लघुकथा- अनुहार

खड्क पामी 18+ समाचार ( )
रिम बाबू राना मगर
१३ माघ २०७८, बिहीबार

फेसबुककै चिनजान भएपनि हाम्रो मित्रता घनिष्ठ बन्यो । उसले आफ्नो बिहेको निम्तो पठायो । म पनि फुरुङ्ग हुदै बिहेमा गएँ ।

भव्य भोज रहेछ । उ बिहेको मण्डपमा व्यस्त थियो । उसकै इशारामा उसक‍ो दाइले मलाई भोजस्थलमा लग्यो ।
पाहुनाहरूको भीडभाड थियो । कुर्सी भरिएर गुन्द्रीमा पनि लामो लश्कर थियो । एकजना पाहुनालाई हटाएरै भए पनि मलाई कुर्सीमा ठाउँ खाली गरिदियो । म मख्ख पर्दै बसें ।  भान्साबाट स्पेसल परिकार र पेय पदार्थ मगाए । म अझ मख्ख परें ।

पालैपालो भुटुवाको टुक्रा र ह्विस्कीको चुस्की मेरो मुखको स्वागतद्वार हुदै पेटको पार्कतिर घुम्न गए । प्लेट र गिलास रित्तिने र भरिने क्रम चलिरह्यो । पर क्षितिजमा घाम मलिन हुदै गयो । मेरो अनुहार भने लाल हुदै आयो । फलाम तातेको बेला घनले हिर्काए चाहिएको आकार दिन सकिन्छ भनेर होला दुलाहा साथीको दाइले भन्यो- "ल हजुर, हजुरको बुवा मन्त्री छदै गाउँमा भ्यू टावरको योजना पार्नु पर्‍यो ।"

करिब दुई घण्टा लगाएर गर्माएको मेरो ज्यान उसको यो एक वाक्यले एक सेकेन्डमै चिस्यायो । म छक्क परेर उसलाई हेरें । म छक्क परेको देखेर उ झन् छक्क पर्‍यो ।
खासमा उसले मलाई मन्त्रीको छोरा ठानेर यति विधि सत्कार गरेको रहेछ । कुनै मन्त्रीको छोरासँग मेरो अनुहार मिल्दोजुल्दो भएकोमा मलाई बडो अप्ठ्यारो महसुस भयो । अनि मौका मिलाएर भोजस्थलबाट सुटुक्क भागें ।
(स्पन्दन-१३मा समावेश)

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार