त्रिकोणात्मक टी-२० सिरिज

नेदरल्याण्ड्ससँग भिड्दै नेपाल, बदला लिने मौका

काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा तीन वटासम्म सुपर ओभर खेलेर नेदरल्यान्ड्ससँगको खेललाई ऐतिहासिक बनाएको नेपालको दोस्रो भिडन्तको प्रतिक्षा धेरैले गरेका छन् ।

पहिलो खेलमा तेस्रो सुपर ओभर पुग्दासमेत पराजित भएको नेपाल दोस्रो भेटमा नेदरल्यान्ड्ससँग बदला लिने दाउमा छ । तीन खेल खेलिसकेको नेदरल्यान्ड्सले दुई खेलमा जित निकाल्दै चार अंक बनाएको छ ।

Advertisement

दुई खेल खेलेको नेपालले भने एक हार र एक जित निकाल्दै दुई अंक मात्र बनाएको छ । पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको नेदरल्यान्ड्सले दोस्रो खेलको तेस्रो सुपर ओभरमा नेपाललाई हरायो भने तेस्रो खेलमा स्कटल्यान्डमाथि १७ रनको जित निकाल्यो ।

पहिलो खेलमा नेदरल्यान्ड्समाथि ३९ रनको जित निकालेको स्कटल्यान्ड भने दोस्रो खेलमा नेपालसँग दुई विकेटले पराजित भएको छ। नेपाल र स्कटल्यान्डले अन्तिम खेल शुक्रबार खेल्नेछन् । समान दुई अंक भए पनि तालिकामा रनरेटका आधारमा स्कटल्यान्ड दोस्रो र नेपाल तेस्रो स्थानमा छन् ।

Advertisement

सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हरायो । तेस्रो खेलमा नेपालले आयोजक स्कटल्यान्डलाई दुई विकेटले हरायो भने चौथो खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई १७ रनले पराजित गर्यो ।

यो सिरिजमा ठुलो र सानो स्कोरको जस्तोसुकै खेल भए पनि नेपालको खेल हेर्न लायक छ । स्कटल्यान्ड भ्रमणपछि नेपाली क्रिकेटको चर्चा विश्वका मिडियामा भइराखेको छ । अघिल्लो खेल रोचक बनेकाले धेरैले नेदरल्यान्ड्सँगको नेपालको दोस्रो खेलमा चासो चासो दिएका छन् । नेपाल र नेदरल्यान्ड्सको दोस्रो खेल बिहीबार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

Advertisement

रोहित पौडेलको कप्तानीमा रहेको नेपालको टिमका नियमित खेलाडी सोमपाल कामी, गुल्सन झा र नन्दन यादव घाइते हुँदा लोकेश बम, किरण ठगुन्ना, रुपेश सिंह र बसिर अहमद जस्ता नयाँ खेलाडीले अवसर पाइरहेका छन् । यो सिरिजका दुई खेलमा आशिफ र आरिफ शेख दाजुभाइसँगै भीम सार्कीलाई समेत बेन्चमा राखिएको छ ।