कक्षा १२ को परीक्षा आजदेखि सुरु

धनगढी । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै छ । कक्षा १२ को आजदेखि सुरु हुने परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० जना विद्यार्थी सहभागी हुँदै छन् । २०७९ यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुने बोर्डले जनाएको छ । त्यस्तै जापानको एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।

Advertisement

यस वर्ष १ हजार ४२१ परीक्षा केन्द्र तोकिएको छ, जो गत वर्षको भन्दा कम हो । गत वर्ष ५ लाख ११ हजार ५२५ परीक्षार्थी थिए । उक्त परीक्षाको नतिजा गत साउनमा प्रकाशित हुँदा ६१।१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

उत्तरपुस्तिकासहित परीक्षा सामग्री परीक्षा केन्द्रहरूमा पठाइएको र प्रश्नपत्र भने अनलाइनबाट पठाउने गरिएको छ । परीक्षा सञ्चालन हुने दिन नै बोर्डले परीक्षा केन्द्रहरूमा अनलाइनबाट पठाएको प्रश्नपत्र प्रिन्ट गरेर परीक्षार्थीलाई वितरण गर्ने व्यवस्था मिलाइएको बोर्डले जानकारी दिएको छ । आज देखि सुरु हुने परीक्षा वैशाख २७ गते सकिने समयतालिका छ ।

Advertisement

उत्तरपुस्तिका परीक्षण गत वर्षजस्तै बोर्डले तोकेको परीक्षण केन्द्रमा गरिने र ४५ दिन भित्र नतिजा निकाल्ने गरी बोर्डले तयारी गरेको बताएको छ ।

Advertisement