धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सुदूरपश्चिम प्रदेशकै नमुना र चिनारीका रूपमा अत्याधुनिक बसपार्क निर्माण गर्ने योजना अघि बढाए पनि प्रदेश सरकारबाट आवश्यक निर्णय नहुँदा आयोजना अन्योलमा परेको छ ।
उपमहानगरपालिकाले वडा नं. ३ मा अत्याधुनिक बसपार्क निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी सार्वजनिक गरिसकेको छ । प्राविधिक तथा प्रशासनिक प्रक्रिया पूरा गर्दै आवश्यक जग्गा प्राप्तिका लागि सम्बन्धित निकायसँग पहलसमेत गरिएको थियो ।
Advertisement
धनगढीका नगर प्रमुख गोपाल हमालका अनुसार बसपार्क निर्माणका लागि आवश्यक वन क्षेत्रको जग्गा उपलब्ध गराउन उपमहानगरले वन मन्त्रालयमा पत्राचार गरेको थियो । त्यसपछि फाइल संघीय वन मन्त्रालय हुँदै सुदूरपश्चिम प्रदेश सरकारको वन मन्त्रालयमा पुगेको छ ।
वन ऐन संशोधनपछि वन क्षेत्रको जग्गा उपलब्ध गराउने अधिकार प्रदेश सरकारको निर्णयसँग जोडिएकाले सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्ले उक्त आयोजनालाई प्राथमिकतामा राखी स्वीकृत गर्नुपर्ने व्यवस्था रहेको छ । त्यसपछि मात्र फाइल पुनः संघीय वन मन्त्रालयमा पुग्ने र अन्ततः संघीय मन्त्रिपरिषद्को निर्णयपछि जग्गा उपलब्ध हुने प्रक्रिया पूरा हुने नगर प्रमुख हमालले बताए ।
Advertisement
उनका अनुसार प्रदेश मन्त्रिपरिषद्बाट आवश्यक निर्णय हुन नसक्दा फाइल प्रदेश सरकारमै रोकिएको छ, जसका कारण बसपार्क निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन ।
प्रस्तावित बसपार्क निर्माण सम्पन्न भएपछि धनगढीको सार्वजनिक यातायात थप व्यवस्थित हुने, यात्रुले आधुनिक सुविधा पाउने तथा सुदूरपश्चिमको प्रवेशद्वारका रूपमा धनगढीको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
Advertisement
नगर प्रमुख हमालले प्रदेश सरकारले आवश्यक निर्णय गरी जग्गा उपलब्ध गराउने प्रक्रिया शीघ्र अगाडि बढाए धनगढीलाई आधुनिक र व्यवस्थित बसपार्क उपलब्ध गराउने लक्ष्य पूरा हुने विश्वास व्यक्त गरेका छन्।






















प्रतिक्रिया