सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार विश्वास मत लिने

माैलिक संवाददाता 2140+ समाचार ( )
१६ फाल्गुन २०७९, मङ्गलबार

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले फागुन १७ गते (बुधबार) विश्वासको मत लिने तयारी गरेका छन् । माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले १ महिनाको अवधि पूरा हुनु अगाडि नै विश्वासको मत लिने तयारी गरेका हुन् । 

नेकपा एमालेबाट सरकारको नेतृत्व गरेका तत्कालीन मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पेस गरेको विश्वासको मत माग्नेसम्बन्धी प्रस्ताव प्रदेश सभाबाट अस्वीकृत भएपछि शाह संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेश सभाको ठूलो दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त भएका थिए । 

संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले नियुक्त भएको १ महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत हासिल गरिसक्नुपर्ने हुन्छ । उनी मुख्यमन्त्रीमा नियुक्त भएका फागुन २५ गते १ महिना पुग्दैछ । राष्ट्रपतिको निर्वाचन पनि फागुन २५ गते नै भएको र सबै प्रदेश सभा सदस्यहरु राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न काठमाडौं जाने भएकाले मुख्यमन्त्री शाहले फागुन १७ गते नै विश्वासको मत लिने तयारी गरेका हुन् । 

पाउन सक्छन् दुई तिहाइ मत

ठूलो दलको नेताको रुपमा मुख्यमन्त्री भए पनि शाहको सरकार १ महिनाभन्दा बढी नटिक्ने धेरैको आकलन थियो । ५३ सदस्यीय प्रदेश सभामा विश्वासको मत सिद्ध गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ । नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र गरी ४ सांसदको मात्रै उनलाई देखिने गरी समर्थन थियो । 

तर, राष्ट्रपति निर्वाचनका कारण केन्द्रीय राजनीतिमा फेरिएको समीकरणले मुख्यमन्त्री शाहलाई दुई तिहाइ मत मिल्ने अवस्था सिर्जना भएको छ । अब उनले माओवादी केन्द्रका ९सभामुख बाहेक० १० र नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेश सांसदको पनि समर्थन प्राप्त हुने देखिएको छ । 

कांग्रेसका १९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र गरी ४१ सांसदको समर्थन प्राप्त हुने अवस्था बनेको छ । ५३ सदस्यीय प्रदेश सभामा १० सांसद सिट रहेको नेकपा एमाले प्रमुख प्रतिपक्षी दल बन्ने देखिन्छ ।   

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार