य औषधिले कोरोना निको हुन्छ भन्दछ भने त्यो नाम वा दामको व्यापार हो भन्ने मलाई लाग्दछ । तैपनि आगन्तुक कफविकार उत्पन्न गर्ने रोगका विषयमा धेरथोर यी ग्रन्थमा उल्लेख भएको पाइन्छ ।सामान्यतः घाँटीमा कफ विकार हुँदा वा सुक्खा खोकी लाग्दा परम्परागतरूपमा जेजस्ता उपचारका विधि अपनाउँदथ्यौं त्यही विधि नै कोरोनासँग लड्न उपयोगी हुन्छन् भन्ने मलाई लाग्दछ ।

खोप उपचार होइन

खोप उपचार होइन । यो त रोगका जिवाणु शरीरभित्र हुल्ने र सन्तोष लिने माध्यम मात्र हो । बाध्य छौं, बाँच्नु छ, खोप लिन्छौँ । तर कतिवटा रोगको कतिवटा खोप लिँदै जाने मानिसले ? दादुरा, पोलियो, क्षयरोग, कोरोना ‘ । कति रोगका कति जीवाणु छन् भनेर समेत मानिसले पत्ता लगाउन सक्दैन भने कतिखेर कुन रोग निस्कन्छ र फैलन्छ के थाहा ?

मर्ता क्या न कर्ता, खोप लिन बाध्य छौँ । तर शरीरलाई बढी प्रकृतिसँग नजिक राख्दै शरीरको रोगसँग लड्ने क्षमता बढाउनु वा यथास्थितिमा राख्नु नै मानव सभ्यताका लागि हितकर हुन्छ भन्ने अहिलेसम्मको आयुर्वेदको अध्ययनले मलाई सिकाएको छ । घरभित्र कोचिएर बस्न विवश मानव नरकमा छ वा पृथ्वीमा वा स्वर्गमा रु एकचोटी ब्यापारिक नभई सोच्नुहोस् र कमसे कम आफ्नै मनलाई चित्त बुझाउनुहोस् ।

आयुर्वेद र मानसिक रोग

आयुर्वेदमा रोगको विभिन्न किसिमले वर्गीकरण गरिएको छ । त्यसमध्येको एउटा वर्गीकरणमा रोगलाई मानसिक र शारीरिक रोग भनी दुई भाग गरिएको छ । इन्द्रियले गर्ने गतिविधि अर्थात यो खाने, सुन्ने, हेर्ने आदि विषयमा तोकिएका नियम पालना नगर्नाले शारीरिक रोग लाग्दछ । यसका पनि बाहिरी र भित्री गरी दुई कारण हुन्छन् । सबै कुरामा होस गर्दागर्दै पनि पेटीमा हिँडिरहेको मानिसलाई गाडीले आएर हानेजस्तै बाहिरी रोगले आएर हान्न सक्दछ ।

म मानसिक रोगका बारेमा केही मूलभूत कुराहरू

(क) मन र इन्द्रियको संयोजन गराउन सकिएन भने मानसिक रोग लाग्दछ ।

(ख) यो आन्तरिक, बाह्य, वंशानुगत र पूर्वजन्मको गरी चार किसिमको हुन्छ ।

(ग) मनलाई संयमित बनाउन योग र धर्मबाहेक अरू कुनै पनि उपायले सम्भव हुँदैन ।

(घ) शरीरमा रोग लागेर अशान्त भए त्यसको उपचार विभिन्न ओखती, चिरफार आदिबाट हुन्छ । तर, मानसिक सोचको उपचार, योग र धर्मको संयुक्त प्रयासबाट मात्र सम्भव हुन्छ ।

(ङ) वंशाणुगत र पूर्वजन्मको भागभोग बाहेकको मानसिक रोग इन्द्रिय असन्तुष्ट हुनाले नै लाग्ने गर्दछ । यस्तो मानसिक रोग योग र धर्मका माध्यमबाट ठिक गर्न सकिन्छ ।

(च) अर्थात् धर्मको जन्मको भौतिक कारण मानवलाई निरोगी बनाउनु नै रहेको हुन्छ । यसैले मन हुने हरेक मानवमा धर्म हुन्छ । मन नभएको मानिस हुँदैन त्यसैले संसारमा कोही नास्तिक पनि हुँदैन । अमुक धर्मको अन्ध समर्थन वा अन्ध विरोध वा तटस्थता वा नास्तिकता आदि जस्ता कुरा सबै ढोंग वा भ्रम मात्र हुन् ।

