सुदूरपश्चिममा यी हुन् मुख्यमन्त्रीका दाबेदार

माैलिक संवाददाता 2089+ समाचार ( )
१२ मंगशिर २०७९, सोमबार

धनगढी । ‘खगराज भट्ट सुदूरपश्चिम प्रदेशको आगामी मुख्यमन्त्री बन्ने सम्भावना निकै बढी छ’, गृहजिल्ला डडेलधुरामा आयोजित अधिकांश चुनावीसभामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भनेका थिए, ‘त्यसका लागि डडेलधुराको प्रदेशसभा (१) बाट खगराजजीलाई जिताएर पठाउनुहोस् ।’

देउवाले आश्वासन दिएपछि डडेलधुराका मतदाताले खगराज भट्टलाई प्रदेशसभा सदस्यमा जिताएर पठाएका छन् । योसँगै भट्ट अब सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री बन्ने चर्चा छ । 

‘अहिले सबैको ध्यान निर्वाचनको परिणामतर्फ छ’, मुख्यमन्त्रीका दाबेदार भट्ट भन्छन्, ‘सबै क्षेत्रको समानुपातिकतर्फ अन्तिम परिणाम आइसकेको छैन । अहिले नै मुख्यमन्त्री को बन्छ भनेर भन्न सकिने अवस्था छैन ।’ 

उनका अनुसार भागबन्डाबारे देशभर प्याकेजमै टुंगो लाग्ने भएकाले अहिले प्रदेश सरकार कसको नेतृत्वमा बन्नेबारे छलफल हुन बाँकी रहेको छ । दुवै संविधानसभा निर्वाचन र एउटा प्रतिनिधिसभा निर्वाचन लडेका भट्ट देउवासँग पराजित भएका थिए । यसपटक उनी मुख्यमन्त्रीको आश्वासन पाएपछि डडेलधुराको प्रदेशसभा (१) मा चुनाव लडेको चर्चा छ । 

०७४ को निर्वाचनपछि सुदूरपश्चिम प्रदेशले मात्रै स्थिर सरकार पाएको थियो । जसको नेतृत्व माओवादी केन्द्रका त्रिलोचन भट्टले गरिरहेका छन् । माओवादी केन्द्रले ५ वर्ष सरकारको नेतृत्व गरिसकेकाले अब कांग्रेसले मुख्यमन्त्री पाउनुपर्ने माग पनि उठ्न थालेको छ । 

‘सुदूरपश्चिम प्रदेशसभामा कांग्रेस पहिलो पार्टी बन्ने पक्का भइसकेको छ’, प्रदेशसभा सदस्यमा निर्वाचित कांग्रेसका एक नेताले भने, ‘सुदूरपश्चिम प्रधानमन्त्रीज्यूको गृहप्रदेश पनि हो । त्यसैले मुख्यमन्त्रीमा कांग्रेसको दाबी स्वभाविक हुन्छ ।’ 

ती नेताका अनुसार अहिलेको गठबन्धन कायम नरहे कांग्रेसले नागरिक उन्मुक्ति पार्टीसँग मिलेर सरकार बनाउने सम्भावना पनि बलियो छ । 

कांग्रेसबाट मुख्यमन्त्रीका दाबेदार अहिलेका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा र आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावल थिए । तर, दुवै मन्त्री प्रदेशसभा सदस्यको निर्वाचनमा पराजित भइसकेका छन् । अब कांग्रेसबाट बहादुर थापा, दिवानसिंह विष्ट र प्रकाश देउवा मुख्यमन्त्रीका मुख्य दाबेदारका रूपमा रहेका छन् । थापा र विष्ट कञ्चनपुर तथा देउवा कैलालीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । 

यसबाहेक अहिलेको गठबन्धन कायम रह्यो र एकीकृत समाजवादीको भागमा सरकारको नेतृत्व परे दीर्घ सोडारी मुख्यमन्त्री बन्ने सम्भावना छ । 

यस्तो छ अंकगणित

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ३२ प्रत्यक्ष र २१ समानुपातिक प्रणालीमार्फत प्रदेश सांसद चुनिँदैछन् । 

प्रत्यक्षतर्फ बाजुराका दुईबाहेक ३० क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । जसमा नेपाली कांग्रेस ११, माओवादी केन्द्र ८, नागरिक उन्मुक्ति पार्टी ५, नेकपा (एमाले)  ३, एकीकृत समाजवादी २ र स्वतन्त्र १ क्षेत्रमा विजयी भएका छन् । 

३० मध्ये २१ क्षेत्रमा अहिलेको सत्ता गठबन्धन विजयी भएको छ । समानुपातिकतर्फ मतगणना जारी रहेपनि गठबन्धनले स्पष्ट बहुमत ल्याउने पक्का छ । 

०७४ सालको निर्वाचनमा एमाले प्रत्यक्षमा १७ सिट जित्दै २५ प्रदेशसभा सदस्यसहित पहिलो पार्टी थियो । अहिले एमालेका तीन प्रदेशसभा सदस्य मात्रै यहाँ विजयी भएका छन् । त्यसको फाइदा कांग्रेसले उठाएको छ । कांग्रेसले कुनै एक पार्टीसँग मिलेर सहजै सरकार बनाउन सक्ने देखिन्छ । यद्यपि अहिलेकै गठबन्धन कायम रहे भने भागबन्डाका आधारमा सरकार बन्ने देखिन्छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार