क्यासिनोबाट इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ पक्राउ

काठमाडौँ । वीरगञ्जको एक क्यासिनोबाट नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिकाका अध्यक्षसहित ८ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जुवा खेलिराखेको अवस्थामा इलाका प्रहरी कार्यालय पोखरिया पर्साका इन्स्पेक्टर प्रदिप पौडेल र सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवसहित चारजना पक्राउ परेका हुन् भने खेलाएको आरोपमा अन्य चारजना पक्राउ परेका हुन् ।

Advertisement

वीरगञ्ज महानगरपालिका–१४, गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचना पाएपछि शनिबार राति प्रहरी टोली त्यहाँ पुगेको थियो ।

राति करिब १०ः३० बजे क्यासिनोमा छापा मार्दा जुवा खेलिरहेको अवस्थामा चार नेपाली नागरिकलाई पक्राउ गरिएको हो । जसमा इन्सेक्टर पौडेल र गाउँपालिकाका अध्यक्ष यादव पनि रहेको खुलेको छ ।

Advertisement

अन्य दुईजना ३० वर्षीय चन्दन सहनी र वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा रहेका छन् । यस्तै, नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा क्यासिनोका चार कर्मचारीलाई समेत पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता चक्र बहादुर मल्लले जानकारी दिए ।

पक्राउ पर्ने कर्मचारीमा वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ घर भई हाल क्यासिनोमा कार्यरत ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह रहेका छन्।

Advertisement

पक्राउ परेका आठै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । साथै प्रहरीले क्यासिनो परिसरबाट गाउँपालिकाको सरकारी गाडी ना.१ झ १६८७ नम्बरको स्कोर्पियो समेत नियन्त्रणमा लिएको छ ।