(छ) धर्म विश्वासमा टिकेको हुन्छ । राम्रो नराम्रो जे भए पनि यसको परिणामलाई मापन गर्न सकिन्न अनुभव मात्र गर्न सकिन्छ । किन कि कसैको मनको शान्ति वा अशान्तिलाई कहिल्यै नाप्न सकिन्न, भाव हेरेर भावमार्फत नै बुझ्नुपर्ने हुन्छ । भाव प्रमाणित गर्न सकिन्न त्यसैले भावनामा आश्रित धर्मलाई पनि प्रमाणित गर्न सकिन्न ।

(ज) संसारको कुनै पदार्थ धर्ममा टिकेको हुन्छ, यसलाई अर्को शब्दमा सत्य भनिन्छ । आश्रितले धर्म छाडे आश्रय दाताले पनि छाड्दछ । जस्तैः मानिसले धर्म छाडे पृथ्वीले पनि धर्म छाडेर मानिसलाई तह लगाउँदछ । पृथ्वीले धर्म छाडे सूर्यले पनि धर्म छोड्दछ र पृथ्वीलाई तह लगाउँदछ । यो नियम ‘आब्रस्तम्बपर्यन्त ९ब्रह्मादेखि घाँससम्म०’ ब्रह्माण्डका हरेक पदार्थ र हरेक सृष्टिमा लागू हुन्छ ।

गर्भ वृद्धिक्रम र आयुर्वेद

जीवात्मा भित्र रहेको प्राण वायुले वीजधातु (शुक्र) लाई जीवको हाडको संरचनाअनुसार विभाजन गर्दछ । शरीरमा प्रवेश गरेको बीज सुरुमा रगतले बेरिन्छ । अर्थात् जब पुरुषको शुक्राणु स्त्रीको गर्भाशयमा छिर्दछ तब त्यो शुक्राणुको चारैतिर स्त्रीको रज (आर्तव) पैलिन्छ । शुक्रबाट गर्भस्थ बालकको हाड र मासु बन्दछ । हाड र मासुबाट नसाहरूको निर्माण हुन्छ । यो गर्भावस्थाको पहिलो दुई महिनाको वर्णन हो ।

तेस्रो महिनामा गर्भका सबै इन्द्रीय र अंग क्रमानुसार एकैपटक विकसित हुन थाल्दछन् । गर्भ विस्तारै चल्न थाल्दछ । उसलाई चेतना र वेदना दुबै कुराको अनुभव हुन थाल्दछ । यो महिनामा गर्भका इन्द्रियहरू अत्यन्त सूक्ष्म हुन्छन् । तैपनि गर्भलाई सुख र दुःखको ज्ञान हुन थाल्दछ । चौथो महिनामा गर्भ स्थिर हुन्छ, कुनै उपद्रो नगर्ने बन्दछ । अनि गर्भिणीको शरीर पनि धेरै भारी हुने गर्दछ । पाँचौँ महिनामा गर्भको मासु र रगत विशेष किसिमले बढ्न थाल्दछ । यसैले पाँचौँ महिनामा गर्भिणी धेरै नै दुब्ली हुने गर्दछे ।

छैठौँ महिनामा गर्भमा बल, वर्ण र ओजको वृद्धि हुन्छ । यसैले यो महिनामा गर्भिणीलाई धेरै थकाई लाग्ने गर्दछ । सातौँ महिनामा गर्भ सबै धातु तथा अंगले पूर्ण हुन्छ तर वृद्धि हुने क्रम चलिरहन्छ । यसबेला बालक वात, पित्त तथा कफले पनि युक्त हुन्छ । यसैले यो महिनामा पनि गर्भिणी हमेशा थकित हुने गर्दछे । आठौँ महिनामा गर्भिणी र गर्भका बीचमा जोडिएका नसा एवं नलीहरूमार्फत ओज ओहोरदोहोर गरिरहन्छ । यसले गर्दा गर्भका विषयमा यो महिनामा गर्भ जीवित त छ भनेर बेलाबेलामा भ्रम भइरहने गर्दछ । यसले गर्दा यो महिनामा गर्भिणी कहिले प्रसन्न हुने त कहिले खिन्न हुने गर्दछिन् । गर्भमा अन्य खालका हलचल पनि भइरहन्छन् । यही कारणले गर्दा आठौँ महिनालाई सुत्केरी हुन उपयुक्त महिना नमानिएको हो । (ओज आमापट्टि सरेको बेलामा बच्चा जन्मिए बाँच्ने सम्भावना अत्यन्त कम हुन्छ र बाँचे पनि त्यो स्वस्थ हुँदैन) ।

नवौँ वा दशौँ महिनामा यथाक्रम गर्भको जन्म हुन्छ । पूर्वजन्ममा गरिएका कर्म तथा गर्भका बस्दा भएका सुख र दुःख जन्मेको व्यक्तिले नवीन जीवन पाएपछि वा बाहिरी संसारमा आएपछि बिर्सन्छ । (नोट : सामान्यतः अन्तिम रजस्वला भएको दिनदेखि गनी २ सय ८० दिन बितेपछि सुत्केरी हुने दिन हुन्छ । जस्तैः वैशाख १ गते अन्तिम रजस्वला भएको दिन छ भने त्यसमा सात जोडेर नौ महिनापछि अर्थात् पुस ८ गते सम्भावित सुत्केरी हुने दिन हुने गर्दछ ।)

आयुर्वेद : तर्क

धेरैतिर तक्रको नेपाली अर्थ मोही लगाइएको पाइन्छ । तर तक्रको दुई थरी अर्थ हुन्छ । पानी नमिसाई दहीलाई यसमा भएको तरसहित घोल्दा हुने पेय, दहीलाई यसमा भएको तर निकालेर मथ्दा हुने पेय, दहीलाई एकचौथाइ पानी हालेर मथ्दा हुने पेय, आधा पानी हालेर मथिएको दही र दहीलाई मथेर नौनी निकाली त्यसैमा पुनः पानी हालेर मथेको पेयलाई गरी पाँच किसिमका पेयलाई समष्टिगत रूपमा तक्र भनिन्छ । वास्तविक तक्र भनेको चाहीँ माथि उल्लिखित तेस्रो किसिमको पेय हो । अन्तिम पेयलाई भने नेपालीमा मोही भनिन्छ ।

नियमित तक्र पिउने व्यक्ति कहिल्यै बिरामी पर्दैन । तक्र पिउनाले निको भएका रोग पुनः बल्झिन सक्दैनन् । जसरी देवताका लागि सुखकारी पेय अमृत हुन्छ त्यसरी नै पृथ्वीमा बस्ने मानिसका लागि सुखकारी पेय तक्र हुन्छ भनी ऋषिहरूले बताएका छन् ।

शरीरमा वातविकार बढी भए अमिलो तक्रमा सुठो र सिधेनुन हालेर खानु हितकर हुन्छ । शरीरमा पित्तविकार बढी भए गुलियो तक्रमा चिनी हालेर खानु हितकर हुन्छ । शरीरमा कफविकार बढी भए सुठो, मरिच र पिप्ला हालेर तक्र खानु हितकर हुन्छ । फुराइएको हिङ, भुटिएको जीरा र सिधेनुनको धुलो हालिएको मोहीले वातविकार धेरै नै ठिक गर्दछ । यसले धेरै मात्रा अल्काई र अतिसारलाई पनि नाश गर्दछ ।अन्त्यमायो अहिले आयुर्वेदका कुरा जुन पुस्तकबाट अनुवाद गर्दै जानकारी दिइरहेको छु । त्यो पुस्तक हरेक दृष्टिकोणले लाभदायक पाएको छु । धेरै अनुवाद गर्न बाँकी छ । जीवनचर्या, रोग, ओखती आदिका विषयमा त यसमा गहन जानकारी दिइएका छन् नै नेपालजस्तो कृषिप्रधान देशमा उत्पादन हुने पदार्थ लामोसमयसम्म नबिग्रने गरी आसव, अरिष्ट आदि कसरी बनाउने भन्ने विधि पनि यसमा छन् ।

सडकमा आफ्ना उत्पादन फालेर होइन यसमा बताइएका विधिले भण्डारण गर्न सकिए त्यो कृषक, समाज, देश र विश्वका लागि नै फाइदाजनक हुनेछ भन्ने विश्वास छ । ज्ञान सीमित व्यक्तिमा थन्किनाले हामी हरपल परनिर्भर हुँदै गएका हौँ । हाम्रा आफ्नै कारणले रोग उत्पादन गरी जीवनको अधिकांश समय त्यही रोगको चाकडी गर्नमै बिताउन थालेका छौँ । यो र यस्ता पुस्तकले हामीलाई गल्ती सुधार्न विशेष प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार