ड्रागन खेतीबाट मनग्य आम्दानी गर्दै लम्कीका गणेश

लम्की । राजनीतिसंगै ड्रागन खेतीमा लागेका कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ का गणेश ढकाललाई यति बेला भ्याइनभ्याइ छ । ढकालले ३ वर्ष अघि ५ कट्ठा जमिनमा ड्रागन–फ्रुट खेती लगाउन सुरु गरेका थिए । राजनीतिसंगै उत्पादनसहितको आय आर्जनमा जोडिनु पर्छ भनेर २०७८ साल असोज महिनादेखि ड्रागन–फ्रुट खेती लगाउन सुरु गरेको ढकालले बताए ।

कैलालीको पूर्वी क्षेत्रमा कसैले उत्पादन नगरेको ड्रागन–फ्रुट माग बढ्दै गएपछि ७ लाखकोे लागनीमा खेती सुरु गरेको बताउँदै ढकालले सुरूमा ८ सय विरुवा दाङ्ग र बाँके जिल्लाबाट ल्यएर लगाएको बताए । उनले अहिले ती बिरूवाले यतिखेर राम्रै उत्पादन दिइरहेको बताए ।
भूमिपुत्र कृषि तथा पशुपंक्षि फर्ममार्फत ड्रागन–फ्रुट खेती सुरू गर्दै आएका ढकालले एक वर्षमै फल र बिरूवा बेचेर राम्रै आम्दानी गरिरहेको बताए । ढकालको फर्ममा अहिले मलेसियन रेड प्रजाती(रातो फल)को ड्रागन–फ्रुट लटरम्मै फलेको छ । यो वर्षदेखि उनले हाईब्रेड सिरेड प्रजाती(रातो फल) को ड्रागन–फ्रुट समेत लगाउन थालेको बताए ।

Advertisement

‘३ वर्ष अगाडी सुरू गरिएको व्यवसायले यति छिटो आम्दानी देला भन्ने सोचैकै थिएन’, ढकालले भने, ‘कृषिमा कुनै तालिम लिएको थिएन् । वि.स.२०४७ सालबाट विद्यार्थी राजनीतिमा लागे । १० वर्षे जनयुद्धमा समेत परिर्वतनको लडाईमा सामेल भए । हाल विप्लव निकट नेपाल कम्प्युनिष्ट पार्टीको केन्द्रीय सदस्य तथा पार्टीको केन्द्रीय उत्पादन विभागको सदस्यसमेत रहेका ढकालले आफ्ना बुवा र नेपाल कम्प्युनिष्ट पार्टीका अध्यक्ष विप्लव ‘सि’बाट प्रभावित भएर अहिले राजनिति, सामाजिक सेवाका साथ—साथै कृषि कर्ममा लागिरहेको बताए ।
सुरुमा यो खेती कसरी गर्ने भन्ने समेत थाहा नपाएका ढकालले दाङ र बाँकेमा गरिएको ड्रागन–फ्रुट खेतीबाट सामान्य जानकारी लिई आफुले पनि ड्रागनको खेती सुरु गरेको बताए । उनले योे खेती पानी नजम्ने बलौटे माटोमा हुने गरेको बताए । उनका अनुसार ड्रागनले वैशाखदेखि कात्तिकसम्म फल दिन्छ । स्वादिलो तथा पोषिलो यो फलको यति बेला बजारमा राम्रै माग छ । वार्षिक ठूलो परिमाणमा बाहिरबाट आयात हुने ड्रागन–फ्रुटको नेपालका विभिन्न ठाउँहरुमा व्यावसायिक खेती हुन थालेको छ ।

ढकालले पहिलो वर्षमा ६ सय किलोग्राम फल बेचेर ४ लाख बढी आम्दानी गरेको बताउँदै दोस्रो वर्षमा ८ सय किलोग्राम फल र १ हजार बिरुवा बेचेर ६ लाख आम्दानी गरेको बताए । यो वर्ष १६ सय किलोग्राम फल र ३ हजार बिरुवा बिक्रि गरी १२ देखि १५ लाख आम्दानी हुने अनुमान गरिएको ढकालको भनाई छ ।

Advertisement

‘बजारमा ड्रागन–फ्रुटको प्रतिकिलो ७ सय ५० रूपैयाँ पर्छ’, उनले भने, ‘बारीबाटै ६ सय ५० रूपैयाँमा बिक्री गर्ने गरेका छन् ।’ उनकाअनुसार बिरुवाको भने २ सय ५० रुपैयाँ पर्छ । दैनिक ३ जना कामदारसँगै बारीमा ड्रागन–फ्रुटको खेतीमा व्यस्त ढकालले एउटा बिरुवाले पाँच केजीसम्म फल दिने गरेको बताए ।

उत्पादन गरेको फल स्थानीय बजार लम्कीसंगै धनगढी, नेपालगञ्ज र सुर्खेतसम्म लगेर बिक्री गर्ने गरेको उनले बताए । टाढा–टाढाबाट ड्रागन–फ्रुटको माग भएपनि आफुले पु¥याउन नसकिरहेको ढकालको भनाई छ । उनले भूमिपुत्र कृषि तथा पशुपंक्षि फर्मलाई लम्की ड्रागन पार्कको रुपमा विकास गर्ने लक्ष्य रहेको समेत बताए ।

Advertisement