खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौँ । सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको प्रमुख सांस्कृतिक पर्व गौराका अवसरमा काठमाडौँको खुलामञ्चमा देउडा सुरु भएको छ । गौरा पर्व मनाउन काठमाडौँ उपत्यकामा रहेका सुदूरपश्चिमेली, कर्णालीवासी तथा अन्य सर्वसाधारण खुलामञ्चमा भेला भएका छन् ।

गौराको अवसरमा परम्परागत पहिरनमा सजिएका युवायुवती तथा वृद्धवृद्धा हात समातेर गोलाकार घेरा बनाई देउडा खेलिरहेका छन् । देउडा गीत र नृत्यमा सहभागी रमाइरहेका छन् भने उनीहरूको प्रस्तुति हेर्न सर्वसाधारणको पनि भीड लागेको छ । शुक्रबारदेखि सुरु भएको देउडा आइतबारसम्म चल्नेछ ।

Advertisement

सुदूरपश्चिम र कर्णालीको मौलिक लोकसंस्कृतिको महत्वपूर्ण पहिचानका रूपमा रहेको देउडा गौरा पर्वको प्रमुख आकर्षण हो । देउडा गीतमा सामाजिक, सांस्कृतिक तथा समसामयिक विषय समेटिने गर्छन् । यसमार्फत सहभागीले आफ्ना सुखदुःख साटासाट गर्नुका साथै आपसी सम्बन्धलाई थप आत्मीय बनाउने गर्छन् ।

देउडा खेलमा सहभागी सुदूरपश्चिम घर भई अध्ययनका लागि काठमाडौँमा रहेका शमशेर रोकायाले गौरा पर्व धार्मिक पर्व मात्र नभई आफ्नो संस्कृति र पहिचानसँग जोडिएको बताए । ‘गौरा हाम्रो मौलिक पर्व हो । यो पर्व सुखदुःख साटासाट गर्ने र सांस्कृतिक भावना साट्ने माध्यम हो’, उनले भने ।

Advertisement

गौरा पर्वका अवसरमा यस वर्ष काठमाडौँमा रहेका सुदूरपश्चिम तथा कर्णालीवासी एकै ठाउँमा भेला भएर आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिइरहेका छन् । विशेषगरी युवापुस्ताको देउडाप्रतिको उत्साहले खुलामञ्चमा पर्वको रौनक बढाएको छ ।

आज खुलामञ्चमा सुदूरपश्चिम र कर्णालीका युवायुवती उत्साहपूर्वक देउडा खेलिरहेका छन् । देउडा हेर्न र सहभागी हुन पुगेका सर्वसाधारणका कारण खुलामञ्चमा चहलपहल बढेको छ । रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा काठमाडौँमा रहेका सुदूरपश्चिमेली र कर्णालीवासीका लागि गौरा भेटघाटको अवसरसमेत बनेको छ ।

Advertisement

डोटीको गड्सेरा घर भई अध्ययनका लागि काठमाडौँ आएका नवीन सार्कीले गौरा पर्वले राजधानीमा रहेका सुदूरपश्चिमवासीलाई एकै ठाउँमा भेला हुने अवसर दिने बताए । ‘गौरा हाम्रो भेटघाट गराउने तथा सांस्कृतिक र मौलिक पर्व हो । यसलाई हामी आपसमा मिलन गराउने पर्वका रूपमा लिन्छौँ’, उनले भने ।

उनका अनुसार रोजगारी, अध्ययन तथा अन्य कामका कारण जन्मथलोबाट टाढा रहेका व्यक्ति गौरा पर्वका अवसरमा एकै ठाउँमा भेला हुँदा गाउँघरको सम्झना ताजा हुन्छ । आफन्त, साथीभाइ तथा गाउँठाउँका चिनजानका व्यक्तिसँग भेटघाट हुने भएकाले गौरा पर्वका दिन खुलामञ्चमा ठूलो सङ्ख्यामा मानिस जम्मा हुने गरेका छन् ।

गौरा पर्व धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको पर्व हो । यस पर्वमा व्रतालु महिलाले धान, साउँ, तिल, अपामार्गलगायत सामग्री प्रयोग गरी गौरा देवी अर्थात् पार्वती र महेश्वर अर्थात् शिवको मूर्ति बनाउने तथा विधिपूर्वक पूजा गर्ने चलन छ ।

गौरा पर्वमा बिरुडाको विशेष महत्व हुन्छ । पाँच प्रकारका गेडागुडी मास, गहत, गहुँ, केराउ तथा चना/गुराँस मिसाएर बिरुडा बनाइन्छ । बिरुडा प्रसादका रूपमा ग्रहण गर्ने, आफन्त तथा छरछिमेकमा बाँड्ने र पूजापछि टाउकोमा राख्ने परम्परा रहेको महिला खिमादेवी विष्टले बताइन् ।

गौरा पर्वका धार्मिक तथा सांस्कृतिक गतिविधिसँगै देउडा खेलले पर्वको रौनक बढाउने गरेको छ । देउडामा सहभागी महिला तथा पुरुषले हातमा हात समातेर गोलाकार घेरा बनाउँदै गीत गाउने र ताल मिलाएर नाच्ने गर्छन् । देउडाका गीतमा प्रेम, संस्कृति, सामाजिक सम्बन्ध, दुःखसुख, गाउँघर तथा समसामयिक विषय समेटिने गर्छन् ।

काठमाडौँमा आयोजना हुने गौरा पर्वले राजधानीमा रहेका सुदूरपश्चिम तथा कर्णालीवासीलाई आफ्नो मौलिक संस्कृति संरक्षण र पुस्तान्तरण गर्ने अवसर दिएको छ । विशेषगरी नयाँ पुस्ताका युवायुवती देउडामा उत्साहपूर्वक सहभागी हुन थालेपछि आफ्नो भाषा, वेषभूषा, कला, संस्कार र परम्परालाई राजधानीमै निरन्तरता दिने वातावरण बनेको सहभागी बताउँछन् ।

गौरा पर्वका अवसरमा परम्परागत पहिरनमा सजिएका महिला तथा पुरुषको उपस्थितिले खुलामञ्च आकर्षक बनेको थियो । देउडाको लयमा रमाइरहेका युवायुवती र उनीहरूको प्रस्तुति हेर्न पुगेका दर्शकका कारण खुलामञ्चमा दिनभरजसो उत्सवको वातावरण देखिएको छ ।

गौरा पर्वले धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई जोड्नुका साथै आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई बलियो बनाउने सहभागीको विश्वास छ । काठमाडौँमा रहेका सुदूरपश्चिम तथा कर्णालीवासीले सामूहिक रूपमा गौरा मनाउँदा जन्मभूमि, संस्कृति र परम्परासँगको सम्बन्ध अझ बलियो हुने बताएका छन् ।

रोजगारी, अध्ययन तथा विभिन्न पेसा–व्यवसायका कारण थातथलोबाट टाढा रहेका सुदूरपश्चिम तथा कर्णालीवासीका लागि गौरा पर्व धार्मिक अनुष्ठानमा मात्र सीमित छैन । यो आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानलाई जीवन्त राख्ने तथा आपसमा भेटघाट गर्ने महत्वपूर्ण अवसरका रूपमा स्थापित हुँदै गएको छ ।