बादी समुदायका छात्रछात्रालाई प्रदेश सरकारले छात्रवृत्ति दिँदै

शेरबहादुर ऐर 11+ समाचार ( )
७ अशोज २०७९

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ढिला गरि बादी समुदायका छात्र तथा छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

शैक्षिक सत्र शुरु भएको ६ महिनापछि बादी समुदायका छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गर्ने गरि कार्यक्रम अघि बढाएको हो । आर्थिक वर्ष २०७९र८० को बादी उत्थान कार्यक्रम अनुसार कक्षा १ देखि १२ सम्मका छात्र तथा छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्ने गरि सामाजिक विकास मन्त्रालयले कार्यक्रम अघि बढाउन लागेको हो ।

नयाँ शैक्षिक सत्र सुरु हुने समयमा छात्रवृत्ति प्रदान गर्नुपर्नेमा मन्त्रालयले भर्ना अभियान सकिएको दुई महिनापछि कार्यक्रम अघि बढाउन जोड दिएको छ ।

मन्त्रालयले बादी उत्थान कार्यक्रम अन्तर्गत ‘बादी समुदायका छोरी छात्रवृत्ति’ र  ‘बादी समुदाय उच्च शिक्षा छात्रवृत्ति’ गरि दुई किसिमको छात्रवृत्तिमा जोड दिएको मन्त्रालयका शिक्षा शाखा अधिकृत लोकेन्द्रबहादुर भट्टले जानकारी दिए ।

आर्थिक अभावका कारण विद्यालय तथा उच्च शिक्षा छोड्न बाध्य भइरहेका बादी समुदायका छात्रछात्रालाई विद्यालय तथा क्याम्पसमा टिकाउन सो कार्यक्रमले मद्दत पुग्ने उनको भनाइ छ ।

मन्त्रालयले बिहीबार सूचना जारी गर्दै विद्यालय तहका कक्षामा अध्ययनरत बादी समुदायका छात्रा तथा उच्च शिक्षामा अध्ययनरत छात्रछात्राहरुलाई आवेदन पेस गर्न आह्वान गरेको छ ।

आवेदन पेस गर्न आह्वान

‘छात्रवृत्ति  प्राप्त गर्न योग्यता पुगेका बादी समुदायका इच्छुक छात्रछात्राहरुलाई सूचना प्रकाशन भएको ६० दिन अर्थात् मंसिर ५ गतेभित्र आवश्यक कागजातसहित सम्बन्धित जिल्लाको सामाजिक विकास कार्यालयमा आवेदन पेस गर्न सूचित गरिन्छ,’ मन्त्रालयद्वारा  जारी सूचनामा भनिएको छ ।

बादी समुदायको छोरी छात्रवृत्तिमा बादी समुदायको व्यक्ति भएको व्यहोरा खुल्ने कागजपत्र, आमा, बुवाको नेपाली नागरिकता, जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि, स्थानीय तहबाट नाता प्रमाणित पत्र, अध्ययनरत विद्यालयको सिफारिस पत्र पेस गर्नुपर्ने छ भने उच्च शिक्षाका लागि कक्षा १२ को ग्रेडसिट वा ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्र पनि पेस गर्नुपर्ने उल्लेख छ ।

छोरी छात्रवृत्तिका लागि छनौट भएका छात्राहरुलाई प्रतिछात्रा मासिक एक हजारका दरले १२ महिनाको छात्रवृत्ति प्रदान गरिने छ भने उच्च शिक्षा छात्रवृत्ति कार्यक्रममा छनौट भएका विद्यार्थीले प्रतिमहिना आठ हजारका दरले छात्रवृत्ति प्राप्त गर्ने उल्लेख छ ।

उच्च शिक्षा छात्रवृत्ति कार्यक्रममा ५० जनालाई समावेश गरिने मन्त्रालयका शिक्षा शाखा अधिकृत लोकेन्द्र प्रसाद भट्टले बताए । उनले भने, ‘५० भन्दा बढी आवेदन परेमा स्नातक तहमा अध्ययनरतको हकमा कक्षा १२ को र स्नातकोत्तर तह अध्ययनरतको हकमा सिजिपिए(प्राप्तांक प्रतिशतको आधारमा बढी जीपीए प्राप्तांक प्रतिशत प्राप्त गर्ने विद्यार्थी छनौट गरिने छ ।’

यस वर्ष सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बादी उत्थान छात्रवृत्ति कार्यक्रम शीर्षकमा तीन करोड बजेट छुट्याएको छ ।  शिक्षा र रोजगारीमा बादी समुदायलाई सहायता दिन ल्याइएको यो कार्यक्रमले उनीहरूको आर्थिक उपार्जनमा मद्दत पुग्ने विश्वास मन्त्रालयको छ ।

बादी उत्थान कार्यक्रम

आर्थिक वर्ष २०७८।७९ को वार्षिक कार्यक्रममा पनि बादी उत्थान कार्यक्रम समेटिएपनि प्रदेश सरकारले लागू भने गर्न सकेको थिएन । कतिपय बादी समुदायका नेताले अहिले देहव्यापारको मुद्दा किन उठाइयो भनेर सो बजेट नलिने भने। सो विषयमा पोहोर मुख्यमन्त्री कार्यालय अगाडि बादी समुदायकै मानिसहरूबीच कुटाकुट भयो । बादी समुदायभित्रकै विवादले मुख्यमन्त्री कार्यालयबाट पाइने गरी छुट्याइएको सो बजेट त्यस वर्ष फिर्ता गयो ।

सुदूरपश्चिममा बादी समुदायको जनसंख्या करिब १२ हजार छ । यीमध्ये घरबास नभएका, सीप भएर पनि काम नपाएका धेरै छन् । केहीले केटाकेटी पढाउन सरकारी वा गैरसरकारी संस्थालाई जिम्मा लगाउने गरेका छन् ।

डोटी सायलकी १३ वर्षीया जानकी बादी पैसा अभावकै कारण विद्यालय जानबाट वञ्चित भएकी छन् । पैसा नहुँदा उनी अहिलेसम्म विद्यालय भर्ना भएकी छैनन् ।

मन्त्रालयले जारी गरेको सूचनामा अध्ययनरत विद्यालयको सिफारिस अनिवार्य गरिएको छ । यसले गर्दा जानकी जस्तै विद्यालय बाहिर रहेका छात्रछात्राहरु प्रदेश सरकारको यस कार्यक्रमबाट वञ्चित हुने बादी समुदायका अधिकारकर्मीहरु बताउँछन् ।

नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य उमाकुमारी बादीले भनिन्, ‘प्रदेश सरकारले छात्रछात्रालाई लक्षित गरेर छात्रवृत्ति कार्यक्रम ल्याउनु बादी समुदायका लागि राम्रो भएपनि समयमै सञ्चालन गर्न नसक्दा लाभान्वित हुनुपर्ने परिवार वञ्चित हुने देखिएको छ ।’

प्रतिक्रिया