धनगढी । सुदूरपश्चिम आज ‘साक्षरङ्घ जिल्ला घोषणा भएको छ । साक्षरताको सुनिश्चिततासँगै सुदूरपश्चिम प्रदेशलाई ‘साक्षर’ घोषणा गरिएको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहले आज (विहीबार) धनगढीमा आयोजित समारोहमा सुदूरपश्चिम प्रदेशलाई साक्षर घोषणा गरेका हुन् । सो अवसरमा बोल्दै मुख्यमन्त्री शाहले सूचना र प्रविधिले फड्को मारेको बताउँदै समयानुकूल शिक्षाको खाँचो रहेको बताए ।
Advertisement
१५ वर्षदेखि ६० वर्ष उमेर समूहका नागरिकको साक्षरता ९५ प्रतिशतभन्दा माथि पुगेपछि प्रदेशलाई साक्षर घोषणा गरिएको हो । ९५ प्रतिशतमाथि साक्षरता प्रतिशत पुगेमा साक्षरता घोषणा गर्न सकिने नीति छ । शिक्षा विकास निर्देशनालय दीपायलका महानिर्देशक दुर्गादत्त विष्टका अनुसार प्रदेशमा १५ देखि ६० वर्ष उमेर समूहका १६ लाख २३ हजार ७१९ जनसङ्ख्याको ९६ दशमलव १९ प्रतिशत साक्षर भइसकेका छन् । ‘साक्षरताका लागि तोकिएका १२ वटा मापदण्डमध्ये ६ मापदण्ड पूरा गरेमा सम्बन्धितलाई साक्षरताको प्रमाणपत्र दिन सकिन्छ, वडा, पालिका, जिल्लालाई क्रमशः साक्षर घोषणा गरिसकेपछि आज प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको हो’, उनले भने ।
प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा पहिले दार्चुला साक्षर जिल्ला घोषणा गरिएको थियो । सबैभन्दा पछि साक्षर जिल्ला घोषणा डोटी जिल्लालाई गरिएको थियो । यो उमेर समूह (१५ देखि ६० वर्ष) प्रदेशको कैलालीमा ९६ दशमलव २०, कञ्चनपुरमा ९६ दशमलव २१, अछाममा ९५ दशमलव ५५, डोटीमा ९६ दशमलव ५५, बाजुरामा ९७ दशमलव ३१, बझाङ ९५ दशमलव ६०, डडेलधुरामा ९६ दशमलव आठ, बैतडीमा ९६ दशमलव ५३ र दार्चुला जिल्लामा ९५ दशमलव ४० प्रतिशत जनसङ्ख्या साक्षर भइसकेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।
Advertisement
यसअघि प्रदेशका सबै नौ जिल्लालाई क्रमशः साक्षर जिल्ला घोषणा गरिएको थियो । नेपाल सरकारको साक्षर नेपाल वर्ष २०७६ अवधारणा पत्र बमोजिम साक्षर वडा, स्थानीय तह र जिल्ला तथा प्रदेश साक्षर घोषणा गर्ने नीति अनुरूप २०७१ असारमा साक्षर जिल्ला घोषणा गर्ने पहिलो जिल्ला सिन्धपाञ्चोक हो । देशभरी हालसम्म ६६ जिल्ला साक्षर घोषणा भइसकेका छन् ।
प्रतिक्रिया