३० वर्षपछि फेरियो वीपिनगरको मुहार, बन्दै व्यापारिक केन्द्र

हिक्मत बम 16+ समाचार ( )
१० फाल्गुन २०७९, बुधवार

डोटी । कैलाली र डोटी जिल्लाको सीमाना छुट्याउने शिवनगर र वीपिनगर बजारको मुहार फेरिदै गएको छ । कैलाली जिल्लाको चुरे गाउँपालिकास्थित शिवनगर र डोटीको बडिकेदार गाउँपालिकामा रहेको वीपिनगर बजारको मुहार ३० वर्षपछि फेरिएको छ । 

विकासको पहिलो पूर्वाधार मानिने सडक सञ्जाल बोगटान क्षेत्रमा पुगेसँगै यहाँको मुहार फेरिदैँ गएको हो । सहजपुर-वीपिनगर-बोगटान सडकखण्ड कालोपत्रे हुन थालेपछि यस क्षेत्रका जनता व्यवसायीक बन्न थालेका छन् ।

बोगटान सडकखण्ड कालोपत्रे हुन थालेपछि डोटीको बीपीनगर बजार पछिल्लो समय मुख्य व्यापारिक केन्द्र बन्न थालेको हो । अहिले बीपीनगर आसपासका क्षेत्र कृषि उपजको उत्पादन र निर्यात गर्ने मुख्य बजारका रुपमा चिनिन्छ ।

कैलाली र डोटीमा पर्ने शिवनगर र वीपिनगर ग्रामिण बजार क्षेत्रमा वार्षिक करोडौं मूल्य बराबरको सुन्तला, मकै, कोदो, काउलो, अदुवा, बेसार, भटमास, कागती र अलैँचीलगायतका कृषि उपजको कारोबार हुने गर्दछ । यसबाहेक यो क्षेत्रबाट तेजपात, सम्य, झ्याउ, पाखानबेद लगायतका जडीबुटी बाहिर निर्यात हुने गर्दछन् । यहाँबाट ठूलो परिमाणको जडीबुटी नेपालगञ्ज हुँदै भारत जाने गरेको स्थानीयवासी गणेशकुमार क्षेत्रीले बताए ।

‘तीन दशकअघि यो क्षेत्रमा सडक, स्वास्थ्य, शिक्षालगायत आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने प्रयास थालिएको थियो’, उनले भने, ‘विकासका दृष्टिमा पहिलेको बीपीनगर र अहिलेको बीपीनगरमा धेरै फरक देखिएको छ ।’ सडक, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा भइरहेको विकासले अहिले यहाँको शिवनगर र वीपिनगर बजार क्षेत्र व्यपारीक केन्द्रमात्र नभई शहरीकरण हुँदै गएको छ ।

वर्षौंपछि बिजुली बत्तिको पहुँचमा 

डोटी र कैलाली जिल्लाको सीमा क्षेत्र हुँदै बग्ने ठूलीगाड नदी, उत्तरतर्फबाट आउने गड्सेरी गाड र कापडी गाड (नदी)को संगम नजिकैको मैदानी फाँटमा वारी शिवनगर र पारी बीपीनगर बजार विस्तार भएको छ । 

डोटीे जिल्लाको बडिकेदार गाउँपालिका १ बाट बग्ने कापडी गाडबाट कापडी गाड जलविधुत् आयोजना निर्माण सम्पन्न भएको छ । स्थानीयस्तरमा निर्माण भएको ३.३३ मेघावाटको जलविधुत् आयोजना सम्पन्न भएपछि यस क्षेत्रका स्थानीय गत वर्षदेखि विधुत् सेवाको पहुँचमा पुगेका छन ।

बिजुली बत्ति विस्तार भएपछि यहाँका स्थानीयले साना तथा मझौला उद्योग पनि सञ्चालन गरेका छन । बत्ति विस्तारले यस क्षेत्रका जनाताको जीवनस्तर उकासेको छ । 

आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्दै

अग्ला पहाडको खोँच छिचोल्दै कलकल बग्ने ठूलीगाड, गड्सेरी र कापडी गाड (नदी)को आवाज र वरपरको प्राकृतिक दृष्यावलोकनले जो कोहिको मन लोभ्याउनु स्वभाविकै हो । त्यति मात्र होइन, डोटीको प्रसिद्ध धार्मिक स्थल ठूला केदारले पनि धेरैको मन लोभ्याएको छ ।

सडक विस्तारले बैशाख-जेठको गर्मी होस् वा पुस-माघको जोडोनै किन नहोस् गर्मी र जाडो छल्न तराईबाट आन्तरिक पर्यटक पुग्ने गर्दछन् । अझ भन्ने हो भने कार्तिक-मंसिरमा लाग्ने ठूला केदारको मेलामा भारतको लखनौंदेखि कैलाली र कञ्चनपुरका लाखौं तीर्थालु भक्तजनहरु यहाँ पुग्ने गर्दछन् । 

यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यसहित केबुलकार निर्माण गर्न पहल पनि थालिएको छ । यसका लागि बीपीनगरदेखि बन्ना केदार हुँदै उदैनी केदारसम्म र अत्तरकाँडाको काफली गाड हुँदै बडीकेदारसम्म केबुलकारको योजना निर्माणको लागि पहल भइरहेको बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरवसिं साउँदले बताए ।

पहिलो जननिर्वाचित प्रधानमन्त्री स्व. बीपी कोइरालाको स्मरण 

यो क्षेत्रको नाम बीपीनगर राखिएकाले त्यहाँ घुम्न जाने जो कोहीले पनि नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय बीपी कोइरालालाई स्मरण गर्ने गर्दछन् ।  वि.सं. २०४६ मा भएको राजनीतिक परिवर्तनसँगै स्थानीय प्रजातन्त्रप्रेमी बासिन्दाको पहलमा यो क्षेत्रलाई बीपीनगर नामाकरण गरिएको हो । विसं २०४६ अघिसम्म यो क्षेत्र ‘घोडिलास’ नामले चिनिन्थ्यो । 

‘नेपालमा प्रजातन्त्र स्थापना भएको दिन विसं २०४६ चैत २६ गते महामानव एवम् लोकतन्त्रवादी नेता स्वर्गीय बीपी कोइरालाको नीति विचारमा आउने पिँढीलाई हिडाउँदै समग्र विकास गर्ने उद्देश्यले उनकै नामबाट यो क्षेत्रको नामाकरण गरिएको हो’, समाजसेवी गंगाराम जोशीले भने ।

नजिकैको पहाडको टाकुरामा प्रचीनकालमा भोटेराजाको गढी रहेकाले नै यसको नाम ‘घोडिलास’ राखिएको उनले बताए । यही गढीमा भोटे राजाले शत्रुबाट जोगिनका लागि घोडा चढ्ने, दौडाउने, ढुङ्गाका हतियार बनाउनेजस्ता कला र सीप सिकाउने गरिएको बताइएको छ ।

भोटेगढीबाट कापडी नदीसम्म सुरुङमार्ग समेत रहेको भन्ने भनाइ छ । ‘यसै सुरुङमार्ग हुँदै भोटेराजाका रानीले कापडी नदीसम्म पुगेर गढीमा पानीको जोहो गर्ने गरेको भन्ने भनाइ छ’, समाजसेवी जोशीले भने, ‘अहिले यो सुरुङमार्ग ठाउँ—ठाउँमा भत्किएको अवस्थामा रहेकाले, हाल कोही जान सक्दैनन् ।’

निर्माणधीन अवस्थमा फास्ट ट्रयाक (द्रूतमार्ग)

धनगढी–डडेलधुरा(भीमदत्त) राजमार्गमा पर्ने कैलालीको सहजपुर सडकखण्डबाट बीपीनगरको दूरी १८ किलोमिटर छ । यो सडकलाई साविकको भन्दा थप चौडा बनाएर स्तरोन्नति गर्ने काम भइरहेको छ । सहजपुरदेखि बीपीनगर र बोगटान क्षेत्र हुँदै जिल्ला सदरमुकाम दीपायलसम्मको सडक निर्माणाधीन छ । 

यस्तै धनगढीदेखि स्याउले–बीपीनगर हुँदै दीपायलसम्मको फास्ट ट्रयाक (द्रूतमार्ग) सडक पनि निर्माणाधीन छ ।

सडक सञ्जालका दृष्टिमा यो क्षेत्र केन्द्र भागमा पर्न थालेकाले पनि यसको महत्व अझ बढ्ने देखिएको छ । यस क्षेत्रमा क्याम्पस, विद्यालय, स्वास्थ्य संस्था, इलाका प्रहरी कार्यालय सञ्चालनमा छन् । 

सम्भावना र अवसरको खोजी गर्दै स्थानीय युवा बीरेन्द्र साउदले यो क्षेत्रमा करोड बढीको लगानीमा सुविधायुक्त होटल सञ्चालनमा ल्याउने तयारी गरेका छन् । ‘घुम्न आउने पर्यटकलाई लक्षित गरेर होटल व्यवसाय सुरु गरेका हौँ’, बीरेन्द्र होटलका सञ्चालक साउदले भने, ‘पर्यटकको बसाइँ सहज बनाउन नयाँ वर्षदेखि सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याउँदै छौं ।’

शहरीकरण हुँदै स्थानीय बजार

कैलालीको चुरे गाउँपालिकास्थित शिवनगर र डोटीको बडिकेदारमा रहेको वीपिनगर बजार शहरीकरण हुँदै गएको छ । यहाँ सडक र बत्ति विस्तार भएसंगै ग्रामिण बजारहरु शहरीकरण हुँदै गएका हुन् ।

यहाँ अहिले करोडौको लगानीमा होटलहरु सञ्चालनमा ल्याइएको छ । बजार क्षेत्रमा पहिलेको तुलनामा अहिले दोब्बरले बस्ति विस्तार भएको छ । जमिनको मुल्य पनि बढेको छ । सडक विस्तार भएसंगै खेतियोग्य जमिन पनि नासिँदै गएको छ ।

ग्रामिण बजारमा बस्ति विस्तार हुँदै जान थालेकोले चहलपहल पनि उत्तिकै बढेको छ । बढ्दो बस्ति विस्तारलाई व्यवस्थित र दीगो बनाउन पहल गर्ने हो भने भावी पुस्ताका लागि अनुकरणीय उदाहरण हुने चुरेको शिव माध्यमिक विद्यालयका शिक्षक महेशसिंह ऐरीले बताए । 

प्रतिक्रिया

पुष्पराज १० फाल्गुन २०७९, बुधवार

राम्रो समाचार । वीपीनगर परिवर्तन हुँदै...

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार