नेकपा एसको थ्रेसहोल्ड कटाउने उपाय- पुनः मतदान हुने ठाउँमा गठबन्धनको मत कलममा !

माैलिक संवाददाता 2140+ समाचार ( )
१२ मंगशिर २०७९, सोमबार

काठमाडौं । बुथ कब्जाका कारण पुनः मतदान हुन लागेका दोलखा र पुनः मतदानको सम्भावना रहेका स्याङजा २ र बाजुरामा समानुपातिकतर्फको मत नेकपा एकीकृत समाजवादीलाई दिनेबारे सत्ता गठबन्धनमा अनौपचारिक छलफल भएको छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवासँग सोमबार विहान भेट गरेका नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीलाई थ्रेसहोल्ड कटाउन संकट परेको भन्दै पुनः मतदान हुन लागेका ठाउँमा गठबन्धनको मत कलममा खसाउने निर्देशन जारी गर्नेबारे प्रस्ताव राखेको बताइएको छ ।

नेपाल निकट स्रोतले भन्यो– केही हजारका कारण नेकपा एसले थ्रेसहोल्ड कटाउन सकेन भने पौने ३ लाख मत खेर जान्छ । तर थ्रेसहोल्ड कटाउँदा कम्तिमा ४ सीट थपिएर गठबन्धनको बहुमत पुग्छ । त्यसैले, दोलखामा १५ गते तोकिएको चुनावमा गठबन्धनको मत कलममा गयो भने समग्रमा त्यसको फाइदा गठबन्धनले नै पाउने हो ।

दोलखाका बैत्यश्वर गाउँपालिकाका ३ र तामाकोशी गाउँपालिकाका एउटा वडाका १० वटा मतदान केन्द्रमा पुनः मतदान हुँदैछ । त्यस्तै स्याङजा २ को चापाकोट नगरपालिकाका ४ वटा बुथ गठबन्धनले कब्जा गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेकोमा आयोगले त्यसबारे निर्णय गर्दैछ भने बाजुरामा १६ भन्दा बढी बुथ कब्जा भएको आरोप छ ।

पुनः मतदान भएका ठाउँमा खस्ने समानुपातिक मतले नेकपा एसको थ्रेसहोल्ड र गठबन्धनको बहुमतलाई निर्णायक बल पुग्न सक्ने भएकाले प्रत्यक्षमा गठबन्धका दल र समानुपातिकमा कलममा मतदान गर्ने निर्णय हुने सम्भावना छ । दोलखामा माओवादी र स्यांजा तथा बाजुरामा कांग्रेसले प्रतिनिधि सभामा उम्मेदवार पाएका छन् ।

ती कुनै पनि जिल्लामा नेकपा एसले प्रदेश र प्रतिनिधि सभामा प्रत्यक्ष उम्मेदवारी नपाएकाले समानुपातिक मत दिएर सन्तुलन मिलाउन सकिने कांग्रेसमा पनि छलफल भएको छ भने माओवादी अध्यक्ष प्रचण्ड पनि सकारात्मक छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै