तस्कर र भन्सारका कर्मचारीबीच हातपात

माैलिक संवाददाता 2140+ समाचार ( )
२४ श्रावण २०७९, मङ्गलबार

धनगढी । गौरीफन्टा नाकाबाट प्रहरीले दुई महिलासहित चार जनालाई नियन्त्रणमा लिएको छ । नाकाबाट अवैध रुपमा सामान लिएर आइरहेका दुई जना महिलालाई सोमबार राति प्रहरीले नियन्त्रणमा लिएको हो । 

धनगढी उपमहानगरपालिका २ का रिचा कुँवर र मञ्जु कुँवरलाई नाकाबाट सामान ल्याइरहेको अवस्थामा गाडीमा गस्ती गरिरहेका भन्सार कार्यालय कैलालीका कर्मचारीले फेला पारेका थिए । उनीहरुले ल्याएको सामान नियन्त्रणमा लिँदा भन्सार कार्यालयका गाडी चालक रोहित महतामाथि हातपात गरिएको थियो । 

दुवै महिलाले चालकमाथि हातपात गरी उनको कपडा समेत च्यातेको र गाडी पनि तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए ।  धेरै बेरसम्म सम्झाइ बुझाइ गर्न खोज्दा पनि नमानेपछि उनीहरुलाई नियन्त्रणमा लिनुपरेको प्रवक्ता जोशीले बताए । 

गाडी तोडफोडमा रिचाका श्रीमान कालुसिंह कुँवर पनि संलग्न रहेको पाइएकाले उनलाई पनि नियन्त्रणमा लिएको डिएसपी जोशीले  बताए । तर, महिलाहरुले भने आफूहरुमाथि हातपात भएको, नाकमा लगाएको फुली हराएको, आफूहरुबाट दुई हजार रकम माग गरिएको जस्ता आरोप लगाइरहेको प्रवक्ता जोशीले बताए । 

अहिले जिल्ला प्रहरी कार्यालयमा गाडी चालक महतासहित रिचाका श्रीमान, रिचा र मञ्जुलाई राखिएको बताइएको छ । गएराति ती महिलाहरुले ल्याएको सामान भन्सार कार्यालयले बरामद गरेको र घटना सम्बन्धमा थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार