म्यादीमा एकै दिन २३ हजार आवेदन

माैलिक संवाददाता 2140+ समाचार ( )
३१ भाद्र २०७९, शुक्रबार

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षार्थ माग गरिएको म्यादी प्रहरी भर्नामा पहिलो दिन करिब २३ हजार आवेदन परेको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर प्रहरी परिसरसहित ७७ वटै जिल्ला प्रहरी कार्यालयले बिहीबारदेखि म्यादी भर्नाका लागि आवेदन खुला गरेकामा एकै दिन २२ हजार ८ सय ८० जनाले आवेदन दिएका हुन् । आवेदन दिने अन्तिम मिति असोज ६ सम्म तोकिएको छ ।

पहिलो दिनको आवेदनमध्ये १५ हजार ७ सय ९७ जना पुरुष र ७ हजार ८३ महिला छन् । म्यादी प्रहरीको कार्यावधि ४० दिन र एकमुष्ट ५० हजार १ सय ६० तलब भत्ता रहेको छ । आगामी मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ । गृह मन्त्रालयले स्वीकृत गरेको म्यादी प्रहरीको ‘भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७९’ अनुसार १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका व्यक्तिले दरखास्त दिन पाउनेछन् ।

छनोट भएकालाई असोज ३० देखि कात्तिक ८ सम्म तालिम गराएर कात्तिक ९ बाट चुनावी सुरक्षामा परिचालन गरिनेछ । म्यादीले ४० दिनको तलबरभत्ता, खाजा खर्चलगायत एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ पाउनेछन् । गत स्थानीय निर्वाचनको तुलनामा करिब ६ हजार रुपैयाँभन्दा बढी तलबरभत्ता दिन लागिएको हो । सबै राष्ट्रसेवकको तलब साउन १ बाट १५ प्रतिशत बढाएका कारण म्यादीले पाउने रकम पनि बढेको छ ।

म्यादीको तलब प्रहरी जवानको सुरु तलब स्केलअनुसार निर्धारण गरिएको छ भने पोसाक, रासन र अरू सुविधा सरकारले मापदण्ड बनाएर निर्धारण गरेको हो । हिमाली भेगमा खटिनेलाई ज्याकेट किन्न थप १ हजार रुपैयाँ उपलब्ध गराइनेछ । नियुक्ति भएको ३० दिनपछि ५० प्रतिशत र बाँकी रकम अवकाशमा जानुअघि भुक्तानी दिइने मापदण्डमा उल्लेख छ । रासनबापत पाउने भत्ता नियुक्ति बुझेको १० दिनभित्र २० दिनको र बाँकी २० दिनको अवकाशमा जानुअघि उपलब्ध गराइनेछ । म्यादी प्रहरीका लागि अर्थ मन्त्रालयले ५ अर्ब ८६ करोड ३९ लाख ५० हजार रुपैयाँको व्यवस्था यसअघि नै गरिसकेको छ ।

बहाल अवधिभर जिम्मेवारी निर्वाह गर्ने क्रममा कोही म्यादी घाइते भए सरकारले निस्शुल्क उपचार र मृत्यु भए नजिकको हकदारलाई सरकारले ‘तोकिएबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने’ मापदण्डमा उल्लेख छ । कार्यावधिमा गैरहाजिर भए र बीचमा भागे कुनै सुविधा दिइने छैन । करार अवधिभन्दा अगावै छाड्ने अवस्था आए २० दिनभन्दा बढी काम गरेको भए कार्यरत रहेको दिनसम्मको सेवासुविधा दिइनेछ । किरिया बिदाबाहेक अरू बिदा दाबी गर्न पाइने छैन । छनोट भएको म्यादी नियुक्तिका लागि तोकिएको भन्दा ३ दिनपछि आए र नियुक्ति बुझेर पनि २ दिनसम्म सम्पर्कमा नआए छनोट रद्द गरी वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिइने मापदण्डमा उल्लेख छ ।

म्यादी प्रहरीसम्बन्धी ‘भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७९’ मा ड्युटीमा रहँदा मर्यादा बाहिर गएर निर्वाचनसम्बन्धी धारणा राख्न र अनावश्यक सामग्री पोस्ट गर्न पाइने छैन । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनका बेला आचारसंहिता र अनुशासनविपरीत गतिविधि गरेको आरोपमा करिब ५० म्यादी कारबाहीमा परेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार