काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध बहुमत देखिएको छ । शुक्रवार र शनिवारको बैठकमा सहभागी सचिवालय सदस्यहरूमध्ये ८० प्रतिशतले पार्टीको रुपान्तरण र पुनर्गठनका लागि ओलीले मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका छन् ।
१९ सदस्यीय सचिवालयमा अध्यक्ष ओलीसहित महासचिव शङ्कर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङलगायत विगतमा ओली निकट मानिएका नेताहरूले समेत पार्टी पुनर्गठनमा जोड दिएका छन् । शुक्रवार चार उपाध्यक्ष र शनिवार महासचिव शङ्कर पोखरेलसहित तीन उपमहासचिव तथा पाँच सचिवले ओलीलाई पद त्याग गरी पार्टी बचाउन आग्रह गरेका हुन् ।
Advertisement
सचिव महेश बस्नेत मात्र खुलेर ओलीको पक्षमा उभिएका छन् । बैठकमा सचिव हिक्मत कार्की, पद्मा अर्याल, राजन भट्टराईलगायतले तल्लो तहमा पार्टी चलाउन नसकिने अवस्था रहेको बताए । उनीहरूले ओलीलाई पद छाड्न आग्रह गरेका हुन् । तर, अध्यक्ष ओलीले यी सबै प्रस्तावको प्रतिवाद गरेका छन् । ‘मलाई कसैले सम्झाउनु पर्दैन। यो पद मैले चुनाव जितेर पाएको हो, छोड्दिनँ,’ ओलीले बैठकमा भने ।
शनिवार उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले भने सङ्कटको बेला नेतृत्वलाई साथ दिनुपर्ने बताएका थिए । बैठकमा अहिलेसम्म १० जनाले पुनर्गठनको पक्षमा बोलेका छन् भने ओलीको पक्षमा रामबहादुर थापा र महेश बस्नेत मात्र देखिएका छन् ।
Advertisement
आज आइतबार बिहान साढे ११ बजे ओली निवास गुण्डुमा बस्ने बैठकमा सचिव शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई, खगराज अधिकारीलगायतले धारणा राख्नेछन् । बैठकले कार्यविभाजन, केन्द्रीय कमिटी बैठक आह्वान, संविधान संशोधन र निर्वाचन समीक्षा कार्यदल गठन गर्ने बताइएको छ ।






















प्रतिक्रिया