संरक्षण नहुँदा भत्किन थाल्यो राणाकालीन दरबार

धनगढी । चुरे गाउँपालिकाको पहिचानका रुपमा रहेको गर्भा दरबार भत्किन थालेको छ । संरक्षण नहुँदा राणाकालीन दरबार भत्किन थालेको हो ।

पानी परेपछि दरबारको उत्तरतर्फको मुख्य खम्बासहितको एक ठाउँ भत्केको स्थानीय प्रकाश सापकोटाले बताए । दरबारको छाना नरहेकाले यो वर्षातमा लगभग आधाजति दरबार भत्कने सम्भावना रहेको स्थानीय जीवन गुरुङको भनाइ छ । ‘छाना छैन, अगाडिको मुख्य बार भत्किसक्यो । मलाई लाग्छ, यो बर्खामा आधा जति दरबार भत्किने खतरा छ’, उनले भने । स्थानीयका अनुसार वि.सं. १९८४ मा जर्नेल बहादुर शमशेर राणाले गर्भामा यो दरबार बनाएका थिए । नौ रोपनी जग्गाभित्र बनेको दरबार पछि बहादुरको छोरा तेजप्रकाश राणाको भागमा परेको थियो ।

Advertisement

८३ झ्याल र ५३ ढोका भएको तीनतले दरबार तत्कालीन जनयुद्धको बेलादेखि मानव बसोवासविहीन बनेको थियो । त्यसपछि संरक्षण नहुँदा बेवारिसे बनेको शमशेरगञ्ज दरबार जीर्ण बन्दै गएको छ। यो दरबारको पूरै स्वामित्व पुरातत्त्व विभागले लिएको छ । चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीका अनुसार एक सय वर्ष पुगेको शमशेरगञ्ज दरबार अब खण्डहर बनिसकेको छ । २०५२ देखि २०६० बाट दरबार अलिअलि भत्किन सुरु गरेको स्थानीयको भनाइ छ ।

अध्यक्ष बोगटीका अनुसार दरबार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा १० लाख रुपियाँ बजेट छुट्याएको थियो । त्यो बजेटबाट घेरबारका लागि पर्खाल निर्माणको काम भएको जनाइएको छ ।

Advertisement