मोडलिङ पनि गर्छु तर प्राथमिकता नर्सिङ नै हो–अनु खड्का

झलक दवाडी 1+ समाचार ( )
६ माघ २०७९, शुक्रबार

धनगढी  तीन वर्ष स्टाफ नर्स पढेर पनि आफ्नो सोख पूरा गर्न मोडलिङमा अघि बढ्दै ‘रानी वन’ र ‘तु अब अर्काकी भईगइ, मेरा गाउँ जाल्ली मुइ जसी होल्ली’ जस्ता म्युजिक भिडियो र फिल्ममा अभिनय गर्न भ्याइसकेकी अनु खड्कालाई हेर्दा दुई डुङ्गामा गोडा राख्ने व्यक्ति जस्तो देखिएला तर उनको आत्मविश्वास भने हेर्न लायक छ । बुवा डम्बर खड्का र आमा मीना खड्काको पाँचौं सन्तानका रुपमा जन्मिएकी अनु पश्चिम नेपालको सुदूर कुनाबाट मोडलिङका रुपमा उदाएकी छन् । मोडलिङसँगै ठूलो पर्दामा आउँछु भन्ने कल्पना नगरेकी खड्काले ‘माया’ फिल्ममा पनि अभिनय गरेकी छन् ।

उपेन्द्र खड्काले निर्देशन गरेको उक्त फिल्म छिट्टै बजारमा आउने बताइएको छ । धनगढीमा हालै सम्पन्न सुदूरपश्चिम महोत्सवमा पनि उनले आफ्नो कला प्रस्तुत गरेकी थिइन् । अस्पतालको ड्युटी पछि पनि घरको सबै काम आफैले गर्नुपर्ने बाध्यता हाँसी हाँसी सुनाउने अनु आफूलाई फुल टाइम नर्स र पार्ट टाइम मोडल भएको बताउँछिन् ।

कैलाली अस्पताल धनगढीमा कार्यरत उनीसँग झलक दवाडीले गरेको कुराकानीको सम्पादित अंशः

तपाईं त नर्स, मोडलिङमा कसरी आकर्षित हुनुभयो त ?

त्यही त है ! तर के गर्नु ? यता पनि बिस्तारै रस बस्दैछ भन्या ! खासमा मेरो मोडलिङ बन्ने भन्ने कुरा एकदमै अनप्लान थियो । स्कुल, कलेज पढ्दाताका साथीहरूले, तिमी एकदमै राम्री छ्यौ, मोडलिङतिर ट्राई गर्दा भविष्य राम्रो हुन्छ भन्थे तर मैले ती कुरामा ध्यान दिएकी थिइनँ । सानै देखि नृत्य तिर अलि ध्यान जान्थ्यो । सायद मलाइ लाग्छ म ३ कक्षामा पढ्दा वार्षिकोत्सव कार्यक्रममा सबैको ध्यान तान्न सके । ‘छिट्को सारी मखमली चोलीलाई कस्तो लाग्यो यो गाउँकी छोरीलाई, ए भन्देउ सुटुक्क नबोली ओठले हास्देउ मुसुक्क…।’ अझै सम्झनामा छ मलाई बोकेको यो गीत । त्यही बखत गडगडाहट ताली बजेको सम्झना मानसपटलमा ताजै छ । तालीको त्यो गडगडाहटले मलाई २१ वर्ष पछाडि फर्काइदिन्छ । कुरा हिजो अस्तिको जस्तै लाग्छ । त्यसपछि बिस्तारै स्टेज तिर अवसर पाउन थाले । बेलाबेलामा बिहे, पूजामा जाँदा लगाउने राम्रो कपडामा आफैँलाई हेर्दा कतै म पनि मोडलिङ गर्न सक्छु क्यारे भन्ने लाग्थ्यो । अनि सपिङ गर्न जाँदा पनि राखिएका ड्रेस लगाएर ऐनामा हेर्दा आफू राम्री नै लाग्थ्यो (हाँस्दै) । त्यसपछि देउडा गीतमा भिडियो बनाएर पोष्ट गर्न थाले । ती भिडियोहरु टिकटकमा रुचाइन पनि थाले । नेपालमा भर्खरै कोरोना महामारी सुरु भएको थियो । टिकटककै माध्यमबाट कलाकार देवराज उपाध्याय सरसँग परिचय भयो । कुराकानीका क्रममा उहाँले मलाइ भिडियोहरु राम्रो लागेको भन्दै म्युजिक भिडियोका लागि प्रस्ताव गर्नुभयो । मोडल बन्ने सपना साँचेको म त्यो अवसरलाई गुमाउने त कुरै भएन नि । सरको त्यो प्रस्ताव स्वीकारे अनि म्युजिक भिडियो खेल्न तयार भए । अहिले रमाइलो भईरहेको छ ।

अनि यो नर्सिङ पढ्नु तपाईंको रहर कि परिवारको ?

खासमा मलाई सानैदेखि मेडिकल लाइन मन पर्थ्यो । त्यसमा पनि फ्लोरेन्स नाइँटिंगेलको जिवनिले थप उर्जा दियो । पढाइ पनि स्वास्थ्यकर्मी बन्ने उद्देश्यले नै गरिरहेकी थिएँ । ब्याचलरमा हेल्थ लिएर पढ्दै थिए । त्यसले मेरो सपना साकार होला जस्तो लागेन । म ब्याचलर बढ्दै गर्दा नर्सिङ पनि पढ्न थाले । घरबाट पनि सहयोग पाए । मेरो रहरमा घरको सहयोग मिल्यो । अनि पढे । मेरो गाउँका बिरामी आउदा म खुसी हुन्छु । अनु कहाँ छ भनेर खोजि खोजि धेरै बिरामी आउनु हुन्छ । यहि कारणले स्याटिस्फाइड छु ।

नर्सहरु काम नपाएर विदेश जान्छन्, यहाँ काम गर्ने वातावरण नपाएर हो ?

जनशक्ति बढी भयो, वातावरण नभएर नर्सहरु विदेश गइहाल्छन् नि ! फेरि अन्य विषयको पढाइलाई मान्न छाडे । बाउआमा बच्चा जन्मने बित्तिकै डाक्टर, नर्स बनाउने सपना देख्छन् । छोराछोरी पनि ठूलो भएपछि के गर्ने भन्दा यही बन्ने भन्छन् । अहिले त देशको बिभिन्न शहरमा पनि मेडिकल कलेज खुल्न थाले । त्यसमाथि चीन, भारत, फिलिपिन्स, बङ्गलादेश लगायतबाट समेत यही पढेर आउन थालिसके । अब त माथिबाट ढुङ्गाले हिर्काउँदा पनि डाक्टर र नर्सकै टाउकोमा लाग्छ जस्तो भइसक्यो । यस्तो अवस्थामा जनशक्ति त उत्पादन भए तर सरकारले उनीहरूको व्यवस्थापन गतिलोसँग गर्न सकेन । न त उनीहरुलाई काम गर्न आवश्यक प्रविधि नै पर्याप्त मात्रामा पुर्याउन सकेको छ, न त तलब नै । अनि डाक्टर अमेरिकातिर र नर्स अस्ट्रेलियातिर नगएर के गर्नु !

अब केही मोडलिङको कुरा पनि गरौं है ! तपाईंले बाहिरबाट हेर्दाको मोडलिङ क्षेत्र र यहाँ आइसकेपछिको मोडलिङ क्षेत्रमा भिन्नता के पाउनुभयो त ?

बाहिरबाट हेर्दा जुन खालको देखिए पनि धरातलमा त्यस्तो हुदैन । झट्ट हेर्दा लोभ लाग्ने खालको जस्तो देखिए पनि भित्र आएपछि त्यस्तो नहुने रहेछ । देख्दा सजिलो देखिन्छ, तर मिहेनत बढी लाग्छ । आफ्नो कलाले सबैलाई खुसी पार्न सक्नु पर्छ । कतिपयले त मोडलिङ सुरु गर्नसाथ् छोडेका पनि छन् । म त नर्सिङ पढेको मान्छे, मेरो प्रोफेसन अर्को पनि छ र मसँग कसैले नराम्रो कुरा गरे वा काम गर्न मन नलागे अप्सन छ । तर गाउँदेखि मोडल बन्छु, कलाकार बन्छु भनेर आएकाहरुको लागि त कस्तो अप्ठ्यारो ! मलाइ त्यस्तो नभए पनि सुनेको छु नयाँ भन्ने थाहा पाउनेवित्तिकै हेप्न थालिहाल्ने, मिसयुज गर्ने, यस्तो गरिदिन्छु, उस्तो गरिदिन्छु भनेर आश देखाउने र लुट्ने, शारीरिक तथा मानसिक शोषण गर्ने खालका पनि हुन्छन् रे । तर म त्यो ठाउँसम्म पुग्न परेको छैन ।

तपाईं पनि नराम्रा प्रवृत्तिको फन्दामा त पर्नुभएको छैन नि ?

अँ, यो मानेमा भने मलाई मेरो एजुकेसनले धेरै सहयोग गर्यो किनभने यो केटीले यति पढेकी छ भन्नेबित्तिकै मान्छेको नजर फरक भइहाल्छ । अनि सबै मानिस राम्रै प्रवृत्तिका हुन्छन् या सबै नराम्रा हुन्छन् भन्ने कुरा पनि आउँदैन । मान्छेको प्रकृति नै मौका पाए, चौका हानिहालौं भन्नेखालको हुन्छ । मलाई पनि केही मानिसले घुमाउरो पारामा एप्रोच नगरेको भने होइन, तर मेरो स्वभाव थाह पाउन साथ मौन हुन्थे । मेरो भने अलिक सही समय पनि भयो, टिनएजमै यो क्षेत्रमा आइएन । त्यसैले के सही, के गलत छुट्याउन सक्ने भएँ र अहिलेसम्म ठीकठाक चलिरहेको छ ।

अनि मोडलिङमा हात हालिसकेपछि सम्झन लायक कामहरु के–के गर्नुभयो त ?

मेरो भने मोडलिङमा छिर्नेबित्तिकै अरुले जसरी जिरोबाट स्ट्रगल गर्नु परेन । टिकटक र सोसल मिडियाले मलाइ धेरै सहयोग गर्यो । मानिसहरुले फलो गर्न थालिहाले । सुदूरपश्चिममा जे गर्न पनि गाह्रो छ । म भर्खर यस क्षेत्रमा प्रवेश गर्दै छु । मैले धेरै काम गरिसकेको छैन । मैले धेरै गर्न छ अझै ।

पहिलोपल्ट क्यामरा फेस गर्दा कस्तो लाग्यो नि ?

खै, मलाई त खासै अप्ठ्यारो लागेन । अलि स्वतन्त्र भएर काम गर्न पाए सबै काम सजिलो लाग्छ । यसका लागि टिम भने गतिलो चाहिन्छ । यस्तो गर् उस्तो नगर् भन्ने टिम भए भने अलि अफ्ठ्यारो हुन्छ । सुरुसुरुको बेलामा भने लाइट आँखामा परेर तनाव हुन्थ्यो । पछि बानि परे ।

मोडलिङ र नर्सिङ निकै फरक पाटा भए । दुइटा डुङ्गामा एकैपटक खुट्टा राख्दा त डुबिएला नि ?

त्यही त । दुवै निकै फरक पाटा हुन् तर मैले म्यानेज गरिरहेकी छु । नर्सिङले मलाई पाल्छ, मोडलिङले शोख पूरा हुन्छ । म मध्यम वर्गीय परिवारमा जन्मिएर हुर्किएकी हुँ । अहिलेसम्म मोडलिङमा नराम्रो प्रतिक्रिया नआउनुलाई नै आफ्नो सफलता मानेको छु । मोडलिङसँगै म अहिले हस्पिटलको काममा पनि दैनिक रुपमा व्यस्त हुन्छु । सानैदेखि नर्स बन्ने सपना थियो । त्यही कारण बिरामीको सेवा गर्न राम्रो लाग्छ । म नर्सिङ पेसासँगै मोडलिङ पनि गर्छु तर प्राथमिकता नर्सिङ हो । कलाकारिताबाट मात्रै बाँच्न गाह्रो छ । नर्सिङबाट जिविका धान्न सघाउ पुगिरहेको छ । अस्पतालबाट धेरै नै सहयोग भएकाले यसलाई व्यवस्थापन गर्न अलि सजिलो छ । एउटा मात्रै रोज भन्यो भने पनि मसँग उत्तर छैन । जबसम्म सक्छु, दुवैलाई सँगै लैजान्छु ।

तपाईं त नर्स । बिरामीलाई केही भन्न चाहनुहुन्छ कि ?

अँ, त्यो त भनिहाल्छु नि ! अहिले नक्कली स्वास्थ्यकर्मीको बिगबिगी छ । एकताका सरकारले नक्कली डाक्टरलाई कारबाही गरेको थियो अहिले फेरि सुनसान भैसक्यो र ती नक्कलीहरू फेरि काममा फर्किसके भन्ने सुनेको छु । त्यसैले उपचार गराउनुअघि त्यो मेडिकल काउन्सिलमा दर्ता छ कि छैन, कहाँबाट पढेर आएको हो भन्ने कुरा अनिवार्य रुपमा सोध्नुहोला, सेतो एप्रोन लगाउनेबित्तिकै ती डाक्टर हुँदैनन् । अनि मोडल भएको नाताले, यस क्षेत्रमा जो नयाँ हुनुहुन्छ, मोडलिङसँगै पढाइलाई निरन्तरता दिनुस्, सक्नुहुन्छ भने साइडमा अर्को प्रोफेसन पनि जोडिराख्नुस् भन्छु ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार