आजदेखि पीएम कप एनभीए भलिबल लिगको दशौँ संस्करण सुरु

काठमाडौं । दशौँ संस्करणको पीएम कप एनभीए भलिबल लिग आजदेखि सुरु हुनेछ । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा हुने खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चल्नेछ भने उक्त खेला १० दिनसम्म सञ्चालनमा रहनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली सहभागी छन् । पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, खिल्जी युवा क्लब (लुम्बिनी), रुकुम पश्चिम भलिबल क्लब, कोशी प्रदेश भलिबल क्लब र बुढानिलकण्ठ भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट क्लब र सुदूरपश्चिम प्रदेशले उपाधिका लागि भिड्नेछन् ।

Advertisement

लिग सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालन हुनेछ, जसअन्तर्गत कुल ४५ खेल हुनेछन् । लिग चरणपछि शीर्ष दुई टोलीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगिताका विजेताले सन् २०२६ मा हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर पाउनेछन् ।

पहिलो दिन महिला र पुरुषतर्फ दुई–दुई गरी चार खेल हुँदैछन् । बिहान ८ बजे एपीएफ र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ भने १० बजे नेपाल पुलिस क्लब र एभरेष्ट क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ १२ बजे हेल्प नेपाल र बुढानिलकण्ठ क्लब भिड्नेछन् भने ४ बजे त्रिभुवन आर्मी क्लब र खिल्जी युवा क्लबबीच खेल हुनेछ । उद्घाटन समारोह दिउँसो ३ बजे आयोजना गरिनेछ ।

Advertisement

यसपटक १४ टोलीमध्ये ४ टोलीले मात्र विदेशी खेलाडी समावेश गरेका छन् । पुरुषतर्फ हेल्प नेपाल, रुकुम पश्चिम र खिल्जी युवा क्लब तथा महिलातर्फ एभरेष्ट क्लबले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । नियमअनुसार प्रत्येक टोलीले तीन विदेशी खेलाडी राख्न पाउँछ ।

प्रतियोगिताको पुरस्कार राशी पनि बढाइएको छ । महिला र पुरुष दुवै विजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । उपविजेताले ५ लाख र तेस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले ६० हजार र विभिन्न विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले ३०–३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

Advertisement

अघिल्लो संस्करणमा पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेका थिए । यसपटकको लिगले नेपाली भलिबलमा अझ प्रतिस्पर्धात्मक माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ ।