रोजगारीका लागि पढाइ छोड्नु पर्ने बाध्यता

माैलिक संवाददाता 2089+ समाचार ( )
२८ आश्विन २०८०, बिहीबार

डडेल्धुरा । जिल्लामा रोजगारीका लागि बालबालिका पढाइ छोड्न बाध्य भएका छन् । आर्थिक अवस्था कमजोर हुँदा उनीहरु पढाइलाई भन्दा रोजगारको खोजी गर्न बाध्य छन् । कतिपय बालबालिका सानै उमेरमा बिबाह गरिदिँदा पनि पढाइ छोड्न बाध्य छन् । 

भागेश्वर गाउँपालिकामा बीचमै पढाइ छाड्नेको सङ्ख्या अत्यधिक रहेको पाइएको छ । गुणस्तरीय शिक्षाको अभाव, प्राविधिक शिक्षाको कमी, आर्थिक अवस्थाका कारण रोजगारका लागि जानुपर्ने बाध्यता र बालविवाहले गर्दा शैक्षिक सत्रको बीचमा नै कक्षा छोड्ने छात्रछात्राको सङ्ख्या बढी रहेको गाउँपालिकाले जनाएको छ । यसरी पढाइ छोड्नेमा छात्रा बढी छन् । उनीहरुका परिवारले सानो उमरेमा विवाह गरिदिने पाइएको छ । 

यो समस्या भागेश्वरको मात्रै होइन । जिल्लाका अन्य पालिकामा पनि रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । कक्षा १ देखि १० सम्म विद्यालय छाड्ने बालबालिका बढी छन् ।  कतिपय स्थानीय तहका माध्यमिक विद्यालयमा कृषि, वन विज्ञानलगायत विषयको पढाइ सुरु भए पनि उच्च शिक्षाका लागि बाहिर जानुुपर्ने बाध्यता छ । 

अजयमेरु गाउँपालिका-१ का वडाध्यक्ष दत्तिसिंह भण्डारीले भने, ‘आर्थिक अवस्था कमजोर भएका अभिभावकले आफ्ना सन्तानलाई उच्च शिक्षा दिलाउन सकिरहेका छैनन ।’ स्थानीयस्तरमै बालिबालिकाले उच्च शिक्षा हासिल गर्ने वातावरण बनाउन आवश्यक भएको उहाँको भनाइ छ । 

भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीका अनुसार भागेश्वरमा अहिलेसम्म ५।५ प्रतिशत बालबालिकाले बीचमै  पढाइ छाडेको पाइएको छ । बत्तीस विद्यालय रहेको उक्त गाउँपालिकामा आठ माध्यमिक तथा २४ आधारभूत विद्यालय छन् । 

चालु शैक्षिक सत्रमा तीन हजार पाँच सय ५१ बालबालिका विद्यालयमा भर्ना भएका छन् । करिब ५।५ प्रतिशत बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर छन् । सामाजिक सञ्जालको दुरुपयोग, भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बीचमै पढाइ छोडी रोजगारका लागि भारत जानेको सङ्ख्या अत्यधिक छ । गरिबीका कारण उच्च शिक्षा पढाउन नसक्ने र रोजगारकै लागि अभिभावकले आफुसँगै भारत लैजाने गरेका स्थानीय रमेश लुुहारले बताए । 

‘रोजगारीको ग्यारेन्टी छैन, पछि पनि रोजगारका लागि विदेशिनुपर्ने हो भन्दै सानै उमेरमा पढाइ छोड्ने चलन छ’, उनले भने, ‘छोरालाई रोजगारका लागि बाहिर पठाउने र छोरीको सानैमा विवाह गरिदिने चलन अहिले पनि व्यापक छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार