आकाश हेरेर सुत्ने समय यकिन हुन्छ

रासस 3+ समाचार ( )
४ अशोज २०७९

बझाङ । खप्तडछान्ना गाउँपालिका–१ तल्लाबगणका महादेव गिरी झरी पर्नै हुन्न तर्सिहाल्छन् । खोला नजिकैको बस्ती हुँदा कतिबेला कस्तो घटना दोहोरिन्छ भन्दै चिन्तित भइरहन्छन् । राति मात्रै होइन, दिउँसो पनि झरी पर्नेबित्तिकै डाँडामा चढ्नु, जडारी खोलामा बहाब बढेको दिन रातभर जाग्राम बस्नु उनको नियति नै हो ।

आइतबार राति पनि महादेवलाई त्यस्तै भयो । दिनभर झरी परेपछि  सो खोलाले दिउँसै बाटो मोडेको थियो। तल्लाबगणको अर्को छेउमा बग्ने खोलाले बस्तीतिर धार फर्काएको थियो । साँझ झिसमिसेमा भने पानीसमेत रोकिएर सुक्खा भइसकेको थियो । 

‘एक्कासी राति जडारीगाडमा ढुंगाको गड्याङगुडुङ आवाज आएपछि निन्द्रा खुल्यो,’ महादेव भन्छन्, ‘राति बाहिर आउँदा त बगर पूरै जलमग्न भएको रहेछ ।’ 

त्यसपछि महादेवले गाउँलेलाई उठाए । रातिको खाना खाएर सुतेका तल्लाबगणवासीले मध्यराति दुईबजेदेखि नै जाग्राम बस्नुप¥यो । ‘गाउँमै भए पनि सडकको छेउमा पसल भएकाले हामी त पसलमै थियौं,’ उनले भने, ‘गाडले ठूलै संकेत गरेपछि श्रीमान्–श्रीमती नै टर्च बालेर गाउँमा सबैलाई उठाउन गयौं। गाउँमा सबैले जानकारी पाएर एउटा घरको छेउमा बसेका रहेछन् । पछि सबैजना त्यतै जम्मा भएर रात बितायौं ।’ 

खप्तडछान्ना –१ खातीगाउँका हर्कबहादुर खातीले आइतबार रातभर नै गाउँमा पहरा दिएका रहेछन् । उनले भने, ‘दिनभर परेको पानीले जडारीगाडको बहाब बढेको भन्दै गाउँलेलाई दिउँसै सचेत गराएको थिएँ । साँझ मौसम केही सुधार भयो । मध्यराति त जडारीगाडले बगाएर ल्याएका ढुंगाको  आवाज घरको छेउमा आएजस्तै भयो । डेढ बजे राति बाहिर हेर्दा त बगरभरि पानी फैलिएको देखियो । त्यसपछि सबै गाउँलेलाई बोलाएर डाँडाको घरमा जाग्राम बस्यौं ।’

खातीका अनुसार खातीगाउँको अवस्था पनि तल्ला बगणको जस्तै छ । राति पानी पर्दा नसुत्ने, आकाश हेरेर सुत्ने समय यकिन गर्ने, जोखिममा रहेका घरबाट उकालो चढेर डाँडामा आफन्तको घरमा जाने । यो समस्या खातीगाउँवासीको मनसुन सुरू भएयता दैनिकी जस्तै हो ।

‘पानी पर्दा आसपासका बस्तीले डाँडातिर, चौतारातिर जाग्राम बस्दै भगवानलाई पुर्कानुबाहेक केही हुँदैन,’ खातीले भने, ‘जडारीगाड नजिकैका बस्तीका लागि भगवान भरोसा मात्रै हुन्छ। अन्य गाउँको त अरू व्यवस्था पनि होला तर, हाम्रो खातीगाउँमा भने गत वर्ष नै बाढीले सर्वस्व लुटेको थियो।’

गत वर्ष असोज ३० देखि कात्तिक ३ गतेसम्म अविरल बेमौसमी वर्षापछि जडारीगाडमा आएको बाढीले खप्तडछान्नामा शताब्दीकै ठूलो क्षति गरेको थियो । सयौं रोपनी उत्पादन हुने जमिन, करोडौं मूल्य बराबरको भौतिक संरचना, नहर कुलो, सडक, खानेपानी, विद्युत्लगायत भौतिक सम्पति सबै पूर्णरूपमा ध्वस्त भएको थियो । 

‘गत वर्षको बाढी आउँदा हामी घरमै थियौँ’, उनी भन्छन्, ‘दिउँसोतिर खातीगाउँ जिउलोको छेउमा पानी घट्टको आगन मात्रै बगाएको थियो । राति त हेर्दाहेर्दै जिउलोसहित त्यसमा बनाइएका संरचना सबै एकै झट्कामा निल्यो । दुई परिवारका बच्चा त नाङ्गै घरबाट तानेर ज्यान जोगाएका थियौं । मानवीय क्षति नभए पनि भौतिक सम्पत्ति सबै ध्वस्त भएको थियो ।’

