राजावादीहरु जनविरोधी हुन् : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरू जनविरोधी भएको बताएका छन् । जेठ १५ गते आयोजना गर्ने जनप्रदर्शनको तयारीका लागि आज पार्टी मुख्यालय च्यासलमा बसेको जनसंगठन पदाधिकारीको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

महासचिव पोखरलले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने गतिविधिसँग सिंँगो पार्टी एकढिक्का भएर जुध्नुपर्नेमा जोड दिए । ‘लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने सबै गतिविधिहरू जनताको सम्प्रभुताका विरुद्धका अर्थात् जनताका विरुद्धका गतिविधिहरू हुन् भन्ने कुरामा आम जनतालाई सचेत र जागरूक बनाउने अभियानमा सिँगो पार्टी पंक्ति क्रियाशील हुनु पर्दछ’ उनले भने ।

Advertisement

गणतन्त्र दिवस जनताको उत्सवको दिन भएकोले पार्टीले विशेष उत्सवको रूपमा मनाउन लागेको उनले बताए । पार्टी सचिवालयको ५२औँ बैठकले जेठ १५ गतेको गणतन्त्र दिवसलाई देशभर उत्सवका रूपमा मनाउने निर्णय गरेको उनले जानकारी दिए ।

काठमाडौं उपत्यकाको हकमा उपत्यकाका पार्टी कमिटी र पार्टी सम्बद्ध सङ्गठनहरूको आयोजनामा सांस्कृतिक झाँकीसहित विशेष कार्यक्रम आयोजना गर्ने एमालेले निर्णय गरेको छ । उक्त दिन राप्रपा लगायतका राजावादी समर्थकले पनि प्रदर्शन गर्ने तयारी गरेको छ ।

Advertisement