काठमाडौं । जिउँदै मान्छे इँटाभट्टामा हालेर हत्या गरेको जघन्य अपराधमा कांग्रेस नेता एवं पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिने न्यायाधीशहरूविरुद्ध न्यायपरिषदमा उजुरी परेको छ ।

जिल्ला अदालत रौतहटले आलमलाई जन्मकैदको सजाय सुनाएको थियो । जिल्लाको फैसलाका आधारलाई प्रमाण मान्न इन्कार गर्दै उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनले आलमलाई सफाइ दिएका थिए ।
Advertisement
उक्त फैसलाको न्यायिक परीक्षण गर्न तथा दुवै न्यायाधीशलाई तत्काल निलम्बन गरी विभागीय कारबाहीसमेत गर्न माग गर्दै युवराज पौडेल सफलले न्यायपरिषद् सचिवालयमा उजुरी दिएका हुन् ।
उजुरीमा न्यायाधीशद्वयको फैसलाले पीडितहरूको न्यायिक बाटोमा अवरोध सिर्जना गर्दै पीडित, साक्षी र प्रत्यक्षदर्शीहरूको जिउज्यानको समेत असुरक्षा भएको उल्लेख गरिएको छ । न्यायाधीशद्वय थारू र महर्जनले हालसम्म जिल्ला अदालत वा उच्च अदालतमा रहँदा गरेका न्याय सम्पादन र आदेशहरूको समेत परीक्षण गर्न माग गरिएको छ ।
Advertisement
‘…आदेशको न्यायीक परिक्षण गर्न माग राखी प्रस्तुत उजुरी पेस गरेको छु। साथै पीडितलाई नै अन्याय हुने गरी आदेश गर्ने उल्लेखित न्यायाधीशद्वय थारू र महर्जनले हालसम्म जिल्ला अदालत वा उच्च अदालतमा रहँदा गरेका न्याय सम्पादनका कार्य एवं निजहरूले गरेका आदेशहरूसमेत परीक्षण गर्न र उल्लेखित न्यायाधीशहरूलाई तत्काल निलम्बन गर्न एवं न्यायपरिषद् सचिवालय ऐनबमोजिम अन्य विभागीय कारबाही गर्न माग गर्दै प्रस्तुत उजुरी पेस गरेको छु,’ उजुरीमा भनिएको छ ।
प्रतिक्रिया