खातीगाउँमा सर्वस्व गुमेका दुई परिवार अहिले आफन्तको घरमा आश्रय लिइरहेका छन् । उब्जनी गर्ने जमिन कसैको पनि छैन । घर भने दुई परिवारबाहेक सबैका छन् । ‘हाम्रो जमिन जै जीवनको आधार हो, त्यो सबै खोलाले बगाएपछि अहिले घरबाहेक केही छैन,’ हर्कबहादुरले भने, ‘मेरो त भिरालो ठाउँमा सानो जमिन पनि थियो । गतवर्ष बाढीमा स्कुल बगाएको हुँदा त्यो जमिन स्कुललाई दिएँ । अहिले जमिन शून्य छ । घर भने त्यसैमा बसिरहेका छौं।’

गतवर्ष सर्वस्व गुमेका प्रेम खातीको परिवारमा ६ जना छन् । रोजगार कसैको पनि छैन । बाढीको चपेटामा परेका उनलाई कपडा, भाँडाकुँडा, खानेकुरालगायत सबै आफन्तले सहयोग गरेका थिए । प्रेम खाती अहिले तत्कालको सहयोगको पर्खाइमै छन् । 

‘कमाउने कोही छैन । छोरा प्यारालाइसिस भएर हिँड्न सक्दैन । सबैलाई पाल्ने जिम्मेवारी म बूढोकै काँधमा छ। नातिनातिना साना छन् । अहिले कसैले दिए खाने, नदिए भोकै बस्ने अवस्था छ’, उनी भन्छन् । 

अहिले खोलामा गड्याङगुडुङ सुरू हुनेबित्तिकै खोला आइहाल्यो कि भनेर खातीगाउँ, तल्लाबगण, गोटखोला, डाँडाखेतलगायतका मान्छे त्रसित भइहाल्छन् । ‘तल्लाबगणमा १० परिवार छन्’, महादेव भन्छन्, ‘राति पानी परेको दिन गाउँमा अगाडि नै सल्लाह गरेर एउटै ठाउँमा बस्छौं। आकाश खुलेको छ भने मात्रै आरामले सुत्न पाइन्छ ।’

शुक्रबार पनि मध्य रातिदेखि नै नसुतेको उनले बताए । ‘निकै वर्षा भएपछि खोलाको किनारामै बसेका थियौं’, उनले भने, ‘त्यो दिन पनि रातभर निन्द्रा नै लागेन । गत वर्षकै बाढीको सम्झना आएर गाउँले कसैले पनि सुत्न पाएनन् । गत वर्ष बाढी आउँदा म त निन्द्रामै थिए । राति सुतेको बेलामा ११ बजेतिर एक्कासि डरलाग्दो सपना देखेर बिउँझिएको त बाढी आएको रहेछ। त्यसपछि भागाभाग भयो ।’

गिरीको पसल र खोला झण्डै १०० मिटर टाढा थियो । घरभन्दा बढी बसाइँ पसलमै हुन्थ्यो । ‘त्यो दिनको बाढीले क्षणभरमै पसल भएको ठाउँ बगर बनायो,’ उनकी श्रीमतीले भनिन्, ‘बाढी पसल नजिक आइरहेकै बेलामा कागजात तथा गहना त झोलामा हालेकी थिएँ । भागाभाग हुँदा झोलासमेत त्यतै छुट्यो ।’

जडारी खोलाले स्थानीयवासीको सर्वस्व लुटेको एक वर्ष भइसकेको छ । तर, पीडित परिवारले भने अहिलेसम्म कतैबाट पनि राहत पाएका छैनन् । खप्तडछान्ना गाउँपालिका–१ का वडाध्यक्ष देवीभक्त जोशी भन्छन्, ‘अघिल्लो पटक हामीसँग बजेट नहुँदा केही गर्न सकिएन । यो पटक छुट्याएका छौँ । अब त्यसै रकमले उहाँहरूलाई सहयोग गर्छौं ।’ 

खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकाया पनि यो पटकको बजेटले उहाँहरूलाई केही सहयोग गर्ने र बाढीबाट हुने जोखिम कम गर्न आफूहरू लागि परेको बताउँछन् । उनले भने, ‘अहिलेसम्म त्यस्तो अप्रिय घटना भएको छैन । घटना घटिहाले पनि तत्काल राहत उद्धारका लागि विभिन्न निकाय उच्चसर्तकता अपनाउन भनेका छौं ।’

प्रतिक्रिया