आज र भोलिको मौसम

मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

धनगढी । आज र भोलि देशका धेरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । यसबाट हवाई र सडक यातायात सेवा प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने उनीहरुको सुझाव छ ।

जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका जिल्लाहरुलाई पहेँलो रंगले संकेत गर्दै वैशाख १५ र १६ गतेको मौसमको अध्यावधिक जानकारी लिएर मात्रै आफ्नो काम गर्न सतर्क गराएको छ ।

Advertisement

विभागका मौसमविद सरोज पुडासैनीले वैशाख १५ र १६ गते दुई दिनसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरुमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जानकारी दिए । हिमाली भेगमा पनि मध्यम खालको हिउँ पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने उनले बताए ।

उनले भने, ‘वैशाख १५ र १६ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका बासिन्दाले मौसमबारे पछिल्लो जानकारी लिएर मात्रै काम गर्नुपर्ने हुन्छ ।’

Advertisement

उनका अनुसार वैशाख १५ गते कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई ठाउँमा भारी पानी वा हिउँ पर्ने सम्भावना छ ।

वैशाख १६ गते बुधबारको दिन पनि वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँहरुमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको पानी वा हिउँ पर्ने सम्भावना रहेको मौसमविद् पुडासैनीले जानकारी दिए । यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँहरुमा पनि पानी वा हिउँ पर्ने सम्भावना छ ।

Advertisement

१६ गते बुधबार नै कोशी र मधेश प्रदेशका एक–दुई ठाउँहरुमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँमा भारी पानी पर्ने सम्भावना छ ।

यो वर्षाले गर्मी र डढेलो, प्रदूषण कम हुनेछ । केही दिनअघिसम्म पश्चिमका तराई भूभागमा पानी नपरेर गर्मी भए पनि आज र भोलि पर्ने पानीले शीतल महसुस गराउने मौसमविदहरुको भनाइ छ ।

मौसम विज्ञान विभागका अनुसार अहिले गण्डकी प्रदेशका लमजुङ, कास्की, पर्वत, स्याङ्जाका साथै बागमतीको नुवाकोटका एक–दुई ठाउँमा पानी परिरहेको छ । सबैभन्दा धेरै लमजुङको बेँसीसहरमा एक घण्टाको अवधिमै १२।२ मिलिमिटरसम्म वर्षा रेकर्ड भएको छ । यो भनेको मध्यम खालको वर्षा हो ।