सीमानाकामा कडाइ, नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

धनगढी । भारतसँग जोडिएका नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिले अब अनिवार्य रूपमा आधिकारिक परिचयपत्र देखाउनुपर्ने व्यवस्था लागू गरिएको छ । पछिल्लो समय देशका केही जिल्लामा देखिएको धार्मिक तनाव तथा सामाजिक असहिष्णुतालाई मध्यनजर गर्दै कैलालीमा सुरक्षा व्यवस्था थप कडा पारिएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीको आह्वानमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको नागरिक समाज, धर्मगुरु तथा समुदायका अगुवाहरूको बैठकले सीमा क्षेत्रमा परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो ।

Advertisement

बैठकले जिल्लामा शान्ति, सुरक्षा र आपसी धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न विशेष सतर्कता अपनाउने निर्णयसमेत गरेको छ । निर्णयअनुसार कुनै पनि धार्मिक समुदायको भावना आहत हुने गतिविधि, उत्तेजक अभिव्यक्ति, हतियार, लाठी, भाला लगायतका सामग्री प्रदर्शन तथा सामाजिक सञ्जालमार्फत धार्मिक द्वेष फैलाउने कार्य नगर्न सबैलाई आग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार प्रत्येक स्थानीय तहमा धार्मिक तथा सामाजिक सद्भाव समन्वय समिति गठन वा पुनर्गठन गरिनेछ । साथै कुनै एक धार्मिक समुदायको मात्र प्रतिनिधित्व हुने गरी सभा, जुलुस वा र्‍याली आयोजना नगर्न तथा अर्को समुदायको धार्मिक आस्थामा असर पुग्ने गतिविधिबाट टाढा रहन सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ ।

Advertisement

जिल्ला प्रशासनले संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै नागरिकलाई संयमता अपनाउन, कानुनको पालना गर्न र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न अपिल गरेको छ ।

Advertisement