‘जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्छौँ’

माैलिक संवाददाता 2140+ समाचार ( )
१४ फाल्गुन २०७९, आइतबार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज जनयुद्धका शहीद तथा बेपत्ता योद्धाका परिवारसँगको कार्यक्रममा उनले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने शहीदको उच्च सम्मानसहित राष्ट्रिय शहीद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरे । 

‘आज जनयुद्धका क्रममा पहिलो बलिदान गर्ने शहीद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो । वि।सं २००७ को क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका शहीद हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ । त्यसैले वर्तमान सरकार जनयुद्धलगायत सबै आन्दोलनका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारीमा छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्न गरिने बताए । ‘सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा सत्यनिरूपण तथा मेलमिलाप विधेयक अगाडि बढेको छ । यो छिट्टै टुङ्गोमा पुग्छ । जनयुद्धका शहीदको सम्मान, उनीहरूको परिवारको परिपूरण, सन्ततिको शिक्षादीक्षाको काम कानुन बनाएर नै गरिन्छ । त्यसका लागि विधेयक महत्त्वपूर्ण छ’, उनले भने ।

शहीद तथा बेपत्ता परिवारका तर्फबाट अधिवक्ता एकराज भण्डारीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाएर प्रधानमन्त्रीले देशभरका शहीद र बेपत्ता परिवारलाई सम्मान गरेको भन्दै खुसी व्यक्त गरे । सरकारले यही फागुन १ गते जनयुद्धको स्मरणमा सार्वजनिक बिदा दिएको थियो । नेकपा ९माओवादी केन्द्र०ले आजदेखि फागुन २१ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी शहीद सप्ताह मनाउने तयारी गरेको छ । 

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डका प्रमुख सल्लाहकार हरिबोल गजुरेल, माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव शक्तिबहादुर बस्नेत, नेता हितराज पाण्डेलगायतको सहभागिता थियो । जनयुद्धका शहीद परिवारले राज्यका तर्फबाट आफूहरूलाई उचित सम्मान दिनु जरुरी रहेको भन्दै प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै