धनगढी । एमालेबाट मोहन्याल गाउँपालिको अध्यक्षका लागि जिल्ला कमिटि सदस्य तथा प्रेस चौतारी कैलालीका पूर्व अध्यक्ष वीरेन्द्रबहादुर रावलको नाम सिफारिस भएको छ । उहाँसंगै जिल्ला कमिटि सदस्य तथा वडा नम्बर ७ का वडा अध्यक्ष खरप्रसाद अधिकारी, नेता धर्म थापा, एकेन्द्र भण्डारी, बमबहादुर रावल, नवराज खनाल र नरेन्द्र थापा पनि सिफारिस हुनुभएको छ ।
२०४८ सालदेखि राजनीतिमा सक्रिय रावलले लामो समयसम्म पत्रकारिता मार्फत समाज सेवा र समाज रुपान्तण गर्नुभयो । भने अहिले उहाँ नेकपा एमालेबाट मोहन्याल गाउँपालिकाको अध्यक्षका लागि सिफारिसमा पर्नुभएको छ । उहाँ मोहन्याल गाउँपालिकाको लागि उपयुक्त र एमालेबाट बलियो उम्मेदवारका रुपमा देखिनुभएको छ ।
वि.सं. २०४८ सालमा एकप्रिय राठौर मावि पाताभारा बर्दियाको प्रारम्भीक कमिटि सहसचिवबाट राजनीतिक यात्रा सुरु गरेका रावल २०५० सालमा प्रारम्भीक कमिटि अध्यक्ष, २०५२ सालमा अनेरास्ववियू कैलाली जिल्ला सदस्य, २०५४ मा उपाध्यक्ष, २०५५ मा एमालेको संगठित सदस्यता पाप्त गर्नुभएका रावलले पार्टी र संगठनलाई ठूलो योगदान पुगाउनुभएको छ ।
२०५५ मा पार्टी विभाजनपछि बलिया—सुगरखाल इकाइ कमिटिको उपसचिव, २०५८ सालमा प्रेस चौतारी कैलालीको अध्यक्ष र २०६१ मा पुनः प्रेस चौतारी कैलालीको अध्यक्ष भएर उहाँले काम गरिसक्नुभएको छ । उहाँले राजनीति मात्र नभइ पत्रकारिता क्षेत्रबाट पनि समाज सेवा गर्नुभएको छ । उहाँले राजनीतिक र पत्रकारिता क्षेत्रबाट समाजलाई पुगाएको योगदानको कदर गर्दै पार्टीले आफूलाई नै अध्यक्षको टिकट दिनेमा ढुक्क भएको बताउनु भयो ।
उहाँले २०६२ मा मदन भण्डारी फाउण्डेसन कैलाली जिल्ला सदस्य, २०६४ मा नेपाल बुद्धिजीवि परिषद् कैलाली सदस्य हुँदै बुद्धिजीवि परिषद्को प्रचारप्रसार विभागको सदस्य, २०६१ देखि नेकपा एमाले कैलाली प्रचार विभागको सदस्य, २०७७ मा नेकपा विभाजन पछि एमाले प्रदेश कमिटि सदस्यमा बसेर काम गरेको अनुभव भएकाले पनि पार्टीले आफूलाई नै अध्यक्षको उम्मेदवार बनाउने बताउनु भयो । उहाँले भन्नुभयो, ‘चुरे संरक्षणको क्षेत्रमा पुगाएको योगदानले पनि चुरेबासी मोहन्यालका जनताले मलाई सहानुभूति दिएका छन ।’